Logo

ज्योतिष शास्त्रमा प्रत्येक तिथिमा जन्म लिनेहरुको अलग अलग फल बताइएको छ। हामी यो लेखमा जान्नेछौँ कि अमावस्या अर्थात् औँसी तिथिमा जन्म लिएका व्यक्तिहरुको फल कस्तो हुन्छ र यसको लागि कस्तो उपाय गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्नेछौँ।

ऋषि पाराशरका अनुसार अमावस्याको(औँसी) दिन जो जातकको जन्म भएको हुन्छ, त्यस व्यक्तिको जन्मपछि बिस्तारै घरमा दरिद्रता बढ्दछ। अत: अमावस्याको(औँसी) दिन सन्तानको जन्म भएको छ भने उचित रीतिले शान्ति गर्नुपर्ने विधान रहेको छ।

ज्योतिष शास्त्र अनुसार कुण्डलीमा जब सूर्य र चन्द्रमा एउटै भाव वा घरमा रहेको छ भने अमावस्या(औँसी) दोष हुन्छ। तर यो दोषले अलग अलग भाव अनुसार अलग अलग फल दिन्छ। जस्तै, प्रथम भावमा सूर्य र चन्द्रमा सँगै रहेका छन् भने उसलाई आफ्नो  माता पिताबाट कहिले पनि सुख मिल्दैन वा मतभेद रहन्छ। त्यस्तै दशौँ भावमा सूर्य र चन्द्रमा रहनाले जातक शारीरिक रूपले बलियो हुन्छ तर उसले अपमानको सामना गरिरहनुपर्ने हुन्छ।

यो पनि भनाई छ कि अमावस्या(औँसी)मा जन्मेको बच्चा व्याकुल, अस्थिर, कमजोर आत्मबल भएको, अल्छि आदि हुन्छ र यस्ता व्यक्तिले भविष्यमा स्त्री, पुत्र, कुल, धन आदि सम्बन्धी हानिको सामना गर्नुपर्ने हुन्छ। चन्द्रमाले हाम्रो मन र मस्तिष्कमा आफ्नो पूर्ण प्रभाव र नियन्त्रण राखेको हुन्छ। अमावस्या (औँसी)मा चन्द्रमा कमजोर हुनाले व्यक्ति मानसिक रोगले पीडित हुन सक्छ। उसको मन कमजोर हुने र सधैँ दोधारेपन र अस्थिरता रहन्छ।

अमावस्या(औँसी) दोष निवारणका उपायहरु

  • सधैँ बिहान शुद्ध भएर सूर्यलाई अर्घ दिनुपर्छ।
  • सूर्य र चन्द्रमासँग सम्बन्धित दान गर्नुपर्छ। जस्तै: गहुँ, रातो र सेतो कपडा, दूध, चामल, खीर, इत्यादि।
  • शिवको आराधना गर्नुपर्छ र शिवलिङ्गमा दूध र पानी मिलाएर अभिषेक गर्नुपर्छ वा पूर्णिमाको व्रत गर्नुपर्छ।
  • प्रत्येक अमावस्याको दिन बिहान स्नान गरेर शुद्ध भएर पितृलाई तर्पण गर्नुपर्छ।

विशेष: हामीले यहाँ अमावस्या(औँसी)मा जन्म भएमा हुने दोषको सामान्य उपायहरु बताएका छौँ। यसबारे योग्य ज्योतिषीसँग परामर्श लिएर उपायहरु गर्दा राम्रो हुन्छ।


सम्बन्धित समाचार