Logo

५ असोज, वीरगञ्ज ।

आयातमा कडाइको सिधा असर सरकारले भन्सारबाट उठाउने राजस्वमा परेको छ । राजस्वमा मुख्य योगदान दिने इन्धन र गाडीको आयातमा कमी आएपछि वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन ।

आयातनिर्यात परिमाणका आधारमा सबैभन्दा ठूलो मानिएको वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७९÷८० को शुरूका २ महीनामा लक्ष्यभन्दा कम राजस्व उठाएको छ । प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार यो भन्सारले बितेको साउन र भदौमा लक्ष्यको ७९ प्रतिशतमात्रै राजस्व उठाएको छ ।

इन्धन र गाडीको आयात घटेपछि राजस्व पनि प्रभावित भएको प्रमुख भन्सार अधिकृत बरुवालले बताए । ‘यो नाकामा सबैभन्दा बढी राजस्व आउने भनेको इन्धन र गाडीबाट हो । यी बस्तुकै आयात घटेपछि राजस्व अपेक्षा गरेअनुसार उठ्न सकेन,’ उनले भने ।

सरकारले गाडी आयातमा कडाइ गरेको छ । बैंकहरूले पनि गाडीमा कर्जा लगानी नगर्दा गाडीको माग घटेको छ । अयातकर्ताले भन्सारमा आइसकेका गाडी जाँचपास गराएका छैनन् । अहिले वीरगञ्जको एकीकृत जाँच चौकी भन्सारमा मात्रै १८ सयभन्दा बढी गाडी थन्किएको नेपाल इन्टर मोडल यातायात विकास बोर्ड वीरगञ्ज कार्यालय प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

चालू आवका लागि वीरगञ्ज भन्सारलाई दिइएको राजस्व लक्ष्यसमेत बढी भएको भन्सारका अधिकारीहरू बताउँछन् । सरकारले आयात नियन्त्रणको उपाय अपनाइरहेको बेला भन्सारको राजस्व लक्ष्य भने बढाएको थियो । गत आवमा २ खर्ब ४ अर्ब रुपैयाँ रहेको लक्ष्यलाई चालू आवका लागि २ खर्ब ६० अर्ब रुपैयाँ पु¥याइएको थियो ।

कति उठ्यो राजस्व ?

वीरगञ्ज भन्सारले बितेको २ महीनामा २७ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुुुलनामा २१ प्रतिशत कम हो । भन्सारलाई ३४ अर्ब ४९ करोड रुपैयाँको लक्ष्य दिइएको थियो ।

गत आव २०७८÷७९ को समीक्षा अवधिमा लक्ष्यभन्दा ७ प्रतिशत बढी राजस्व उठेको थियो । ती दुई महीनामा वीरगञ्ज भन्सारले ३२ अर्ब ५५ करोड रुपैयाँ असुलेको तथ्यांक वीरगञ्ज भन्सारसँग छ ।

घट्यो वैदेशिक व्यापार

वीरगञ्ज नाकाबाट चालू आवको २ महीनामा समीक्षा अवधिको तुलनामा कूल वैदेशिक व्यापार पनि घटेको देखिन्छ । कुल व्यापार १६ प्रतिशतले घटेको छ ।

यो वर्ष साउन र भदौमा १ खर्ब ७ अर्ब रुपैयाँको व्यापार भएको देखिन्छ । यो आकार गत वर्षको शुरूको २ महीनामा १ खर्ब २७ अर्ब रुपैयाँबराबर थियो ।

आयात ६ प्रतिशतले घट्दा निर्यातको मूल्यमा भने ६५ प्रतिशले कमी आएको छ । अघिल्लो वर्ष प्रशोधित खाने तेलको निकासी भएकोमा यो वर्ष यस्तो व्यापार खस्किएको छ । व्यापारघाटा ८ दशमलव ४ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ ।


सम्बन्धित समाचार