Logo

५ असोज, वीरगञ्ज ।
वीरगञ्जको छपकैयामा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्र संचालनमा आएको छ । १० विगाहा क्षेत्रफलमा फैलिएको १२ करोड रुपैयाँमा निर्माण भएको प्लान्ट सञ्चालनमा आएको हो ।
वीरगन्जको श्रीपुर, तेजारथटोलदेखि छपकैयासम्मको घरबाट निश्किने प्रदुषित पानीलाई नाला मार्फत प्रशोधन केन्द्रमा लगेर सफा गरी श्रीसिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ ।

प्राविधिकहरुका अनुसार ९ मिटर गहिरो ट्रिटमेन्ट प्लान्टमा पानीको सतह ४ मिटरसम्म पुगेपछि अटोमेटिक रुपमा सञ्चालनमा आउँछ । पानी प्रशोधन केन्द्र निर्माणमा एशियाली विकास बैंक र नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत लागनी भएको छ । । दैनिक एक करोड लिटर फोहर पानी प्रशोधन गर्न सक्ने क्षमता केन्द्रको छ ।

नगरक्षेत्रबाट निस्किएको फोहर पानीलाई प्रशोधन गरेर सिर्सिया खोलामा बगाउँदा पर्यावरण संरक्षणमा मद्दत पुग्ने महानगपालिकाका इन्जीनीयर प्रकाश अधिकारीको विश्वास छ । ‘केन्द्रबाट प्रशोधित भई निस्किने पानी सिंचाईका लागि तथा मललाई कृषि प्रयोजनका लागि उपयोग गर्न सकिन्छ कि भन्ने तर्फ पनि हामीले अध्ययनलाई अगाडी बढाएका छौं ।’ उनले भने । तर सिर्सिया नदी वीरगञ्ज नगर क्षेत्रको ढलका कारण भन्दा पनि औद्योगिक प्रदुषणका कारण प्रदुषित छ । सिर्सिया नदीको प्रदुषण नियन्त्रण गर्न दिर्घकालिन योजनामा ‘सिर्सिया करिडोर’ को अवधारणा ल्याए पनि तत्कालका लागि महानगरपालिकाले कुनै ठोस कदम चाल्न सकेको छैन ।

महानगरपालिका भित्रका घरबाट निस्किने फोहर पानीलाई प्रशोधन केन्द्रमा हालेर ९९ प्रतिशत सफा बनाएर सिर्सिया खोलामा मिसाईने परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताए । ‘अहिले मुख्य नालामा बगेको फोहोर पानी प्रशोधनका लागि हालेका छौं । अन्डर ग्राउन्ड नालामा घरको फोहोर पानीलाई जोड्न लिंकेजको व्यवस्था गरेका छौं । क्रमशः घर घरको फोहोर पानीलाई चरणबद्ध रुपमा जोड्छौं ।’ उनले भने ।
संचालनमा आएकोे प्रशोधन केन्द्रबाट बार्षिक लाखौं रुपैयाँको मल उत्पादन हुने महानगरपालिकाको भनाई छ ।


सम्बन्धित समाचार