रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेपछि अमेरिकालगायतका पश्चिमा देशले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरिसकेका छन् । युक्रेनविरुद्धको युद्धमा अनपेक्षित क्षति बेहोरेको बताइएको रुसले पछिल्लो समय सैन्यशक्ति बढाउने घोषणा गरेको छ ।
सात महिना लामो युद्धका क्रममा रुसले युक्रेनका करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्ला केही सातायता युक्रेनी फौजले कतिपय क्षेत्र रुसी फौजबाट फिर्ता लिएपछि रुस पुन: आक्रामक बनेको हो ।
रुसको तुलनामा निकै कमजोर ठानिएको भए पनि युक्रेनले अमेरिका, बेलायतलगायत पश्चिमा शक्ति राष्ट्रहरूको पूर्ण समर्थन र सहयोग पाएका कारण अनपेक्षित रूपमा रुसी सेनाको सामना गरिरहेको छ । पछिल्लो समय पश्चिमा राष्ट्रहरूले परमाणु आक्रमणको नाममा रुसमाथि ‘ब्ल्याकमेल’ गरिरहेको राष्ट्रपति पुटिनको आरोप छ ।
युक्रेनमा जारी तनावका लागि पश्चिमा शक्ति नै जिम्मेवार रहेको उनको दाबी छ । राष्ट्रपति पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकट बिक्री बढेको जनाइएको छ । युक्रेनी सेनाले खर्किभ पूर्वको ठूलो क्षेत्रमा पुन: नियन्त्रण कायम गरेसँगै त्यहाँ व्यापक नोक्सानी बेहोरेपछि रुसले सेना परिचालनको पछिल्लो कदम चालेको हो ।
यसैबीच, जी–७ राष्ट्रका विदेशमन्त्रीहरूले युक्रेन युद्धका लागि अतिरिक्त सेना परिचालन गर्ने रुसी राष्ट्रपति पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्ध लगाउने बताएका छन् । अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका मन्त्रीहरूले रुसी कदमको निन्दा गर्दै अतिरिक्त सेना परिचालन र गैरजिम्मेवारीपूर्ण परमाणु हतियार समावेश रहेको दाबी गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको बैठकपछि जी–७ राष्ट्रका विदेशमन्त्रीहरूले रुसविरुद्ध थप प्रतिबन्ध जारी गर्ने र आर्थिक र राजनीतिक दबाबलाई निरन्तरता दिन प्रतिबद्ध रहेको जनाएका हुन् । ‘हामी अध्ययन गर्नेछौं, हामी व्यक्तिगत र क्षेत्रगत दुवै नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं,’ बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले पत्रकारहरूसँग भनेका छन् ।
जी–७ मुलुकका विदेशमन्त्रीहरूका साथै युरोपेली संघका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनबाट रुसले कब्जा गरेका भूभाग ‘जनमत संग्रह’ गर्ने योजनाको पनि निन्दा गरेका छन् । रुसी सेनाको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भएकाले रुसको त्यस्तो कदमको उनीहरूले विरोध गरेका हुन् ।
युक्रेनमा लड्न हजारौं जगेडा सैनिकलाई बोलाउने रुसी राष्ट्रपतिको घोषणाविरुद्ध रुसका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । रुसी सुरक्षा फौजले बिहीबार सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एक हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका रुसी मानवअधिकार समूह ओभीडी–इन्फोले जनाएको छ । तीमध्ये रुसी राजधानी मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका हुन् । त्यस्तै, एकतेरिनबर्ग र इर्कुत्स्कलगायतका साइबेरियन सहरका प्रदर्शनमा सहभागी दर्जनौं पक्राउ परेका छन् ।