Logo

स्याङ्जाको पुतलीबजार–१ दुर्गानगरकी लक्ष्मी सापकोटाले चालीस कटेपछि गुलेली चलाउन सिकिन्। गत वर्ष गर्मीका दुई महीना उनलाई खेतबाट बाँदर धपाउन भ्याईनभ्याई थियो। एउटा बाँदरलाई ‘ल है, ल है’ भनेर कराउँदै धपाउन सकिन्छ। केहीलाई लौरो देखाएर वा ढुंगा हानेर भगाउन सकिन्छ। तर पचासौं बाँदरको समूहलाई दिनभर धपाउनु परे के गर्ने ? सापकोटाले गुलेली किनिन्।

गुलेलीको फेदमा समातेर, रबरको फितामा जोडिएको छालाको थैलीमा ढुंगा राखेर तनक्क आफ्नो छातीतिर तान्न अनि छाड्न सिकिन्। उनका कतिपय निशाना चुके, तर बाँदर भने भागे। सापकोटा एक हलको मेलो लाग्ने बारीमा मकै उब्जाउँछिन्। एक सिजनमा उत्पादन हुने करीब २० डोको (करीब चार क्वीन्टल) मकैबाट पाँच जनाको परिवारलाई एक वर्षसम्म सातु र च्याँख्ला अनि बस्तुभाउलाई थोरबहुत कुँडो बनाउन पनि पुग्छ।

तर, पहिले त बाँदरबाट बाली जोगाउन सक्नुपर्‍यो। गुलेलीले धपाएर घर फर्किन नपाउँदै बाँदर फेरि बारीमा पस्न थालेपछि लक्ष्मी सापकोटाले केही असामान्य विधि अपनाइन्। बाँदर लोग्नेमानिससँग डराउँछ भन्ने सुनेकी उनी दौरा–सुरुवाल र ढाका टोपीमा ठाँटिएर गस्ती गर्न थालिन्। केही समय त उनलाई लाग्यो, बाँदर साँच्चिकै डराए। तर चतुर बाँदरले उनको छल बुझिहाले। ती त झन् आक्रामक पो हुन थाले। “आइमाई, केटाकेटीलाई त कोपर्ला झैं गर्छ”, सापकोटा भन्छिन्।

बाली भित्र्याउने बेला उनीसँग मकैका ढोड, खोसेला र खोया मात्र बचेका थिए, दाना भने थिएनन्। “कसैले औषधिका लागि मकैको एक दाना चाहियो भने पनि मसँग छैन”, उनले भनिन्। लक्ष्मी जस्तै दुर्गानगरका धेरै किसान बाँदरको बदमासीबाट पीडित छन्। गएको गर्मीयाममा हरेक बिहान दुर्गानगर बाँदर धपाउँदै गरेका स्थानीयको ‘ल है, ल है’ सँगै उठ्थ्यो। गाउँमा दिनभरजसो बाँदरले दिएका दुःखको कुरा हुन्थे।

जिल्ला सदरमुकामबाट १० किमिभित्र पर्ने द्याङ्दी, कोम्ला, काउले र अभ्र्याङ गाउँका किसानले बाँदरको त्रासका कारण बाली लगाउन कसरी छाडे भन्नेबारे उनीहरू गफ गर्थे। लामो समयसम्म बाँदरको त्रासले उनीहरूको बसोबास र कृषिको ढाँचामा परिवर्तन ल्याउने पो हो कि, भन्ने चिन्ता व्यक्त गर्थे। अनि बीच बीचमा बारी पसेका बाँदर धपाउँथे।

स्थानीय र विज्ञ बाँदर आक्रमणको कारक बसाइँसराइलाई मान्छन्। सन् २०२१ को जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार पछिल्ला १० वर्षमा मात्रै शहरी जनसङ्ख्या ६३.१९ बाट ६६.०८ प्रतिशत पुगेको छ। ग्रामीण जनसङ्ख्या ३६.८१ प्रतिशतबाट घटेर ३३.९२ प्रतिशतमा झरेको छ। यी परिवर्तनले ग्रामीण कृषिलाई अस्तव्यस्त बनाएको छ। खेतबारी बाँझै रहन थालेका छन्।

विज्ञहरूका अनुसार खाद्यान्न अभावका कारण बाँदर ग्रामीण भेगबाट अर्ध–शहरी बस्तीतर्फ आइरहेका छन्। जस्तो कि, केही वर्षअघिसम्म बाँदर नै नदेखिने दुर्गानगर जस्ता ठाउँमा अहिले बाँदर देखिन थालेका छन्।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका पूर्वप्राध्यापक मुकेशकुमार चालिसेका अनुसार पहिले बाँदरले आफ्नो प्राकृतिक वासस्थान नजिक रहेका र खानाको सहज पहुँच हुने ग्रामीण खेतबारीमा आक्रमण गर्थे। अहिले ग्रामीण खेती घट्दै गएकाले बाँदर पनि अर्ध–शहरी र शहरी क्षेत्रमा बसाइँ सरेका छन्, जसले गर्दा देशका धेरै भागमा मानिस र बाँदरबीच द्वन्द्व बढेको छ।

“कृषिमा कमी आएकाले प्राकृतिक जंगल विस्तार भएको छ, मानव बस्ती र जंगलबीचको मध्यवर्ती क्षेत्रमा बाँदर आकर्षित भएका छन्”, चालिसेले भने।

बाँदरको संख्या द्रुत गतिमा बढेको हो वा तिनीहरू थप आक्रामक भएका हुन् भन्ने चाहिं स्पष्ट नभएको चालिसे बताउँछन्। उनका अनुसार बाँदरको त्रास न्यूनीकरण गर्ने पहिलो कदम भनेको यसको गणना गर्नु हो।

“रेसस मकाक प्रजातिका बाँदरले खाना सजिलै पाए भने छोटो अवधिमा बच्चा जन्माउँछन्। यसले बाँदरको जनसंख्या थोरै वृद्धि भएको हुन सक्छ। तर हामीले गणना विना ठोकुवा गर्न सक्दैनौं”, उनले भने।

नेपालमा बाँदरको आधिकारिक तथ्याङ्क नभएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख वन अधिकृत तोयानाथ पौडेल बताउँछन्। तथ्याङ्कको अभावमा बाँदर न्यूनीकरणका उपाय तयार गर्न यहाँका अधिकारीहरू पनि धेरै हदसम्म हल्ला र किस्साको भर पर्नुपर्छ।

“वन मन्त्रालयले जनावरहरूको विविधता र जैविक प्रणालीबारे पूर्ण मूल्यांकन गर्न गणना गर्नुपर्ने आवश्यकता छ। तर अहिलेलाई बाघ, गैंडा र कस्तूरी मृग जस्ता संरक्षित जनावरको मात्रै गणना गर्ने चलन छ”, पौडेलले भने।

पौडेल पनि बसाइँसराइ र अर्थतन्त्र जस्ता ठूला परिवर्तनले बाँदर बढेको दाबी गर्छन्।

“हामी द्रुत गतिमा गाउँलेबाट शहरियामा परिणत हुँदैछौं। ग्रामीण भेगका खेतबारी लामो समयसम्म प्रयोगमा नआएपछि ती जंगलमा परिणत हुँदैछन्” उनले भने, “हामीले जंगल क्षेत्रमा मानव गतिविधि बढाउनुपर्छ। जस्तै, टेढामेढा रूख काटेर जंगल पातलो बनाउने, ताकि बाँदरहरू भित्री जंगलतिर बसाइँ सरून्।”

बाँदरको प्रकोप

नेपालमा मुख्यतया तीन प्रजातिका बाँदर छन्— रेसस मकाक (मकाका मुलाटा), असामी बाँदर (मकाका असामेन्सिस) र हनुमान लङ्गुर (सेम्नोपिथेकस एन्टेलस)।

चालिसेका अनुसार, हनुमान लङ्गुर र असामी बाँदरको खतरा अलि थोरै भए पनि रेसस मकाकले बालीमा सबैभन्दा बढी क्षति पुर्‍याउँछ। अनुहार र पुट्ठा गाढा गुलाबी हुने यसलाई बोलीचालीमा रातो बाँदर पनि भनिन्छ। मकाकको झुण्डमा प्रायः एक दर्जनदेखि १०० सम्म बाँदर हुन्छन्। यी बाँदरले आक्रमण गर्दा खेत पूरै खैरा टाउकै टाउकाले भरिएको जस्तो देखिने हुनाले किसान यसलाई ‘हजारिया’ पनि भन्छन्।

त्यसो त, खेत सखाप पार्न सधैं ठूलो दलबल नै चाहिन्छ भन्ने होइन। कतिपय अवस्थामा ‘एक्ले बाँदर’ नै पर्याप्त हुन्छ। यो बाँदर एक्लै खेतमा लामो समय बसेर मकैका सयौं घोगा चाख्दै फ्याँक्दै गरेर निकै हानि पुर्‍याउन सक्छ।

सरकारी निकायसँग बाँदरको संख्या वा तिनीहरूले गरेको क्षति विवरण नभए पनि देशका विभिन्न ठाउँबाट आएका तथ्यांकले परिमाण नाप्न सघाउँछ। सन् २०१७ मा कास्कीमा गरिएको एक अध्ययन अनुसार रेसस मकाक प्रजातिका बाँदरले प्रायः आक्रमण गर्ने बालीमा मकै ३१ (प्रतिशत), आलु ३०, गहुँ १७, काउली १५ र चामल ७ प्रतिशत छ। सन् २०१७ मा सर्वेक्षण गरिएका ६० घरधुरीमध्ये ३२ प्रतिशतले २० हजार रुपैयाँ नोक्सन भएको रिपोर्ट गरेका छन्। तीस प्रतिशतले भने १० देखि २० हजार रुपैयाँ नोक्सान भएको जनाएका छन्। सन् २०१६ मा असामी बाँदरले धादिङ र गोरखाको बूढीगण्डकी नदी किनारमा गरेको बाली हमलाको अध्ययन भएको थियो। यसअनुसार किसानले ३२ हेक्टर जमीनमा ९४१ क्वीन्टल उत्पादन अनुमान गरेकोमा २३४ क्वीन्टल बाली क्षति भएको रिपोर्ट गरेका थिए।

बाग्लुङ र पर्वतमा ६१ हेक्टर जमीनमा ६८८ क्वीन्टल उत्पादन अनुमान गरिएकोमा १२० क्वीन्टल बाली क्षति भएको किसानले जानकारी दिएका छन्।

अनभिज्ञ अधिकारी, हतास किसान

किसानलाई खेतबारीमा टिकाइराख्न बाँदरलाई जंगलतिरै रोक्नु आवश्यक छ। तर, बाँदरका कारण किसानले भोग्नुपरेको क्षतिबारे राम्ररी थाहा हुँदाहुँदै पनि यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अधिकारीहरू अनभिज्ञ देखिन्छन्।

खोज पत्रकारिता केन्द्रले कुराकानी गरेका कुनै पनि सरकारी अधिकारी वा निर्वाचित प्रतिनिधिले बाँदरको खतरालाई अस्वीकार गरेनन्। तर, समस्या न्यूनीकरण र अनुकूल रणनीति निर्माण गर्ने प्रक्रियामा रहेको दाबी गर्दै गर्दा, उनीहरूसँग देखाउन सक्ने ठोस परिणाम केही छैन।

“नगरपालिकाका अर्ध–शहरी र ग्रामीण इलाकामा बाँदर प्रकोप ठूलो समस्या बनेको हामीलाई थाहा छ। तर यसको समाधान निकै जटिल छ” पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा भन्छन्, “बाँदरलाई बार लगाएर बाली आक्रमण गर्नबाट रोक्न पनि सकिंदैन, न त कीटनाशक प्रयोग गरेर मार्न नै मिल्छ।”

बाँदरको त्रास र विगत पाँच वर्षमा यस्तो समस्या कसरी हातबाट फुत्कियो भन्नेबारे गण्डकी प्रदेशको कृषि मन्त्रालय पनि सचेत रहेको मन्त्रालयका सचिव सवनम शिवाकोटी बताउँछिन्। तर मन्त्रालयले पनि प्रकोप न्यूनीकरणको कुनै प्रयास गरेको छैन।

“हामी जहाँ पुगे पनि किसानले बाँदरका कारण भएको क्षतिबारे सुनाउँछन्। तर, हामीले यसलाई न्यूनीकरण गर्ने विशेष कार्यक्रम ल्याउन बाँकी छ”, शिवाकोटीले भनिन्।

जनप्रतिनिधि र सरकारी अधिकारीले समस्या समाधान गर्न नसकेको वा नचाहेकाले आफैं समाधान खोज्न बाध्य किसान कठोर विधि अपनाइरहेका छन्। गत जुलाईमा दुर्गानगरका एक चालीस वर्ष माथिका किसानले बाँदरलाई विषाक्त केरा खुवाउने प्रयास गरेका थिए। तर, जुन साँझ उनी बजारबाट केरा र मुसाको विष लिएर फर्किए, त्यसै दिन बाँदरले उनको बारीको मकै सिध्याइसकेको थियो।

“मकै नै बाँकी नरहेपछि बाँदर मार्नुको अर्थ रहेन”, आफ्नो परिचय गोप्य राख्न चाहेका ती किसानले भने।

पोहोर साल असारे मकै पाक्ने बेलातिर पुतलीबजार नगरपालिका–२ स्थित अरौदी गाउँमा बाँदरलाई तर्साउन मरेको बाँदर रूखमा झुण्ड्याइएको हल्ला चलेको थियो। यसबारे स्थानीयसँग खोज पत्रकारिता केन्द्रले सोध्न खोज्दा शुरूमा त उनीहरूले थाहा नभएको कुरा गरे। तर, थप सोधखोज गर्दै गएपछि नाम नखुलाउने शर्तमा अरौदीकै २५ वर्षीय एक युवकले आफूहरूले रूखमा बाँदर झुण्ड्याएको कुरा स्वीकारे, तर त्यस बाँदरलाई मान्छेले नभई कुकुरले मारेको उनको दाबी छ।

यस घटनाबारे आफ्नो कार्यालयलाई जानकारी नभएको स्याङ्जाका जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए। संरक्षित प्रजाति भएकाले बाँदरलाई मार्नु गैरकानूनी भएको उनको भनाइ छ। तर, सबै बाँदर संरक्षित प्रजातिका भने होइनन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ अन्तर्गत असामी बाँदरलाई मात्र संरक्षण गरिएको छ।

पुतलीबजार नगरपालिकाका किसान बाँदरका प्रजातिको भिन्नताबारे अनभिज्ञ छन्। त्यसैले त कुनै पनि बाँदरलाई मार्नु गैरकानूनी भएको विश्वास गर्छन्। यद्यपि, आफ्नो बाली जोगाउन उनीहरू जे पनि गर्न तयार छन्।

प्रत्युत्पादक उपाय

स्थानीय अधिकारीहरूले केही काम गर्ने प्रयास भने गरेका छन्, यद्यपि ती धेरै हदसम्म प्रभावहीन र कतिपय अवस्थामा उल्टो पनि भएका छन्।

“बाँदर नियन्त्रणमा हामीले खासै केही गर्न सक्ने अवस्था छैन” डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख पौडेल भन्छन्, “अहिलेसम्म हामीसँग एउटै व्यावहारिक समाधान छ। त्यो भनेको बाँदरले धावा बोल्दा तिनलाई धपाउनु नै हो। हामीसँग बाँदरलाई समात्ने वा बन्दी बनाउने कुनै साधन छैन। किनकि त्यो सम्भव हुँदैन।”

तर, बाँदर धपाउनु केवल अस्थायी समाधान हो। किनकि एक ठाउँबाट धपाइएका बाँदर छिमेकको बारीमा पस्छन्। तल्लो भेगका बासिन्दा बाँदरबाट सबैभन्दा बढी प्रभावित हुन्छन्, जसका कारण उनीहरू माथिल्लो भेगकासँग असन्तुष्ट हुन्छन्।

“गहते गाउँबाट हुर्रिएर आएका बाँदर एक–दुई मिनेटमै एउटा रूखबाट अर्कोमा हाम फाल्दै दुर्गानगर आइपुग्छन्” लक्ष्मी सापकोटाले भनिन्, “हामीले तिनलाई मास्तिरै पठाउन सक्ने कुरा भएन। त्यसैले हामी नै सबभन्दा बढी क्षतिको सामना गरिरहेका छौं।”

केही वर्षदेखि पुतलीबजार नगरपालिकाले अस्थायी न्यूनीकरण औजारका रूपमा किसानलाई ‘तर्साउने बन्दूक’ वितरण गर्दै आएको छ। ‘स्क्याटर गन’ भनेर चिनिने बारुदबाट चल्ने बन्दूकको ठूलो आवाजले चराचुरुङ्गी र कीराफट्याङ्ग्रालाई पनि खेतबारीबाट तर्साएर धपाउँछ।

आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले औसत रु.८०० खर्च गरेर ३३० वटा बन्दूक खरीद गरी किसान समूह र टोल विकास समूहमार्फत वितरण गरेको थियो। तर बाँदरले यी बन्दूक हानिरहित छन् भन्ने चाँडै चाल पाए।

“एक वर्षसम्म त बन्दूकले काम गर्‍यो। अहिले बन्दूकको आवाज सुन्ने बानी परिसक्यो, त्यसैले तिनले टेर्दैनन्”, पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत शर्माले भने।

किसानलाई बीमा र क्षतिपूर्ति नीति आवश्यक भएको गण्डकी प्रदेशको कृषि मन्त्रालयका सचिव शिवाकोटी बताउँछिन्। “तर यसमा कृषि मन्त्रालय मात्र जिम्मेवार छैन। वन मन्त्रालयको पनि उत्तिकै भूमिका छ। त्यसैले यो प्रकोप नियन्त्रण गर्न दुवै मन्त्रालयले साझा योजना ल्याउन जरूरी छ” उनले भनिन्, “हामीले विभिन्न ठाउँमा अनौपचारिक रूपमा वार्ता पनि गर्‍यौं। तर न्यूनीकरण नीति र योजना तर्जुमा गर्ने सन्दर्भमा ठोस केही गर्न सकिएको छैन।”

मन्त्रालयले प्रभावित किसानका लागि क्षतिपूर्तिको योजना ल्यायो नै भने पनि सरकारी निकायले रेकर्ड नराखेकाले विगतमा भएको क्षतिको भर्पाइ हुँदैन। वन तथा वातावरण मन्त्रालयले तयार पारेको वन्यजन्तु क्षति राहत निर्देशिका, २०६९ मा बाँदरबाट हुने बाली विनाश समावेश गरिएको छैन। त्यसमा हात्ती, गैंडा, बाघ, भालु, हिउँचितुवा, जंगली बँदेल र अन्य केही जंगली जनावरले गर्ने विनाश मात्र समावेश गरिएको छ।

मन्त्रालयले किसानको क्षतिको भर्पाइ गर्न नसक्नुको अर्को कारण उनीहरूले मिलाएर आफ्ना समस्या भन्न नसक्नु रहेको शिवाकोटी बताउँछिन्।

प्रशासकीय अधिकृत शर्माका अनुसार, “हामीसँग विपद्का बेला क्षतिपूर्ति दिने नीति छ। हामी गाईवस्तु र कुखुराको मृत्यु भए क्षतिपूर्ति दिन्छौं। तर बाँदरको आक्रमणबाट भएको क्षति अझै विपद् व्यवस्थापन र क्षतिपूर्ति कार्यक्रमको हिस्सा बनेको छैन। त्यसैले बाँदरको आक्रमणबाट किसानलाई भएको आर्थिक क्षतिको कुनै तथ्यांक नगरपालिकाले राखेको छैन।”

खोज पत्रकारिता केन्द्रले गत जुलाईमा शर्मालाई भेट्दा बाँदरको त्रास न्यूनीकरण गर्न नगरपालिकाले बजेट विनियोजन गरेको भए पनि खर्च कसरी गर्ने भन्नेमा आफूहरूसँग कुनै उपाय नभएको उनले बताएका थिए। “हामीसँग ‘बाँदर व्यवस्थापन’ शीर्षकमा ९ लाख रुपैयाँ छ। तर त्यसलाई के गर्ने भनेर सोच्न बाँकी छ”, शर्माले भने।

बजेट कसरी खर्च भयो भन्ने जानकारीका पाउन फागुनको दोस्रो साता पुतलीबजार नगरपालिकामा सम्पर्क गर्दा शर्मापछि प्रमुख प्रशासकीय अधिकृतमा आएका रमेश घर्तीले बजेट खर्च नभएको बताए।

“हामी बजेट के गर्ने भन्ने अन्योलमै छौं। यस वर्ष त तर्साउने बन्दूक वितरण पनि बन्द गर्दैछौं, किनभने बाँदर आजभोलि तर्सन छाडे। अनुसन्धान र विज्ञसँग परामर्श लिएर प्रभावकारी उपाय निकालेपछि मात्रै खर्च हुन्छ”, घर्तीले भने।

स्याङ्जा डिभिजन वन कार्यालयले भने समस्या समाधानका लागि केही पहल गरिरहेको छ। विगत तीन वर्षमा कार्यालयले वितरण गरेको कम्तीमा एकचौथाइ बिरुवा बाँदर नियन्त्रणका लागि आफ्नो कार्यालयले सुनिश्चित गरेको डिभिजन वन अधिकृत पौडेलले जानकारी दिए।

कार्यालयले १२०० किसानलाई कागती, टिमुर, हर्रो, बर्रो, अमला, लिची, अम्बा, जामुन र कागतीका बिरुवा वितरण गरेको छ। बाँदरलाई वनमै खाद्यान्नको स्रोत जुटाइदिन ती बिरुवा किसानले जंगलभित्र रोपेका छन्।

“हामीले भीरकोट नगरपालिका, आँधीखोला र अर्जुनचौपारी गाउँपालिका जस्ता बाँदर धेरै भएका क्षेत्रमा टिमुरका २३ हजार बिरुवा वितरण गरेका छौं”, स्याङ्जा डिभिजन वन कार्यालयका योजना शाखा कर्मचारी अमरबहादुर पराजुलीले भने।

लक्ष्मी सापकोटा जस्ता किसानका लागि भने बाँदरलाई लोभ्याउन फलफूलका रूख रोप्नु एउटा काल्पनिक विचार हो। “फलफूलका रूख बढ्न वर्षौं लाग्छ” उनले भनिन्, “जब बाँदरहरू जंगलको फलफूलमा रमाउन सिक्छन्, हामी बितिसकेका हुनेछौं।”

साझा प्रयत्न

लक्ष्मी सापकोटाको घरभन्दा अलिपर, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ दुर्गानगरका व्यापारी तथा किसान कमल पराजुली बस्छन्। गएको असार महीनामा गर्मी चर्को थियो, र कोभिड महामारीको दोस्रो लहर पनि चलेको थियो। महामारीले पराजुलीलाई घुम्ती बजारमा रहेको फर्निसिङ पसल बन्द गर्न बाध्य बनायो। उनलाई भेट्नु परे उनको घर नगएर अरौदी खोलाको छेवैमा रहेको उनको खेतमा गए हुन्थ्यो, किनकि उनी ‘पूर्णकालीन बाँदर हेरालु’ बनेका थिए।

पराजुलीको सतर्कताका कारण उनको परिवारले राम्रै बाली भित्र्यायो। तर उनको खेत बाँदरबाट पूर्ण रूपमा अछुतो रहेन। त्यस गर्मीयाममा पराजुलीको खेतमा चारपटक बाँदरले धावा बोले, जति बेला उनी खाजा वा चिया खान घर गएका थिए।

खेतमा विनाश गर्न ती केही मिनेट नै बाँदरलाई पर्याप्त थियो। एक पटक पराजुली २० मिनेटपछि खेतमा फर्कंदा बाँदरले चाखेर छोडेका दर्जनौं घोगा मकै असरल्ल छरिएका पाए।

“मकै पूरै खाएर पेट भरेका भए पनि त हुने नि”, उनले भने।

तर बाँदर चञ्चल स्वभावका हुन्छन्। तिनीहरू एउटा घोगा टोक्छन्, मन नपरेपछि फ्याँकेर अर्को टोक्न थाल्छन्। यसरी चाख्ने र फाल्ने निरन्तरको चक्रमा बाँदरले घण्टाभरमा पूरै खेत नष्ट पारिदिन्छन्। तैपनि लक्ष्मी सापकोटा जस्ता छिमेकीको अवस्था हेर्दा पराजुलीले गत साल जति मकै भित्र्याउन सके, त्यसमा सन्तुष्ट देखिन्थे।

पराजुलीको सफलतामा उनको एकल प्रयास भने थिएन। बाँदर धपाउन उनले दुई छिमेकी किसानसँग सहकार्य गरेका थिए। तीनै जनाले आफ्नो खेत जोगाउन र आफ्नो बाली सुरक्षित राख्न सँगै काम गरे। पराजुली र उनका साथी जस्तै अन्य किसान पनि बाँदरको समस्यासँग जुध्ने साझा चाहनाका कारण सहकार्यको सम्बन्ध बनाउन एकजुट भएका छन्। खेती नगर्नेहरू पनि यस सामूहिक काममा सहभागी भइदिन्छन्।

तीमध्ये भारतीय सेनामा कार्यरत ३५ वर्षीय दिनेश कुँवर पनि थिए, जो छुट्टीमा घर आएका थिए। गत वर्ष असारमा उनी पनि छिमेकीको बाली जोगाउन बाँदर धपाउने काममा सामेल भए। बाँदर भागेर नजिकैको डाँडामाथि चढे। तिनलाई ढुंगा हान्दा उनी भीरबाट लडेर विते।

मानव र तिनका पुर्खा मानिने बाँदरको द्वन्द्वमा कुँवर एक अतिरिक्त क्षति मात्र बने।

“हामीले घटनास्थलको मुचुल्का उठायौं, प्रतिवेदन तयार पार्‍यौं। तर भवितव्य घटना भनेर मुद्दा दर्ता गरायौं। के गर्ने, बाँदरलाई प्रतिवादी बनाएर कारबाही गर्न पनि नसकिने”, स्याङ्जा जिल्ला प्रहरी कार्यालयका जनसूचना अधिकृत राजेन्द्रप्रसाद अधिकारीले भने।

प्रस्थान

गएको गर्मीयामको अन्त्यतिर दुर्गानगर, देवस्थान र अरौदी गाउँबाट बाँदर एकाएक हराए। बाँदर अचानक कता लागे भन्ने अन्योलमाझ गाउँलेले बचेखुचेको बाली भित्र्याए।

अब वसन्त ऋतु लागिसकेको छ। किसान फेरि खेतीको तयारी गर्दैछन्, र बाँदर फेरि फर्केलान् कि भन्ने चिन्तामा छन्। छरेको बीउ बारी खोस्रेर खान फेरि बाँदर आउनेछन्। जब बचेका बीउमा पालुवा टुसाउँछन्, तिनले मकैका कमला अङ्कुर खाइदिनेछन्। र अन्त्यमा, बचेखुचेका बिरुवामा लागेका घोगा पनि तिनै बाँदरले खानेछन्।

मकै खान नपाए आँप, सुन्तला, तामा र अमला खानेछन्, या भनौं बिगारेर छोड्नेछन्।

 

दिनेश काफ्ले | खाेज पत्रकारिता केन्द्र


सम्बन्धित समाचार