Logo

३ कार्तिक, वीरगञ्ज ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरा स्थित त्रिवेणी स्पेनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

झडपमा परी १० जना नेपाल प्रहरीका जवान घाईते भएका छन् । ९ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था मध्यम छ । घाईतेहरुको टाउको, छाती, अनुहार हात, खुट्टामा चोट लागेको छ । घाईते हुनेहरुमा प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिना, प्रहरी निरीक्षक राज किशोर साह तेली, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल घाईते छन् ।

सशस्त्र प्रहरी हवल्दार दिपक गुरुङ, प्रहरी जवानहरु राजेश पूनः मगर, सदाम हुसेन, रुदल कुमार यादव, सुबोध कुमार यादव, सुरेन्द्र महतो घाईते छन् । उनीहरुलाई अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डक अस्पताल वीरगञ्जमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गन बाट १ राउण्ड फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीको सिल ढाल १३ थान फुटेको, बेदको लाठी ९ थान भाँचीएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिवेणी स्पिनिङका सि. इ.ओ., जिएम, प्रशासन अधिकृत लगायत ५ जना लाई प्रशासन कक्षबाट उद्दार गरेर सिमरा ल्याईएको छ । झडपमा संलग्न रहेको आरोपमा ६ जना पुरुष मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मजदुर पक्षमा के कति क्षति भयो त्यसको विवरण खुलाएको छैन ।

दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच दुरी बढेको थियो ।

प्रहरीले घटनामा संलग्न कारखानामा कार्यरत ६ जना मजदुरलाई नियन्त्रणमा लिएको छ । पर्सा वीरगंज महानगरपालिका वडा नंं ३२ बस्ने संजय कुमार यादव, प्रसौनी गाउँपालिका वडा नंं ५ बस्ने बृजकिशोर साह, कलैया उपमहानगरपालिका वडा नंं १६ बस्ने राजेश यादव, जितपुर सिमरा उपमहानगरपालिका वडा नंं १० वस्ने अकलेश पाण्डे, वीरगंज महानगरपालिका वडा नंं २२ का ओम प्रकाश मिश्र र पर्सा पर्सागढी नगरपालिका वडा नंं. ५ बस्ने मनोज यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार