Logo

१४ असोज, वीरगन्ज । नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै डिपो खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा १३ वटा डिपो खुला राख्ने जनाएको छ ।दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक गाडीको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरू खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन् ।

यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरू २४ घन्टा खुला हुने र त्यसका लागि १३ वटा डिपो विभिन्न बिदाको दिनमा खुला राखिने निगमले जनाएको छ । निगमका अनुसार अहिले दैनिकरूपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।


सम्बन्धित समाचार