Logo

Nepal national currency

उमेशचन्द्र ठाकुर

आत्मनिर्भर अर्थतन्त्र आलापमात्र नभएर आजको आवश्यकता हो । हामीकहाँ भने यो मौसमी बजाजस्तै बनेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा जोडतोडले उठेको आत्मनिर्भर अर्थतन्त्रको विषय नाकाबन्दीको कहर मत्थर भएसँगै सेलाएर गयो । अहिले कोरोना महामारीका कारण आपूर्ति व्यवस्था असहज बनेपछि फेरि यो विषय व्यँुतिएको छ । कोरोना महामारीले नेपालमात्र होइन, विश्वका सक्षम अर्थतन्त्रलाई पनि समस्यामा धकेलेको छ । विश्वकै आपूर्ति शृंखला बिथोलिएको छ भने मूल्यवृद्धि आकाशिएको छ । हामीजस्तो आयातमा आधारित आपूर्ति व्यवस्थामा अडिएको अर्थव्यवस्थाका लागि यो अवस्था पक्कै पनि सहज हुँदैन÷भइरहेको पनि छैन ।

आत्मनिर्भर अर्थतन्त्र भनेको के हो ? केलाई आत्मनिर्भर मान्ने ? आज विश्वका उत्कृष्ट अर्थतन्त्र पनि सबै कुरामा आत्मनिर्भर छैनन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आजको दिनमा उदीयमान अर्थतन्त्रहरूका लागि एउटा मुख्य बजार हो । अमेरिकामा खपत हुने सबै बस्तु अमेरिकामै बनेका छैनन् । आज अमेरिकाले थुप्रै बस्तुको पूर्ति आयातको भरमा गरिरहेको छ । यसो भन्दैमा के अमेरिका परनिर्भर भयो त ? अवश्य पनि होइन । आज कुनै पनि देशले आफूलाई आवश्यक पर्ने सबै बस्तु आफैंले उत्पादन गर्न सक्दैनन् । तर, बढीभन्दा बढी बस्तुको उत्पादनमा सक्षम कसरी हुने र व्यापार सन्तुलन कसरी कायम राख्ने भन्ने चाहिँ मूल चिन्तन हो ।

नुनदेखि सुनसम्म आयातको भरमा चलेको हाम्रो अहिलेको सन्दर्भमा आधारभूत आवश्यकताको आपूर्ति वा त्यसको व्यवस्थापन क्षमता बनाउनु नै आत्मनिर्भरता हो । हाम्रो दुई तिहाई जनसंख्या कृषिमा आधारित छ । त्यसैले अर्थतन्त्रको आधारस्तम्भ कृषि हो । अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा बढी छ । आर्थिक वृद्धिमा बढी योगदान दिइरहेको कृषि आज वर्षेनि घट्दोक्रममा छ । अर्थतन्त्रमा कृषिको योगदान घटेर उत्पादनको आकार बढेको भए पनि त्यसलाई सकारात्मक मान्न पनि सकिने थियो, त्यो पनि छैन । यतिसम्म कि, कृषिमा आधारित देशमा आधारभूत खाद्यान्नमा परनिर्भरता गहिरिँदै गएको छ । वर्षेनि ३ खर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको तथ्यांक सरकारसितै छ । सरकारले आधारभूत खाद्यान्नमा आत्मनिर्भरताको योजना सुनाए पनि त्यसको कार्यान्वयनको आधार देख्न पाइएको छैन ।

आज विश्वका हरेक देशले कृषिमा अनुदानलाई व्यापक पारेका छन् । दक्षिण छिमेक भारतकै किसानले पर्याप्त अनुदान पाएका छन् । तर, हामीकहाँ खेतीको सिजनमा मल र बीउको जोहो गर्न किसानले सिमानामा प्रहरीको लठ्ठीको सामाना गर्नु पर्दछ । सरकार एकातिर कृषिमा आधुनिकीकरणको कुरा गर्दछ, अर्कातिर खेतीको बेलामा मल र बीउसमेत अउलब्ध गराउन सक्दैन भने खाद्यान्नमा आत्मनिर्भरता त कुरामै सीमित रहनु अस्वाभाविक होइन । हामीले सबै खालका खाद्यान्न आफैं उत्पादन गर्नु पर्दछ भन्ने छैन । खाद्यान्नमा आत्मनिर्भरतालाई पनि रणनीतिक रुपमा अघि बढाउनु पर्दछ । भारतसँग खुला सिमाना जोडिएको र वैदेशिक व्यापार पनि ६५ प्रतिशतको हाराहारीमा भारतमै निर्भर रहेकाले त्यहाँको नीतिको प्रभाव हाम्रो अर्थतन्त्रमा पर्दछ ।

यो पनि सत्य हो कि, हामी भारतीय उत्पादनसँग अहिले नै प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनौं । त्यसकारण भारतमा सस्तोमा उत्पादन हुने कृषि उपज हामीले उत्पादन नगरे हुन्छ । त्यस्ता बस्तुको आयात गर्दा फरक पर्दैन । विश्वले कृषिलाई अनुदानमा चलाएको छ । यसमा राजनीतिक उद्देश्य पनि छ, भारतमा त यो अझ व्यापक छ । सँगै कृषिमा दिइएको अनुदानलाई अब राज्यका लागि बोझको रुपमा हेर्न थालिसकिएको छ । विश्वका उदीयमान अर्थतन्त्र भारत र चीनले कृषिमा आश्रित जनसंख्या घटाउने नीति लिएका छन् । हामीले पनि यो नीतिलाई ढिलोचाँडो अपनाउनै पर्दछ ।

यो कसरी गर्ने ? अब परम्परागत तरिकाले चल्दै आएको कृषि परिपाटी काम लाग्दैन, न परम्परागत औद्योगिक र व्यापारिक तरिका नै सापेक्ष छ । यी दुवै क्षेत्रमा आमूल सुधारको खाँचो खट्किएको छ । निर्वाहमुखी खेतीले अब व्यावसायिक आवश्यकतालाई सम्बोधन गर्न नसकेजस्तै भन्सार दरबन्दीमा चलखेल वा छिद्र केलाएर गरिएको उद्यम टिकाउन सम्भव छैन । यो हाम्रो उद्यम अभ्यास र त्यसको परिणामले देखाइसकेको छ । हाम्रो भूगोल बाहिरबाट कच्चा पदार्थ आयात गरेर प्रतिस्पर्धी उत्पादन गर्न सक्ने खालको छैन । यस्तोमा सरकारले नै लागत न्यूनीकरणको विशेष व्यवस्था नगर्ने हो भने बाहिरी देशका बस्तुको अगाडि स्वदेशी उत्पादनले स्वदेशी बजारमै प्रतिस्पर्धा गर्न सक्दैनन् । यो अहिले स्वदेशी उत्पादनले भोगिरहेको तथ्य हो । अहिले आत्मनिर्भर भनिएका उद्योगसमेत भन्सारमा उच्च दरको भन्सार महशुलको छेकबारका कारण उभिन सफल भएका हुन् । भन्सारको छेको हटाइदिने हो भने आत्मनिर्भरताको असलियत थाहा हुन समय लाग्दैन । अहिलेसम्म हाम्रो निकासी व्यापार प्रतिस्पर्धी क्षमताको आधारमा नभएर भारतले लिने भन्सार दरमा चलखेलको परिणाम बढी हो ।

अतः हामीले मौलिक कृषि उत्पादन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउनु पर्दछ । हाम्रो भूगोल सानो भए पनि उच्च हिमाल, पहाड र तराई तीनै प्रकारको हावापानी हामीसँग छ । उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्याउ, जडिबुटी, पहाडको सुन्तला, कफी, अदुवा, तराईमा आँप, उखुजस्ता उत्पादनमा हामी केन्द्रित हुन सक्दछौं । विश्वव्यापीकरणको आजको युगमा आत्मनिर्भर भनेको सबै बस्तुको उत्पादन आफैंले गर्नु भन्ने होइन । आफ्नो मौलिक उत्पादनको बढीभन्दा बढी मूल्यअभिवृद्धि र बाहिरबाट भित्रिने बस्तुको भुक्तानी सन्तुलन सहज बनाउनु नै आत्मनिर्भर व्यवस्थाको सूचक हो ।

आज हामीकहाँ विदेशी विनिमयको सञ्चिति किन कम भयो ? गत वर्ष २०७८÷७९ को आयातनिर्यात तथ्यांक हेरौं, १९ खर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब रुपैयाँको भएको छ । १७ खर्ब रुपैयाँको व्यापारघाटा छ । पर्यटनमा त्यति उत्साह देखिएको छैन । गत वर्ष १० खर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । मोटामोटी ७ खर्ब रुपैयाँको असन्तुलन नै अहिले विदेशी मुद्रा सञ्चितिमा परेको दबाबको कारण हो । यो असन्तुलनलाई कसरी मिलाउने ? त्यसका लागि हाम्रो आधार भनेको अहिलेका लागि कृषि, उर्जा र पर्यटन नै हो । आत्मनिर्भर अर्थतन्त्रका लागि हरेक बस्तुको उत्पादन आफैंले गर्ने होइन । कृषि क्षेत्रमा तुलनात्मक लाभका उत्पादनलाई जोड दिने र त्यसलाई उद्योगसँग जोड्नु पर्दछ । बढी लाभ दिनसक्ने र बढी मूल्यअभिवृद्धिका उत्पादनमा केन्द्रित हुने हो भनेमात्रै त्यसको प्रतिफल दिगो हुन सक्दछ ।
उर्जामा जलविद्युत्को सम्भावना हामीकहाँ मुख्य हो । वर्षमा करीब ३ खर्ब रुपैयाँकै हाराहारीमा इन्धन आयात हुन्छ । यो परिमाणलाई जलविद्युत्ले विस्थापित गर्न नसकिने कारण छैन । यसका लागि रणनीतिक योजना र त्यसको कार्यान्वयनमा इमानदारी चाहिन्छ । विद्युत्को पर्याप्त उत्पादन, पहुँच सहज र सुपथ बनाउनु पर्दछ । घरघरमा प्रयोग हुने आयातित ग्यासदेखि सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोललाई विद्युत्द्वारा विस्थापित गर्न किन नसक्ने ? यसका लागि विद्युतीय उपकरणदेखि सवारी साधनको प्रयोगलाई प्रोत्साहनको नीति बनाउनु पर्दछ । यस्ता बस्तुको आयातलाई सरकारले राजस्व कमाउने उपाय बनाउनेभन्दा पनि कसरी स्वदेशी उर्जा खपत बढाउन सकिन्छ भन्नेमा केन्द्रित हुनु पर्दछ । पर्यटन विदेशी मुद्रा आर्जनको एक मुख्य सम्भावना हो । तर, अहिलेसम्म पनि यसका आयामहरु विस्तार र विकसित हुन सकेको छैन । हिमाल, पहाड, वनजंगल र खोलानाला देखाएरमात्र आजको पर्यटक आकर्षित हुँदैन । अबको पर्यटनलाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक छ । भूगोल, भाषा, संस्कृति, सामाजिक सम्बन्धलगायतका कारण हामीकहाँ आउने भारतीय पर्यटन मुख्य हुन् । हाम्रो नीतिगत व्यवस्था र व्यवहारले भारतीयलाई पर्यटक मानेकै छैन । हामीसँग उपलब्ध सम्भावनाहरूको अधिकतम उपयोगमार्फत उपभोग र आपूर्तिलाई सन्तुलित बनाउने उपाय नै अहिलेका निम्ति आत्मनिर्भर अर्थतन्त्र निर्माणको सापेक्ष उपाय हुनेछ ।

ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।


सम्बन्धित समाचार