३ असोज, वीरगञ्ज ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सोमवार पेस गरेको छ ।
माओवादी केन्द्रले बन्दसूचीमा पार्टीको पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नामसमेत समावेश गरेको छ । महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । २०७४ सालको निर्वाचनमा उनी त्यही क्षेत्रबाट चुनाव जितेका थिए।
त्यस्तै, माओवादी केन्द्रले बाबुराम भट्टराईतर्फका पाँचजनाको नाम पनि बन्दसूचीमा समावेश गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
सोमबार अपराह्न निर्वाचन आयोगमा पुगेर समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेश सभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाइएको बताए ।
यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । प्रदेश सभाको सबै सिटमा भने उम्मेदवार नदिइएको नेता केशव झाले बताए । उनले भने, ‘पार्टी केन्द्रीय समितिको निर्णयअनुसार समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छौँ । प्रदेश सभाको भने सबै सिटमा उम्मेदवारी दिएका छैनौँ ।’
त्यसैगरी नेकपा एमालेले समानुपातिकको बन्दसूची सोमवार निर्वाचन आयोगमा बुझाएको छ । उपमहासचिव तथा निर्वाचन विभागका प्रमुख विष्णु रिमाल, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोलीले आयोगमा पुगेर समानुपातिक उम्मेद्वारहरूको बन्दसूची बुझाएको हो ।
प्रतिनिधिसभाका १ सय १० र प्रदेश सभाका २ सय २० जना सांसदको सूचीमा यसअघि समानुपातिक कोटामा सांसद नभएका व्यक्तिहरू मात्र समेटिएका छन् ।
‘हामीले प्रतिनिधिसभा र सातवटै प्रदेश सभाको पूर्ण सूची बुझाएका छौँ,’ विभागका उपप्रमुख नीरज आचार्यले भने, ‘यसपटकको बन्दसूचीमा सबै नयाँ अनुहारहरूलाई समेटेका छौँ ।’
एमालेले बुझाएको बन्दसूचीमा प्रतिनिधिसभाको समानुपातिकतर्फको १ सय १० जनामा ५७ जना नयाँ महिला अनुहार छन् ।
त्यस्तै, प्रदेश सभातर्फको २ सय २० मा १ सय १९ जना महिला छन् । जसअनुसार सूचीमा ५४ प्रतिशत नयाँ महिला अनुहार समेटिएका छन् । स्थानीय तहको निर्वाचन जितेका, उम्मेद्वार बनेर पराजित भएका, राष्ट्रिय सभा सांसद रहेका कसैलाई पनि एमालेले उम्मेद्वार बनाएको छैन ।
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेद्वारहरूको नामावली टुंगो लगाएको थियो ।
निर्वाचन आयोगले भने दलहरूलाई नामावली सच्याउनका लागि असोज १६ गतेसम्मको समय दिइएको र २२ गते त्यसको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।