Logo

६ असोज, वीरगञ्ज ।
सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १८ सयभन्दा बढी गाडी थन्किएका छन् ।

वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडी रोकिएका छन् । ती गाडीको पार्किङ र सुरक्षा व्यवस्थानमा चुनौती भएको नेपाल इन्टरमोडल यातायात विकास बोर्ड (एनआईटीडीबी)ले बताएको छ ।

आईसीपीमा गाडीको चाप थपिँदै गएकाले अहिलेका लागि ३०० गाडी अटाउने पार्किङस्थल बनाउन लागिएको एनआईटीडीबी वीरगञ्जका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । नयाँ पार्किङ बनेपछि गाडीको चाप व्यवस्थापन सहज हुने विश्वास प्रमुख ज्ञवालीको छ ।

‘आईसीपीमा भित्रिएका गाडी पास हुन सकेका छैनन् । दिनहुँ गाडी थुप्रिँदा गाडी र अन्य आयातनिर्यातको व्यवस्थापनसमेत समस्याग्रस्त बनेको छ,’ ज्ञवालीले भने, ‘पार्किङ तयार भएपछि केही सहज हुन्छ ।’

आईसीपीको पूर्वाधार सुधारका लागि विश्व बैंकको सहयोगमा बेग्लै गोदाम र पार्किङ पनि बनाउन लागिएको छ । यो योजनाअन्तर्गत ४० हजार वर्गमीटर क्षेत्रफलमा गोदाम र पार्किङ तयार गरिने एनआईटीडीबीले बताएको छ । यसका लागि विश्व बैंकको टोलीले आईसीपीको स्थलगत अध्ययन गरिसकेको छ ।

किन रोकिए नाकामा गाडी ?

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब सामधान गर्न भन्दै सरकारले आयातमा गरेको कडाई र लगानीयोग्य रकम अभावलाई कारण देखाएर बैंकहरूले कर्जा लगानी रोकेपछि मुख्य भन्सार वीरगञ्जमा गाडी थुप्रिएका हुन् ।

सरकारले आयात प्रतिबन्ध लगाउनुअघि आयात प्रक्रिया पूरा भइसकेका गाडीसमेत भन्सारमा रोकिएका छन् । प्रतिबन्ध लगाउनुअघि प्रक्रियामा गइसकेका गाडी भित्रिन दिने कि नदिने भन्ने विषय स्पष्ट नहुँदा जाँचपास नभएको भन्सारले बताएको छ । अहिले बजारमा नयाँ गाडीको माग नभएकाले पनि आयातकर्ताले गाडी छुटाउन चासो देखाएका छैनन् ।

आईसीपीमा आयातकर्ताले चर्को पार्किङ शुल्क तिर्नु पर्दछ । यस्तो खर्च घटाउन उनीहरूले सीमावर्ती भारतीय शहर रक्सौलमा जग्गा भाडामा लिएर गाडी राख्ने गरेका थिए ।

अहिले भारतबाट भित्रिने गाडीको बस्तु तथा सेवा कर (जीएसटी) फिर्ता प्रक्रियामा लागि गाडी भित्र्याउने बाध्यता भएको हो । त्यहाँ यसका लागि ३ महीनाभित्र गाडी बाहिरिएको प्रमाण पेश गर्नु पर्दछ ।


सम्बन्धित समाचार