Logo

५ चैत, चितवन । चितवनको माडी क्षेत्र ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिँदै आएको छ । प्राचीन कालदेखि नै यहाँ रहेका देवालय, मठ तथा मन्दिरहरू अत्यन्त पवित्र मानिने भएकाले प्रत्येक वर्ष यहाँ विभिन्न धार्मिक गतिविधिहरू भव्य रूपमा सञ्चालन हुँदै आएका छन् । यसै सन्दर्भमा २०८२ सालको चैत्य दशैंको अवसर पारेर माडीका विभिन्न धार्मिक स्थलहरूमा विशेष पूजा–आजा, मेला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने भएका छन् ।

नेपाल–भारत सीमाक्षेत्रमा अवस्थित सोमेश्वर गढीमा मिति २०८२ साल चैत ५ गतेदेखि १३ गतेसम्म विशेष पूजा–आजा सञ्चालन हुने भएको छ । यस अवसरमा नेपालका विभिन्न क्षेत्र तथा भारतीय क्षेत्रबाट समेत श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहनेछ ।

त्यसैगरी, माडी नगरपालिका वडा नम्बर १ मा अवस्थित गोध्दक धाममा मिति २०८२ साल चैत ७ गतेदेखि १४ गतेसम्म पाठपूजन, मण्डप पूजा, हवन, मेला, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने भएका छन् । उक्त कार्यक्रममा सहभागी हुन आउने श्रद्धालु भक्तजनहरूका लागि खानपान तथा बसोबासको व्यवस्था गोध्दक धाम व्यवस्थापन समिति तथा विभिन्न सामाजिक संस्थाहरूको सहकार्यमा निःशुल्क रूपमा गरिने वडा अध्यक्ष अमित लामाले जानकारी दिए ।

यस्तै, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रम बाबा मन्दिर तथा माडी नगरपालिका वडा नम्बर ३ धोभामा रहेको विक्रम बाबा मन्दिरमा मिति २०८२ साल चैत ५ गतेदेखि १९ गतेसम्म निरन्तर पूजा–आजा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ। यी स्थलहरूमा प्रत्येक वर्ष अत्याधिक मात्रामा श्रद्धालु भक्तजनहरू आउने गर्दछन् र यस वर्ष पनि सोही अनुसारको ठूलो भीड हुने निश्चित छ।

माडी नगरपालिका वडा नम्बर ९ मा रहेको अयोध्या धाममा मिति २०८२ साल चैत ६ गतेदेखि १३ गतेसम्म विशेष पूजा–आजा गरिने भएको छ। विशेषगरी रामनवमीको दिन अर्थात् चैत १३ गते भव्य रूपमा पूजा सम्पन्न गरिने कार्यक्रम रहेको वैदिक सनातन हिन्दू धर्म सांस्कृतिक सम्पदा सङ्घ माडीका अध्यक्ष मथुरा बहादुर भण्डारीले जानकारी दिए ।

धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा आयोजना हुने यी महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूले माडी क्षेत्रको पहिचान अझ सुदृढ बनाउनुका साथै आन्तरिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार