Logo

वीरगञ्जका सडकमा कुकुरको बिगबिगी

६ कार्तिक, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकामा केही समय यता सडकमा कुकुरको बिगबिगी देखिएको छ । कुकुरको बथान महानगरका सडकमा दौडिएका कारण नगरवासीले हैरानी खेप्नु परेको छ ।

बिहान, दिउँसो साँझ सडकमा सयौँ कुकुरहरूले यात्री, सर्वसाधारण, सवारी चालकलाई समेत अप्ठ्यारोमा पार्दै आएका छन् । भएभरका कुकुर सडक जम्मा भएर झगडा गर्न, भुक्न थाले पछि कोलाहलको मच्चिने गरेको वीरगञ्ज रानीघाटका राधेश्याम कलवारले बताए ।

राती काम परेको खण्डमा घरबाहिर निस्कन समेत मुस्किल हुने गरेको स्थानीयले बताएका छन् । साँझमा केटाकेटीलाई घरबाहिर निस्कँदा टोकिदेला भन्ने त्यतिकै डर हुने उनको भनाई छ ।

महानगरमा कुकुर जता सुकै झगडा गरिरहेको, बिरामी र घाइते अवस्थामा देखिने गरेका छन् । कुकुरको वृद्धि नियन्त्रणमा महानगरले ध्यान नदिँदा कुकुरको संख्यामा वृद्धि भएको सरोकारवालाले बताएका छन् ।

सामुदायिक कुकुर व्यवस्थापन नहुँदा नगरवासीले सास्ती खेप्नु परेको छ । कुकुरको कारण मोटरसाइकल चालक सबैभन्दा बढी जोखिममा छन् । कुकुरले मोटरसाईकल चालकलाई लखेट्ने र झम्टने गरेका छन् । सडकमा हिडने पैदल यात्री समेत कुकुरका कारण असुरक्षित महशुस गरेको सर्वसाधारणको भनाई छ ।

वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले सामुदायिक कुकुर नियन्त्रण सम्वन्धमा वीरगञ्ज महानगरपालिकासँग तत्काल कुनै योजना नभएको वताए । उनले सडकमा छोडिएका कुकुरलाई मार्न नमिल्ने भएकोले यसको नियन्त्रणका लागि बन्ध्याकरण गर्ने सोचमा महानगरपालिका रहेको बताए ।

एउटा हेटौडाको संस्थाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्छौ भनेर प्रस्ताव गरेका छन, प्रमुख प्रशासकिय अधिकृत पौडेले भने “अब जाडो लागेपछि उनीहरु आउछु भनेका छन पुष, माघ पछिनै यो अभियान शुरु होला ।”

मानिसहरुले घरपालुवा कुकुर रोगी, बुढो र अपाङ्ग भएपछि सडकमा छोडने गरेका छन यसलाई नियन्त्रण गर्न पनि कुकुरमा कर लगाउने सोचमा महानगरपालिका रहेको पौडेलले बताए । अव हुने नगरसभाबाट यस सम्वन्धि कानुन बनाउने सोचमा छौ, पौडेले भने “घरमा कुकुर पाल्ने सडकमा दिसा पिसाव गराउने ब्यक्तिलाई अधिकतम दण्डजरीवाना तोक्ने गरि कानुन बनाउन लागिएको छ ।”

ब्यक्तिले कुकुर पाल्दा वीरगञ्ज महानगरपालिकामा दर्ता गर्ने र घर पालुवा कुकुरको रेकर्ड राख्नेगरि मापदण्ड बनाउन लागेको पौडेलले बताए ।“कसले कसरी कुकुर पालेको छ वा सडकमा छोडेको छ भन्ने कुराको यकिन गर्न नसकिने भएकोले कुकुर पाल्ने ब्यक्तिको तथ्यांक राख्नेगरि मापदण्ड बनाउन लागिएको हाे,” उनले भने ।


सम्बन्धित समाचार