Logo

१३ असोज,वीरगन्ज। नेपालीहरुको महान चाड बडादशैँको चौथो दिन अन्तर्गत आज दुर्गा भवानीको नौ रुप मध्ये कुष्माण्डा भगवतीको पूजा आराधना गरी मनाइँदैछ ।बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । त्यसै अन्तर्गत बिहिबार कुष्माण्डा देवीको पूजा आरधना गरिदैछ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको हिन्दु धार्मिक ग्रन्थहररूमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ ।कुष्माण्डा देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।यी देवीलाई उष्ण रक्तसमूह मानव, चराचुरुङ्गी तथा माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

कुष्माण्डाको अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । कुभिण्डोको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने प्रचलन छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवी भागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

यता वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ ।


सम्बन्धित समाचार