Logo

नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यता अभिलेखबाट आउट हुने भएका छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउन लागिएको हो ।

‘स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्छ’, एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘उनीहरूलाई स्पष्टीकरण सोधिरहनु पर्दैन ।’ एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसरी स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसाल (रुपन्देही) र प्रभु साह (रौतहट) रहेका छन् भने केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाह (रौतहट), गंगा चौधरी सत्गौवा, (दाङ) तथा बदमी क्वारा बुढा (डोल्पा) रहेका छन् ।
कारण फरक फरक

नेता घनश्याम भुसाललाई पार्टी उम्मेदवार नबनाएपछि रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यो क्षेत्रमा एमालेले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । उम्मेदवार सिफारिसका क्रममा भुसाल रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ र ३ बाट सिफारिस भएका थिए । ३ मा एमालेले राप्रपाका दीपक बोहोरालाई सघाउने निर्णय गरेको थियो भने १ मा विश्वकर्मालाई अगाडि ल्याएपछि एमालेभित्र वैचारिक नेताका रूपमा रहेका र अघिल्लो पटक प्रतिनिधि सभामा निर्वाचित भएका भुसाललाई एमालेले पाखा लगाउने प्रयत्नअनुसार टिकट दिनबाट वञ्चित गरेको थियो ।
एमालेको २०७८ साल मङ्सिरमा सम्पन्न १० औँ महाधिवेशनमा अध्यक्ष ओलीको निर्देशनविपरित उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भुसाल वाम एकताको पक्षमा वकालत गर्दै आएका थिए । अध्यक्ष ओलीको संसद् विघटन गर्ने कदमको समेत विरोध गरेका भुसाललाई ओलीले ‘इगो’ साँधेर नै टिकट नदिएको एमाले वृत्तमा चर्चा चलेको छ ।

एमाले पार्टी सदस्यताको अभिलेखबाट हट्ने अर्का नेता हुन् पूर्वमाओवादी पृष्ठभूमिका स्थायी कमिटी सदस्य प्रभु साह । साहलाई भने एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट दिए पनि उनले जसपासँगको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । साह एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनकालमा एमालेमै रहेका थिए ।
रौतहटमा राम्रो पकड राख्ने साहले मधेसका ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएको दावी गरेका छन् । त्यस्तै एमाले केन्द्रीय सदस्य गंगा चौधरी पनि एमालेबाट आउट भएकी छन् । प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने चाहना राखेकी चौधरीको ठाउँमा एमालेले पोलिटव्युरो सदस्य शान्ता चौधरीलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र गंगाले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनी यसअघि समानुपातिक कोटमा सांसद भएकी थिइन् । राष्ट्रियताको सवालमा खरो उत्रन चाहने चौधरी एमसीसी लगायतका विषयमा एमाले मौन रहँदा उनले विरोध गरेकी थिइन् ।

त्यस्तै एमालेका अर्का नेता कुन्दन कुशवाहलाई पनि एमालेले रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट टिकट दिएको थियो । तर कुसवाहले प्रभुकै टिमबाट एमालेको टिकट फालेर स्वतन्त्र उम्मेदवारी दिएपछि उनी पनि एमालेको अभिलेखबाट हटेका छन् । माओवादी पृष्ठभूमिका कुसवाह पनि नेकपा विभाजनकालमा एमालेसँगै रहेका थिए । त्यस्तै एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि आफ्नो अभिलेखबाट हटाएको छ । उनले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।


सम्बन्धित समाचार