Logo

वीरगञ्ज स्थित कृषि औजार कारखाना तश्वीर ः प्रणय साह

९ कार्तिक, वीरगञ्ज ।
वीरगञ्ज स्थित कृषि औजार कारखानाले एक बर्ष भित्र उपकरण उत्पादन गर्ने योजनाका साथ कारखाना सञ्चालनको प्रक्रिया शुरु गरेको छ । विगत ३० वर्षदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनको जिम्मेवारी पाएको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कारखाना सञ्चालनको प्रकृया शुरु भएको जनाएको छ ।

कृषि औजार कारखाना सञ्चालन गर्न नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव नवराज ढुंगाना अध्यक्ष रहनेगरी सञ्चालक समिति गठन गरेको छ । उक्त समितिको वीरगञ्जमा सम्पन्न पहिलो बैठकले एक बर्ष भित्रमा उत्पादन शुरु गर्नेगरि कारखाना सञ्चालन प्रकृयालाई अगाडी बढाउने निर्णय गरेको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए ।

समितिको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी गर्ने, कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, मेशिन औजारहरुको मर्मत संभार गर्नुपर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति आवश्यक लागत लाग्छ त्यस विषयमा अध्ययन गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

एक वर्ष भित्र कारखाना सञ्चालनमा ल्याउन आवश्यक निर्णय गरिएको अर्थ मन्त्रालयका सह सचिव एवं वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानाले बताए । २०७९ असोज ११ गते संघीय सरकारले कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिईसकेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले पनि एक वर्ष भित्रमा अत्यावश्यक प्रयोगमा आउने ८ देखि १० प्रकारका कृषि औजार उपकरणहरु उत्पादन थाल्नेगरि काम अघि बढाइएको बताए । ३० वर्षसम्म थन्किएर बसेको कारखाना पूर्ण रुपमा सञ्चालनमा ल्याउन समय लाग्छ, पुनले भने “कारखाना भित्र रहेको जंगल र झाडी सफाई गर्न स्थानीय स्वयंसेवकको आवश्यक पर्ने भएकोले कुनै समूह वा ब्यक्तिहरुलाई सहयोग गरिदिनका लागि आविश्कार केन्द्रले आब्हान गरेको छ ।”


सम्बन्धित समाचार