Logo

२ कार्तिक, वीरगञ्ज
बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठवन्धनको तर्फबाट पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले उम्मेदवार छन् । सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्य तर्फ (क) मा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष समेत रहेका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनलले उम्मेदवार छन् ।

एमाले–जसपा गठबन्धनबाट प्रतिनीधि सभामा एकबाल मियाँ, प्रदेश सभा सदस्य तर्फ (क) मा नेकपा एमालेका देव नारायण थारु र (ख) मा जसपाका आत्मराम साहले उम्मेदवार छन् । तत्कालिन राजपा नेपालबाट चुनाव जितेका निवर्तमान सांसद मियाँले सत्तारुढ गठबन्धनबाट टिकट नपाउने भएपछि पार्टी परिवर्तन गरेर एमालेबाट टिकट लिएका हुन् ।

एमालेले प्रतिनीधि सभा सदस्याका लागि देव नारायण थारु एकल नाम सिफारिस गरेको थियो । मियाँ एमाले जसपा गठबन्धनबाट प्रतिनीधि सभा सदस्यमा उठेपछि चौधरीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाईएको छ । ०७४ को निर्वाचनमा २२२७५ मत ल्याएर निर्वाचित हुँदा थारु २०६०७ मत ल्याएर दोस्रो स्थानमा थिए । पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई प्यारासुटबाट ल्याएर पार्टीले प्रतिनीधि सभा सदस्यमा उठाएको भन्दै एमालेको एउटा पक्ष असन्तुष्ट छ ।


देवनारायणलाई सहानुभूतिको भोट खसेपनि मियाँलाई त्यो भोट नखस्न सक्ने कतिपयको आंकलन छ । मियाँले मुस्लिम भोट र दक्षिणी क्षेत्रको भोट बढी पाउने आशा एमालेले गरेको छ । तर एमाले र जसपामा आवद्ध नरहेका जनताले मियाँलाई नै भोट दिन्छन भन्ने कुनै ग्यारेन्टी पनि छैन ।
प्रदेस सभा ‘ख’ मा पनि एमालेकै उम्मेदवारलाई उठाउनुपर्नेमा जसपासँग तालमेल गरिएको भनेर असन्तुष्टी जनाउने पक्षको भोट पनि बहकिन सक्ने एमालेकै नेताहरु बताउँछन् ।

यी सबै कमीकमजोरीको फाईदा किसानले लिन सक्नेछन् । सत्ता गठबन्धनले ईमान्दारिता देखाएको खण्डमा किसानकै पल्ला भारी रहेको विश्लेषण सामाजिक अगुवाहरुले गर्न थालेका छन् । १ लाख ५ हजार ९ सय ७० मतदाता रहेको बारा निर्वाचन क्षेत्र नं ४ मा एमालेको आन्तरीक कलहको फाइदा समेत किसन श्रेष्ठले उठाउने देखिन्छ ।

बेरोजगारी समस्या हल गर्छु : किसान श्रेष्ठ


०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट तनहुँ १ मा नेपाली काग्रेसका नेता रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका किसान श्रेष्ठ यसपटक बारा जिल्लालाई आफ्नो कर्मथलो बनाएर काम गर्ने सोचका साथ सत्ता गठबन्धनको तर्फबाट टिकट लिन सफल भएका थिए ।

सत्ता गठवन्धनको बारा ४ (ख) बाट प्रदेश सभा सदस्यका उमेदवार लोसपाका प्रभावशाली नेता जितेन्द्र सोनलको साथले मधेसी, मुस्लिम भोट पनि किसानले पाउने संभावना बलियो देखिन्छ ।

किसान स्वयं आत्मविश्वासी, प्रष्ट वक्ताका रुपमा परिचित छन् । सरकारका मन्त्री समेत भईसकेका उनको केन्द्रमा राम्रो पकड छ । उनले निर्वाचन अघि आफ्नो क्षेत्रमा नै ५० करोडको सडक योजना ल्याएर शिलान्यास गराएका छन् ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री हुँदा जीतपुर सिमरामा २ सय बेडको श्रमिक अस्पताल स्थापना गर्ने भनेर नेपाल सरकार मन्त्री परिषदबाट सैद्धान्तिक सहमति दिलाउन सफल भए । अस्पतालका लागि जीतपुर सिमरा उपमहानगरले पाँच विगाहा जमिन पनि उपलब्ध गराईसकेको छ ।

बारा ४ नं क्षेत्रको पथलैयादेखि वीरगञ्जसम्मको अव्यवस्थित करिडोरलाई व्यवस्थित गर्ने, उद्योगीलाई विश्वासमा लिएर स्थानीय बेरोजगार युवालाई रोजगारी दिलाउने, बाउ बाजेको पालादेखि लालपुर्जा बिहिन पथलैयाबासी, अव्यवस्थित बसोबासी सुकुम्बासी, घरबार बिहिन दलितललाई व्यवस्थापन गर्ने वाचा गरेका छन् ।

निर्वाचित भईसकेपछि मधेस प्रदेशको मात्रै नेपालकै विकासले कोल्टे फेर्ने अन्र्तराष्ट्रिय विमानस्थल, फाष्ट ट्रयाक, सिमरा सेजलाई पूर्ण सञ्चालनमा ल्याउनेगरि ध्यान केन्द्रित गर्ने उनले बताए ।

अधुरा काम पुरा गर्छु : एकवाल मियाँ


निवर्तमान सांसद एकवाल मियाँ लोकतान्त्रिक समाजवादी पार्टीबाटै पूनः जनताको माझमा जान चाहान्थे । तर गठबन्धनको समीकरण बदलिएपछि लोसपाको भागमा बारा–४ परेन ।

आफ्नो सिट सुरक्षित हुन नसक्ने देखेपछि मनोनयन दर्ताको अघिल्लो दिन असोज २२ गते लोसपा परित्याग गरे । बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाको टिकट पाउने शर्तमा एमाले अध्यक्ष केपी ओली निवास बलकोट पुगेर टीका लगाए । उनलाई एमालेले टिकट दिएपछि बारा एमालेमा किचलो देखिएको छ ।

एमाले नेता पुरुषोत्तम पौडेलले सामाजिक सञ्जाल मार्फत रोष व्यक्त गरे । यस विचमा एमालेका प्रदेश कमिटिका सदस्यहरु सहित ९७ जना नेता कार्यकर्ताले एमाले पार्टी परित्याग गरे । पार्टी भित्र कार्यकर्तालाई चित्त बुझाउन नसक्दा मियाँ अप्ठारोमा परेका छन् ।

बारा–४ मा पाँच बर्षमा आफूले गर्न नसकेका अधुरा योजना पुरा गर्दै जनताको सेवा गर्न आफूले पूनः उम्मेदवारी दिएको मियाँको भनाई छ । पार्टी परिर्वतन गरेर के भयो र ? जनताको सेवा गर्ने कुरा महत्वपूर्ण हो ।

मेरो पहलमा प्रसौनीमा पोलिटेक्निकल कलेज स्थापना गरेको छु । उनले भने ‘देशभरीका विद्यार्थी बारा आएर टेक्निकल शिक्षा लिन सकुन भन्ने मेरो सोच हो मैले त्यसलाई पुरा गर्नुछ । सडक, खानेपानी, शिक्षाको क्षेत्रमा अधुरा काम काम गर्नुपर्नेछ । त्यसैले पूनः उम्मेदवारी दिएको हुँ ।’ उनले मन्दिरमा विवाह मण्डप र मस्जिदको कम्पाउन्ड वाल बनाउन बजेट दिएको वताए ।

यस्तो छ स्थानीय तहको मत परिणामको स्थिती

बारा क्षेत्र नं ४ मा विश्रामपुर गाउँपालिकाको पाँचै वटा वडा, फेटा गाउँपालिकाको १ देखि ४ सम्मका ४ वटा वडा, परवानीपुर गाउँपालिकाका ५ वटै वडा, प्रसौनी गाउँपलिकाकाको ७ वटा वडा, जीतपुरसिमरा उपमहानगरपालिकाको १–१० र १९–२४ सहित १६ वटा र कलैया उपमहानगरपालिकाको वडा नं १७ पर्छन् ।

यसरी जिल्लाका विभिन्न पालिकाका ३८ वटा वडा यो क्षेत्रमा समेटिएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनलाई नियाल्दा ३८ मध्ये १४ वटा वडा जितेर एमाले सबैभन्दा ठूलो दल छ । काँग्रेसले ८, माओवादी केन्द्र, लोसपा र जसपाले ४÷४ वटा वडामा जीत निकाल्दा नेकपा एसले ३ र विवेकशील साझाले १ वटा वडामा जीत निकालेको छ ।

गठबन्धनको हिसाब मिलाउँदा सत्ता गठबन्धनको १९ र एमाले–जसपा गठबन्धनले १८ वटा वडामा जीत निकालेको छ । भने विवेकशील साझाले एउटा वडा जितेको छ ।
स्थानीय तहको निर्वाचनमा बारा ४ मा ७७ हजार ९२५ मत खसेको देखिन्छ । जसमध्ये एमालेले सबैभन्दा बढी २१ हजार १६७ मत ल्याएको छ भने नेपाली काँग्रेसले १६ हजार ५८९, लोसपाले १५ हजार ०८०, माओवादी केन्द्रले ९ हजार १३, नेकपा एकीकृत समाजवादीले ५ हजार १९, विवेकशील साझाले १ हजार ६२६ र राप्रपाले १ हजार १५४ मत पाएको देखिन्छ । स्वतन्त्र उम्मेदवार, जनमत पार्टी, नेपाल सुशासन पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत दलसँग २ हजार ५५८ भोट खसेको देखिन्छ ।
स्थानीय निर्वाचनको मत भारलाई जोडेर हेर्दा सत्ता गठबन्धनसँग ४५ हजार ७०१ र एमाले–जसपा गठबन्धनसँग २६ हजार ८५८ मत देखिन्छ ।

जीतपुर सिमरा उपमहानगरपालिकामा ४ वटा वडा मात्रै जित्न सकेको माओवादी केन्द्रले मेयर जितेको तथ्यले मतदाताले निर्वाचनमा व्यक्ति हेरेर पनि मतदान गर्छ भन्ने देखाउँछ । यसर्थ चुनावी प्रचार प्रसारका क्रममा हु्ने आमसभा र घरदैलो कार्यक्रम मार्फत उम्मेदवारले जनतालाई कत्तिको प्रभाव पार्न सक्छन्, त्यसले पनि नजिता कसको पक्षमा जान्छ भन्नेमा भूमिका खेल्छ ।


सम्बन्धित समाचार