Logo

२७ मंसिर, वीरगञ्ज
वीरगञ्ज महानगरपालिकामा दर्ता भएका अस्पताल, पोलिक्लिनिक, डायग्नोष्टिक सेन्टर, एक्स रे, अल्ट्रासाउन्ड, क्लिनिक र फिजियोथेरापी गर्ने स्वास्थ्य संस्थाको संख्या १ सय ७४ वटा छ । त्यसबाहेक वीरगञ्जमा ३ सय ५० को हाराहारीमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको अनुमान गरिएको छ । ती अस्पताल, पोलिक्लिनिक लगायत स्वास्थ्य संस्थाबाट दैनिक ४ दशमलब ७ मेट्रिक टन अस्पतालजन्य फोहोर निस्कने गरेको छ । त्यसमा १ दशमलब ७ मेट्रिक टन टक्सिक (अति संक्रामक) फोहोर निस्कने गरेको अध्ययनले देखाएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
त्यस्ता फोहोरले सरसफाईकर्मी, नगरबासी र वातावरणमा पार्ने प्रभावलाई मध्यनजर गरेर वीरगञ्ज महानगरले अस्पताल (स्वास्थ्य संस्था) जन्य फोहोर व्यवस्थापनका लागि छुट्टै व्यवस्था गरेको छ । ६ करोड २२ लाख रुपैयाँमा ग्रिन हाउस हस्पीटल वेष्ट म्यानेजमेन्ट सेन्टर तयार गरेको हो ।
अमृत जलुकेनी जेभी बालाजु काठमाण्डुसँग २०७७ मंसिर १५ गते सम्झौता भई ०७८ असार १५ मा काम सम्पन्न भएको हो । ७ करोड ५१ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ठेक्का सम्झौता ६ करोड २३ लाखमा भएको थियो । काम सम्पन्न भईसक्दा निर्माण व्यवसायीले ६ करोड २२ लाख रुपैयाँ बुझेका छन् ।
महानगरको ९ औं नगरसभाबाट पारित आर्थिक वर्ष ०७८÷८९ को नीति, कार्यक्रम तथा बजेटमा अस्पतालबाट निस्कने संक्रमणजन्य फोहोर व्यवस्थापनको लागि यसै बर्ष महानगरपालिकाले नगवामा रहेको ल्याण्ड फिल्ड साइटमा ग्रीन हस्पिटल वेस्ट मेनेजमेन्ट सेन्टर निर्माण कार्य आगामी आर्थिक बर्ष भित्रमा संचालनमा ल्याउने उल्लेख थियो ।
सेन्टरको सोमबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।
महानगरपालिका योजना शाखाका ईन्जिनियर प्रकाश अधिकारीका अनुसार अस्पतालजन्य फोहोरलाई प्रभावकारी ंढंगले व्यवस्थापन गर्ने उद्देश्यले सेन्टर तयार गरिएको छ । सेन्टरमा टक्सिक फोहोरलाई डिस इन्फेक्सन गरेर नन टक्सिक बनाईन्छ । त्यसका लागि ३ सय ५० लिटर क्षमताका द्ुईवटा ‘अटो क्लेभ’ मेसिन राखिएको छ । अटो क्लेभले संक्रामक फोहोरलाई डिसइन्फेक्सन गर्छ । मानवलाई संक्रमण गर्ने फोहोर जसमा भाईरस, जिवाणु, किटाणु हुन्छ । त्यसलाई टक्सिक (अति संक्रामक) फोहोर भनिन्छ । सबैभन्दा पहिले त्यसमा भएको संक्रमणलाई निष्क्रिय बनाएर सुरक्षित गरिन्छ । अटो क्लेभको काम त्यहि हो । १ सय २० डिग्रि सेल्सियस त्यसको न्युनतम तापक्रम हुन्छ । त्यो भन्दा माथि गएर पानी तताईन्छ । त्यसको वाफले नै किटाणु, विषाणु, जिवाणुलाई मार्छ । निडल, ग्लोभ्स, एप्रोन, मास्कलाई संक्रमणमुक्त बनाईसकेपछि सेग्रिगेसन रुममा लगेर छुट्याईन्छ ।
एक्सपायर भएको ओषधिलाई जम्मा गर्ने र सोडियम हाईड्रो क्लोराईड हालेर गाड्ने गरि व्यवस्था मिलाईएको छ ।
प्रशासनिक भवन, चेन्जिङ, लकर, वासिङ रुम, अटो क्लेभ रुम, साईको टक्सिक रुम, सेग्रिगेसन कम्पाटमेन्ट, स्टोरेज ट्याङक, ४ थान सवारी साधन र मोटरसाईकल पनि खरिद गरिएको छ । प्लाष्टिक दाना बनाउने मेसिन र बायो डाईजेष्टर छ । बायो डाईजेष्टर गोबर ग्याँस प्लान्ट जस्तै हुन्छ । जसमा ह्युम्यान बडी पार्टस गलाएर ग्याँस निकालिन्छ ।
‘अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि हामीले प्रयोग गरेको प्रविधि भनेको ग्रिन टेक्नोलोजी हो । इन्सीलेटर प्रविधिमा धुँवा आउँछ, त्यसले बायु प्रदुषण गर्छ । ग्रिन टेक्नोलोजीमा ईनर्जी पनि कम खान्छ ।’ ईन्जिनियर प्रकाश अधिकारीले भने ।
वीरगञ्जको नारायणी अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन एकदमै चुनौतीपूर्ण छ । सालनाल लगायत मावन अंगलाई व्यवस्थापन गर्न बायो ग्यास प्लान्ट छ । सुई सिरिन्जलाई जलाएर गाडेर नष्ट गर्ने गरिन्छ । कतिपय फोहोर महानगरपालिकाको गाडीमा हालेर पठाईन्छ । विशेषगरि संक्रामक फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण छ ।
अस्पतालहरुको रिभ्यु बैठकमा फोहोर व्यवस्थापन सही ढंगले हुन नसकेको भन्दै प्रश्न उठ्ने गरेको अस्पतालका मेडिकल सुपरीेटेन्डेन्ट डाक्टर विरेन्द्र प्रधान बताउँछन् ।
‘अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न एकदमै गाह्रो छ । स्रोत पनि छैन, ठाउँ पनि छैन । दुईवटा रिभ्यु बैठकमा फोहोर व्यवस्थापनलाई लिएर प्रश्न उठ्यो ।’ उनले भने ‘ व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा युएनडिपीसँग कुरा चल्दैछ ।’
त्यसो त अस्पतालमा इन्सीलेटर र अटो क्लेभ मेसिनहरु पनि छन् । तर संक्रमित फोहोर र अन्य फाहोरलाई छुट्याउने कार्य नै प्रभावकारी ढंगले हुन सकेको छैन ।
‘साल नालको प्रभावकारी व्यवस्थापन छ । ग्याँस प्लान्टबाट बायो ग्यास बनाईन्छ ।’ अस्पतालका एक कर्मचारीले भने ‘ अन्य संक्रामक फोहोरको व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।’
स्वास्थ्य संस्थाहरूबाट उत्पादन हुने हानीकारक फोहर र घर वा कार्यालयहरूबाट उत्पादन हुने सामान्य फोहर एकै ठाउँमा भण्डारण तथा विसर्जन गर्नाले सम्पूर्ण फोहोर हानिकारक हुन जाने चिकित्सकहरु बताउँछन् । स्वास्थ्य संस्थाको फोहरमैला व्यवस्थापन गर्दा सबैभन्दा महत्वपूर्ण कार्य सामान्य र हानिकारक फोहरमैलालाई उत्पन्न हुने स्रोतमा नै छुट्याई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
के हो स्वास्थ्य संस्थाबाट निस्कने फोहोर ?


स्वास्थ्य संस्थाहरूबाट निस्कने फोहरवस्तुहरूमा बिरामीको रगत, पिप, शरीरका अंग लगायत पर्दछ । विषाक्त तथा म्याद नाघेका औषधिहरू, भ्याक्सिन तथा रसायनिक पदार्थ आदि संक्रामक फोहर पनि हुन्छन् । यस्ता फोहरहरू जनस्वास्थको लागि अति नै हानिकारक मानिन्छन । यस्ता फोहर वस्तुहरूबाट अस्पतालमा काम गर्ने कर्मचारीहरू, फोहरमा संलग्न हुने कामदारहरूमा संक्रामक रोग सर्न सक्ने हुन्छ । त्यसैले यस्ता समुदाय सदैव जोखिममा रहेका हुन्छन ।
एक पटक प्रयोग गरी फालिएका सिरिन्जहरू फोहरबाट संकलन गरेर लागु औषध प्रयोगकर्ताले पुनः प्रयोग गर्ने सम्भावना पनि हुन्छ । जसले गर्दा हेपाटाइटिस, एच.आई.भी. टिटानस जस्ता प्राणघातक सरुवा रोगहरू सर्ने र फैलने संभावना हुन्छ ।
स्वास्थ संस्थाहरूबाट उत्र्सजित हुने यस्ता हानिकारक फोहरमैलाको यथोचित व्यवस्थापन नगरेको अवस्थामा जनस्वास्थ एवं वातावरणमा समेत प्रतिकूल असर पर्न जान्छ ।
वीरगञ्ज मात्रै नभएर देशका मुख्य शहरहरूमा जथाभावी खोलिएका अस्पताल, स्वास्थ केन्द्र एंव नर्सिङ्ग होमहरूले त्यस्ता फोहरहरूको उपयुक्त व्यवस्थापन नगरी अस्पताल परिसर एवं नगरपालिकाको फोहर फाल्ने कन्टेनरहरूमा नै जथाभावी फाल्ने गरेको देखिन्छ । जसको कारण सामान्य फोहर पनि हानिकारक फोहरमा परिणत हुन गई जनस्वास्थ एंव वातावरणमा नै प्रत्यक्ष असर पुग्न गएको पाइन्छ ।
स्वास्थ संस्थाबाट निष्कने फोहरहरूलाई संक्रमित र असंक्रमित गरी दुई भागमा छुट्याउनुपर्छ । संक्रमित फोहोर अटोक्लेभ मेसिनमा राखेर निर्मलीकरण गरी किटाणुरहित भएपछि अरु फोहरमा मिसाई ल्याण्डफिल साइटमा पठाउने दायित्व स्वास्थ्य संस्थाहरूको हुन्छ ।
तर वीरगञ्जका स्वास्थ्य संस्थाले त्यसो नगर्ने गरेको निजी साझेदारी अन्र्तगत वीरगञ्जको फोहोर संकलन र प्रसोधनको काम गर्दै आएको पृथ्वी तारा÷एन के इन्टरनेशनल जेभीका निर्देशक शिवजी गुप्ता बताउँछन् । ‘ अस्पतालजन्य फोहोर ट्याक्टरबाट छुट्टै संकलन गर्छौ । दुई टनको हाराहारीमा संकलन हुन्छ । ’ उनले भने ‘ तर संक्रामक र सामान्य फोहोर भनी सेग्रिगेसन गरेको हुँदैन । सबै मिसिएर आउने गरेको छ ।’
त्यसरी फोहोर पठाउँदा व्यवस्थापन गर्न निकै कठिनाई हुने गरेको उनले बताए ।
फोहोर व्यवस्थापनको योजना अलपत्र
निर्वतमान प्रमुख विजय कुमार सरावगीले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि सेन्टर स्थापना गरेर महानगरले ठूलो उपलब्धी हाँसिल गरेको दावी गरे । वीरगञ्ज मेडिकल हब विस्तारै बन्दै गईरहेको अवस्थामा मेडिकल वेष्ट ट्रिटमेन्ट परियोजना लाभदायक हुने विश्वास उनको छ ।
‘प्याथोलोजी, ल्याब तथा अस्पतालमा खकार, दिशा, पिसाब, रगत लगायत ह्युम्यान फ्लुड धेरै निस्कन्छ । नालामा नै विर्सजन हुने रहेछ । जसले गर्दा रोग निम्त्याउने, म्याद सकिएको ओषधिलाई पनि फोहोर मै मिसाउने, रेडियोलोजीको फोहोरको अवस्था उस्तै छ । उनले भने ‘यस्ता फोहोर स्वास्थ्य संस्थाले आफैं व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । तर कसैले इमान्दारीपूर्वक व्यवस्थापन गरेको थिएन, सबै फोहोर म्युनिसिपल वेष्टमा आईरहेको हुन्छ । कतिले गैरकानुनी ढंगले पैसा दिएर मिल्काउने समेत गरेका थिए । व्यवस्थापन गर्ने कुनै उपाय नै थिएन । अब सेन्टर तयार भएको छ । त्यसैलाई प्रयोगमा ल्याउँनु पर्छ ।’
तत्कालका लागि ल्याण्ड फिल्ड साईट हेर्ने पृथ्वीतारा एनके इन्टरनेशनलाई नै यसको व्यवस्थापन गर्ने जिम्मा दिईएको तर सार्वजनिक निजी साझेदारी अवधारणामा ठेक्का लगाउने तयारी महानगरले गरेको थियो ।
मेडिकल वेष्टलाई सही ढंगले विर्सजन गर्ने कर्तव्य स्वास्थ्य संस्थाकै भएको बताउँदै पूर्व मेयर सरावगीले महानगरपालिकाले त्यसमा सहयोग मात्रै गर्नुपर्र्ने बताए ।
‘वेष्ट जसले दिन्छ उसले सहयोग गर्नुपर्छ । उनीहरुले सहयोग गरेन भने केन्द्रमा ताल्चा लाग्छ । अस्पतालजन्य फोहोर जथाभावी फाल्नु हुँदैन । ’सरावगीले भने ।‘ अस्पताल भित्र नै जोखिम, कम जोखिम लगायत फोहोर छुट्ट्याएर दिनुपर्ने हुन्छ । ’ उनले भने ’ उनले भने ‘ म्याद गुज्रिएको औषधि पनि महानगरले नै लिन्छ । औषधिको गुणस्तर हेरेर कति टक्सिक छ वा छैन बेग्ला बेल्लै सेगमेन्टमा १०÷१५ वर्षसम्मका लागि गाड्छौं । आयु सकिएपछि त्यो पछि गलेर माटो बन्छ । त्यसलाई पछि निकालेर प्रयोग गर्न सकिन्छ । ’
चिकित्साजन्य फोहोर संकलनका लागि महानगरले दुईवटा मिनि ट्रक खरिद गरेको छ । अस्पतालबाट दैनिक रुपमा फोहोर संकलन गर्ने र त्यसको अनुगमन पनि हुने महानगरले बताएको छ । अनुगमन टोलीका लागि स्र्कापियो गाडी खरिद गरिएको छ ।
सबैभन्दा समस्या रेडियोलोजीमा प्रयोग गरिएको रेडियसन भएका समानलाई के गर्ने ? समस्या छ । त्यसका लागि नेपाल सरकारले कानुन बनाईदिएको छैन । जापानिज र कोरियन टेक्नोलोजीमा वर्न गर्न सकिने टेक्नोलोजीका विषयमा छलफल भएपनि उक्त कार्य अगाडी बढन सकेको छैन । जसबाट वेष्ट वर्न गर्दा आउने कार्बनमोनो अक्साईड, कार्बन डाईअक्साईड जस्ता हानिकारिक ग्यासलाई प्लान्टमै ट्रिटमेन्ट गर्ने सुविधा हुन्छ ।
‘अहिले फोहोरमैला व्यवस्थापनमा मात्रै वार्षिक २० करोड भन्दा बढी खर्च गरिरहेको महानगरपालिकाले अब फोहोरबाट मोहोर कमाउने बाटो खुलेको छ । त्यसका लागि १२ टन क्षमताका साढे ३ करोडको मेसिन ल्याउने महानगरको योजना समेत अहिले अलपत्र परेको छं । त्यो मेसिनले नाला सफा गर्ने मात्रै हैन जाम भएको खण्डमा कटिङ गरेर निकाने योजना महानगरपालिकाको थियो ।
महानगरपालिकामा नयाँ प्रमुख निर्वाचित भएर आएदेखि यस परियोजनाको वारेमा कुनै ध्यान दिइएको छैन । अहिलेका प्रमुख राजेशमान सिंहले पूर्व मेयर विजय सरावगीले तयार परेका योजनामा थप लगानी नगर्ने मनसाय राखेपछि महत्वर्पूंण योजना अलपत्र पर्ने अवस्थामा पुगेको हो ।

 

 

 


सम्बन्धित समाचार