Logo

१ असाेज काठमाडाै‌ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा  सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा जनाइएको छ ।

उहाँले भन्नुभएको छ, “एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्धन गर्नु आवश्यक छ भने अर्कोतिर प्रथा र परम्पराको नाममा समाजमा विद्यमान महिलाद्वेषी विभेदजन्य अभ्यासहरूलाई भने समयसापेक्ष सुधार गर्दै जानु पनि जरूरी छ ।”

उहाँले विधि र प्रक्रियापूर्वक इमानदारीका साथ गरिने कार्यबाट मात्र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने सन्देश बोकेको जितिया पर्वले हाम्रो व्यक्तिगत जीवन र राष्ट्रको जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउनका लागि इमानदारीपूर्वक काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुख, शान्तिका लागि लोकदेवता जिमुतवाहनको आराधना गर्दै उत्साहका साथ  मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर व्रत बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन  र आत्माशुद्धि गर्दै विभिन्न परिकार खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

यस बर्ष सरकारले जितिया पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छैन तर तराईका अधिकांश पालिकाहरुले जितिया पर्वको उपलक्ष्यमा पालिका स्तरमा सार्वजनिक विदा दिएका छन ।

जितिया पर्व र यसकाे महत्व

थारु समुदायका आफ्नै विभिन्न किसिमका पर्व मध्ये जितिया पनि एक महत्वपूर्ण पर्व हो । यो पर्व प्रत्येक वर्ष आश्विन कृष्णपक्ष सप्तमी, अष्टमी र नवमी तिथिमा मनाउने गरिएको छ । तर पहिलोचोटि व्रत बस्नलाई खर दिन हुनुपर्छ अर्थात् सप्तमी तिथि शनिबार, अष्टमी तिथि आइतबार र नवमी तिथि सोमबार हुनैपर्छ। यो दिनमा तिथि–मिति जुरेन भने व्रतको शुभारम्भ गर्न सकिंदैन ।
यो पर्वको बारेमा आ–आफ्नै किंवदन्ती रहेका छन् । पूर्वदेखि पश्चिमसम्म केही भिन्नता रहे पनि धेरै कुरामा समानता रहेको छ । पृथ्वी, चन्द्र, सूर्य र आकाशको उत्पत्तिको बारेमा उल्लेख गरिएको छ भने मानवको सृष्टिपछि सभ्यताको विकासको क्रममा भएको रोचक कथा समावेश गरिएको छ ।
जस अनुसार परापूर्वकालमा उत्तरी भारतीय प्रायद्वीपमा शालिवाहन नाम गरेका एउटा महाप्रतापी राजा थिए । उनकी रानीको नाम सहाय थियो। राजा–रानी दम्पतीबाट चौथापनमा एक राजकुमारीले जन्म लिएकी थिइन्। राजकुमारीको नाम मसवासी राखिएको थियो।
राजकुमारी जवान भएपछि पनि विवाह नगरी सामान्य जीवन व्यतित गर्न थालिन् । साधना र तपस्या गर्ने अनुरोध गरेको कारण राजाले त्यही अनुसारको व्यवस्था गरेका थिए । राजकुमारी मसवासी बिहान सबेरै उठेर नजिकैको नर्वदा नदीमा गई स्नान गरी सूर्योदय हुनु अगाडि नै फर्केर आफ्नो कुटीमा प्रवेश गरी तपस्यामा मग्न हुने गर्थिन्। यो मसवासीको दिनचर्या नै भइसकेको थियो ।
सूर्यलाई केन्द्रमा राखी सूर्यको नै पूजा गर्ने गर्थिन्। एक दिन नदीबाट स्नान गरी फर्केन क्रममा सूर्य उदय भई सूर्यको पहिलो किरणले मसवासीको शरीरमा स्पर्श ग¥यो । जसले मसवासीको शरीरमा ऊर्जा प्राप्त हुनुको साथै अनुपम सुखको अनुभूति भयो। उनीमाथि सूर्यको असिम कृपा त पहिलादेखि छँदैथियो जसले गर्दा उनी गर्भवती भइन् ।
समयान्तर सँगै मसवासीले एउटा सुन्दर बालकको जन्म दिइन् । बालक सुरुमा नै तेजस्वी र बलशाली स्वभावका थिए । हिंडडुल गर्न थालेपछि गाउँघरका आफूसँगैका अरु बालकहरूलाई जुनसुकै काम तथा खेलमा जित्ने गर्दथे । जसले गर्दा उनको नाम नै जितुवा भएको थियो । अहिले पनि थारु समाजमा काम हेरेर उसको नाम राख्ने चलन यथावत् नै रहेको छ ।
गाउँका केटाहरूले जितुवालाई हराउने विचारले एउटा खेलको रचना गरे । जसको विभिन्न नियममध्ये एउटा अचम्मको नियम राखियो। आमाको नाम लिएर घरभित्र छिर्ने र बुवाको नाम लिएर घरबाट बाहिर निस्कने। सबैलाई थाहा थियो जितुवाको बुवा यहाँ छैन । उसलाई बुवाको नाम पनि थाहा छैन।
यसप्रकार जितुवा घरबाट बाहिर निस्कने अवस्था नआएपछि एकजना बालक कुदेर गए । मसवासीलाई यो घटनाको जानकारी गराए । उनले तिम्रो बाबुको नाम सूर्य हो भनेपछि जितुवा घरबाट बाहिर निस्कन सफल भए ।
जितुवा घर पुगेपछि आमालाई बुवाको दर्शन कसरी हुन्छ म भेट्न जान्छु भनेर जिद्दी गरी घरबाट निस्किए । एक दिन, दुई दिन हुँदै महिनौं दिन हिंडेको अवस्थामा सूर्य किसानको रूप धारण गरी जितुवालाई दर्शन दिएर वरदान दिए र भने– ‘म नै तिम्रो बुवा सूर्य हुँ । तिमी घर फर्क । तिम्रो नाम आजदेखि जितमहान रह्यो । तिमी आफ्नै ठाउँमा फर्क र समाज तथा गरिबदुःखीको सेवामा लाग। तिमीलाई म वरदान दिन्छु । आजदेखि यो मृतसंसारमा जसले नियम र निष्ठापूर्वक तिम्रो पूजा गर्छ, उसको सन्तान पराक्रमी, समृद्ध हुन्छ । विभिन्न किसिमको कु–दृष्टि र संकटको प्रभाव उसमा पर्दैन ।‘
यो व्रत लिनको लागि खर दिन हुनुपर्छ। आश्विन कृष्णपक्ष सप्तमी, अष्टमी र नवमी तिथि हुनुपर्छ । समय आएपछि जितुवाले भने अनुसारको दिनमा विधिपूर्वक पूजापाठ गरेपछि सबैको सन्तान दीर्घायु हुनुको साथै दुःख, क्लेश समेत नष्ट भएको कारणले त्यही समयदेखि सूर्य र जितमहानको पूजा गर्न लागिएको जनविश्वास रहेको छ ।
कतिपय ठाउँमा राजाले आफ्नो छोराको बिहेको लागि रक्सी बनाउन पूरा गाउँमा कनिका बाँडेको हुन्छ तर बाँड्नेले त्यही गाउँमा बसोबास गरिआएका मसवासी बुढीलाई कनिका दिन बिर्सिन्छ र अन्तिम समयमा आएर दिन्छ । रक्सी बनाउनको लागि कनिका सुकाउनुपर्ने हुन्छ र झरी परिरहेको हुन्छ ।
यस्तैमा मसवासीलाई कनिका सुकाउनलाई केही उपाय नसुझेपछि दैनिक रूपले पूजा गर्ने गरेको सूर्यलाई सेज भाकल गर्दछ । जसको कारणले गर्दा सूर्योदय हुन्छ र घाम लाग्छ । मसवासीले रक्सी तयार गर्छिन् र राजाकहाँ पु¥याउँछिन् ।
अहिले पनि थारु समाजमा बिहेको सिलसिलामा यसरी च्यूराको लागि धान बाँड्ने चलन छँदैछ। भाकल पूरा भएपछि मसवासीले सूर्यको लागि घर–आँगन लिपपोत गरी सफा गर्छिन् । साँझ खाटमा बिछ्यौना लगाएर नजिकै पानी, पानसुपारी, तम्बाकु राख्छिन् । तर मसवासीलाई डर लाग्छ र उनी घरमा नसुतेर छिमेकीको घरमा सुत्न जान्छिन् । त्यसभन्दा अगाडि उसले घरको बाटोमा खरानी छर्कन्छिन् ताकि सूर्य भगवान आए भने उनलाई थाहा होस् ।
सूर्य खुशी भएर मसवासीको घरमा राति आउँछन् तर मसवासी घरमा नभेटेको कारण राखेको पान सुपारी इत्यादि खाइदिन्छन् । जाने बेलामा घर पछाडिको बारीमा गएर पिसाब गरेर जान्छन् । सूर्यको पिसाबले गर्दा त्यहाँ कलकलाउँदो साग उम्रन्छ ।
बिहान मसवासी डराई—डराई घरमा आउँदा बाटोमा छरेको खरानीमा निसाना देखेपछि निकै खुशी हुन्छिन् । तर भगवानलाई आफ्नै कारणले भेट्न नपाएकोमा पश्चात्ताप पनि गर्छिन् । भात पकाउँछिन् । तरकारीको लागि पछाडि बारीमा जाँदा कलकलाउँदो साग देख्छिन् र त्यही साग ल्याएर पकाएर खान्छिन् । जसको प्रभावले उनी गर्भवती हुन्छिन् ।
मानिसहरूले कुरा काट्न थालेपछि सूर्यले सपनामा सबै कुरा बताउँछन् । मसवासी खुशी हुन्छिन् र एउटा बालकको जन्म दिन्छिन् । बालक हुर्केपछि ऊ पनि सबैलाई जित्ने गरेकै कारण उसको नाम जितुवा हुन्छ । एक दिन राजाका छोरा तथा ठूलाठालुका छोराहरू बाहिर चौरमा तीर र धनुषले निसाना लगाइरहेका हुन्छन् कसैको सही निसाना लागिरहेको हुँदैन । जितुवा परबाट सबै देखिरहेको हुन्छ । नजिक आएर मलाई पनि एकपल्ट निसाना लगाउन देउ भनेर अनुरोध गर्छ। सबैले हेला गरेर हाँसेर उसको कुरालाई बेवास्ता गर्छन् र भन्छन्– हामी त सही निसाना लगाउन सक्दैनौं भने बाउ नभएकोले के निसाना लगाउँछ ।
तर पनि एक जनाले जितुवालाई धनुष र तीर हातमा दिन्छ । नभन्दै जितुवाले ठाउँको ठाउँ निसाना लगाउँछ । सबै जना चकित पर्छन् र आफ्नो बेइज्जत भएको ठानेर जितुवालाई झन् नानाथरीको गालीगलौज गरी अनेर्वाको छोरा भन्छन् । जितुवा बडो उदास मनसहित घर फर्कन्छ र मसवासीलाई सबै कुरा भन्छ ।
मसवासीले भन्छिन तिम्रो बुवा सूर्य हो । तर ऊ नपत्याएर सूर्यलाई भेट्न घरबाट निस्कन्छ । यसरी सूर्यले जितुवालाई दर्शन, वरदान तथा आशीर्वाद दिन्छन्। त्यसपछि यो व्रतको सुरु भएको मानिन्छ ।
एकचोटि व्रत बस्ने क्रममा नजिकैको नदी किनारमा रहेको पाकैरको रुख माथि चिल र तल स्यालले पनि व्रतालुहरूले व्रत गरेको देख्छ र उनीहरूले पनि त्यस्तै गर्छन् । तर स्यालले अष्टमी अर्थात् उपासकको दिन चोरेर मुर्दा खान्छ भने चिलले विधिपूर्वक व्रतको समाप्ति गर्दछ । उनीहरूको अर्को जन्ममा भाष्कर महाजनको घरमा जुम्ल्याहा दिदीबहिनीको रूपमा जन्म हुन्छ । जसको नाम सोमता र बेमता हुन्छ ।
जब उनीहरू बिहे गर्न योग्य हुन्छन्, तब सोमताको बिहे त्यही नगरको महतासँग हुन्छ भने बेमताको बिहे कनकाबती नगरको राजा मलयकेतुसँग सम्पन्न हुन्छ । समय बित्दै गयो। सोमताका ७ छोराहरू भए । बेमता महरानीको छोरा भए पनि कोही जीवित रहेनन् । जसले गर्दा दुई दिदीबहिनीमा टसल हुन थाल्यो ।
बेमता रानी भएकोले जहिले पनि सोमतालाई दुःख दिन थालिन् । उसको छोराहरूको हत्याको पनि प्रयास भयो तर पनि छोराहरू बाँचिरहे । एकपल्ट बेमताले पनि सोमताको घरमा गई जितिया पर्व सँगै गर्ने वाचा गरिन् । सोमताले रानी बेमतालाई पूर्वजन्मको कुरा याद दिलाइन् र त्यही पहिला बस्ने गरेको पाकैरको रुखमा लिएर गइन्। बेमतालाई सबै कुरा याद आएपछि पश्चात्ताप गरी उनले देहत्याग गरिन् ।
सामूहिक रूपमा माइन्जर, जेवार, जिमिदारको घरमा भेला–जम्मा भएर अष्टमीको दिन जितियाको कथा श्रवण गर्ने गरिन्छ । जसमा प्रकृतिको उपहारस्वरूप माटो, पिना, घिरौंलाको पात र फूल, विखमानको पात, तुलसीको पात, खर, सिकी, बौटरा, अछत, पान, सुपारी, जितियाको फूल, कचनारको फूल, बाङको बियाँ, प्रसाद (दही च्यूरा) जस्ता सामग्रीको प्रयोग हुन्छ। पोखरी खनेर त्यसमा विभिन्न ध्वजा राखी सूर्य, जितमहान, स्याल र चिलको पनि पूजा गरिन्छ ।
जितुवा अर्थात् जितमहान जिउँदै आफ्नो शक्तिले सबैलाई प्रभावित गर्ने, दुःखदर्दमा सहयोग गर्ने गर्दछन् । जसले गर्दा उसलाई मानिसहरूले जिउँदै पूजा गर्न थाल्छन् । जितुवाको मृत्युपछि पनि उसको पूजाआजा गर्नाले सन्तान लाभ हुने भएकोले उसको नाम अझसम्म पनि रहिरहेको छ र यो पुस्तान्तरण हुँदै गइरहेको छ । सुरु सुरुमा थारूहरूले मनाउने गरेको जितिया पर्व हाल एक राष्ट्रिय पर्वको रूपमा स्थापित भइसकेको छ ।
यसमा थारू समुदायको योगदान अतुलनीय छ। थारू समुदायका महिलाले मनाउने भए पनि यो पर्व विस्तारै विस्तारै थारू समुदायमा बसाइँसराइ गरेर आएका अन्य समुदायका महिलाले मनाउन थाले र हाल यो थारू, मधेशी र दलित महिलाको साझा पर्वको रूपमा रहेको छ । मनाउने तरिकामा सामान्य फरक भए पनि यस पर्वप्रतिको आस्था र उद्देश्य एउटै रहेको देखिन्छ । फरक के छ भने मधेशी महिलाले पितृलाई पिण्ड समर्पण गर्दछ भने थारुहरूले गर्दैनन् ।
यो पर्वमा नारीहरू स्वतन्त्र हुन्छन् । थारु समुदायमा अझ पनि महिलाको उच्च स्थान रहेको छ र घर व्यवहारमा महिलाको निर्णय नै अन्तिम हुँदै आएको छ । सानैमा छोरीले गरेको जिद्दीको कारण उसलाई नजिकै कुटी बनाएर बस्ने अनुमति दिनु नै यसको ज्वलन्त उदाहरण हो । यो पर्वले थारु समुदायको पहिचान स्थापित गरेको छ । अझै पनि थारु समुदायमा घटेको घटनालाई आधार मानी त्यसै अनुसारको चलन गर्ने परम्परा विद्यमान रहेको छ । यो पर्वले पारिवारिक भेटघाट तथा माइतीको ससुरालीसँगको सम्बन्ध जोड्नमा मद्दत गर्दछ । यसले सांस्कृतिक, सामाजिक सद्भाव त कायम गरेकै छ, साथमा एक समुदायदेखि दोस्रो समुदायको सम्बन्ध विकसित गर्नलाई पुलको काम पनि गरेको छ ।
अहिले देशमा भएको खराब चरित्र र बलले नभए पनि छलले जित्नै पर्ने मानसिकता पहिला पनि थियो । त्यसबेला पनि खराब थियो र अहिले पनि खराब प्रवृत्ति छ भने सन्देश पनि यो कथा र पर्वले दिने गरेको छ । आमा महान हुन्छिन्। उनले आफ्नो सन्तानको सुख, समृद्धि र पराक्रमको लागि जे पनि र जस्तो पनि त्याग गर्न सक्छिन् भने उदाहरण पनि यसले दिएको छ ।


सम्बन्धित समाचार