१३ कार्तिक, वीरगञ्ज । छठको मुख्य दिन आज तराई, मधेश र पहाडका विभिन्न क्षेत्रमा रहेका नदि, पोखरी, तलाउ लगायतका जलाशयमा पुगेका ब्रतालुहरुले साँझ सुर्यलाई अर्घ दिएका छन् । निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएका हुन् ।
सूर्य भगवानको आराधाना गर्दै भक्तजनहरुले आफ्नो मनोकांक्षा सुनाउँछन र पुरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सँझीया घाटे’ पनि भनिन्छ । ब्रत नबसेका घरका सदस्यले दिउँसै दौरामा छठी माता, शिरसोप्ताको पुजा र सुर्यलाई अर्घ दिने सामाग्री छठघाटमा पु¥याएका हुन्छन् । फर्कने बेलामा पनि उनीहरुले नै बोकेर ल्याईदिने चलन छ ।
कोशी भर्ने भाकल गरेकाहरुले घरमा फर्किएर छठी माताको आराधाना गर्दै कोशी भरेका छन् । कोशी भर्ने विधिमा परिवारका सबै सदस्य सामेल हुन्छन् । घाटमा नगएका परिवारका सदस्य पनि कोशी भर्ने कार्यमा सहभागी हुने गरेका छन् । छठ पर्वमा व्रत गरेदुःख र दरिद्रताबाट मुक्ति पाइन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ ।
परिवारको सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै छठको ब्रत बस्ने गरेको वीरगञ्ज महानगरपालिका–३० लालपर्साकी लिलावती देविले बताइन । सोमबार बिहान सप्तमीका दिन सबेरै उठेर ब्रतालुले नुहाउँछन् । पूनः घरका पुरुष सदस्यको सहयोगमा दौरा लिएर घाटमा पुग्छन् । शिरशोप्तामा पुजा गर्छन । उदाउँदो सुर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ ।
घर फर्किएपछि ईनार, गाई लगायत चलनचल्ती अनुसार सबैको पुजा अर्चना गरिन्छ । ब्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आर्शिवाद लिन्छन् र सानालाई आर्शिवाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर ब्रत तोडेर मात्रै भोजन गर्ने चलन छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।
छठघाटको सजावट लाखौको खर्च
छठ पर्वका लागि वीरगञ्जका छठ घाटहरुलाई सजाएर स्थानीयले झकिझकाउ बनाएका छन् । छठको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिनका लागि नदी, पोखरी, तलाउको किनारहरुमा बनाइएको छठ घाटलाई लाखौं खर्च गरेर सजाइएको हो । वीरगञ्जको घडीअर्वा पोखरीको सजावट र व्यवस्थापनमा यस वर्ष १६ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ ।
घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष हिरालाल साह कानुका अनुसार घडीअर्वा छठघाट सजावट र व्यवस्थापनमा १६ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी मुर्ली पोखरी छठघाट सजावटका लागि ११ लाख खर्च गरिएको मुर्ली छठघाट पूजा व्यवस्थापन समितिका अध्यक्ष रमेश साह कानुले बताए । आदर्शनगरस्थित स्वीमिङ पुल छठघाटमा सजावट सहितको व्यवस्थापनमा ४ लाख रुपैयाँ खर्च भएको मुर्ली जालानले जानकारी दिएका छन् ।
वीरगञ्जको रानीघाटस्थित छठघाट सजावटमा पनि ५/६ लाखको हाराहारीमा खर्च भएको छठपूजा व्यवस्थापन समितिले जनाएको छ । यसका साथै नगवा, छपकैया, रामगढवा, अशोकवाटिका, बजार छपकैया, श्रीपुरलाई पनि सजाएर झकिझकाउ बनाइएको छ ।
मौलिक पर्वमा आडम्बर बढनु चिन्ता : सस्कृति विद्
प्रकृति पुजनको पर्व मानिने छठमा खुल्ला आकाशमुनि बसेर नै सूर्यको आराधना गरिन्छ । अहिले पनि ब्रतालुहरु अर्घ दिनका लागि खुल्ला आकाश मुनि जाने गर्छन् । तर हाल छठघाटमा आकर्षक पण्डाल लगाउने, झिलिमिली विद्युतीय बत्ती बाल्ने, फूलले सजाउने, भजन संगीतका लागि ठूला साउण्ड सिस्टम जडान गर्ने क्रम बढ्दै गएको छ । जसका कारण छठ पर्व झन् खर्चिलो भएको धर्म संस्कृतिका जानकारहरुको तर्क छ । सामाजिक अभियन्ता प्रकाश थारुले दुई दशक यता साजसज्जा गर्ने प्रवृत्ति मौलाएको बताए ।
यसैबीच सँस्कृति विद्हरुले मौलिक पर्वमा आडम्बर बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मौलिकता भन्दा पनि देखासिकी हावी भएको उनीहरुले बताएका छन् । सजावटको नाममा अस्वस्थ प्रतिस्प्रर्धा विकास हुनु चिन्ताको विषय भएको उनीहरुको भनाइ छ । भोजपुरी भाषा सँस्कृतिमा विद्यावारीधि गर्नुभएका प्राध्यापक डाक्टर विश्वम्भर शर्माले सजावट गर्नु नराम्रो नभए पनि भड्किलो हुँदा पर्वको मौलिकता लोप हुने चिन्ता व्यक्त गरे ।
सँस्कृतिविद् प्राज्ञ उमाशंकर द्विवेदीले परम्परागत रुपमा छठ पूजा साधारण हिसाबले मनाउने पर्व भएको बताए । पछिल्लो समयमा छठमा वैभव प्रदर्शन गर्ने कुप्रथाको विकास हुँदै गएको उनको भनाइ छ । छठ पर्वमा सुथनी, बोडी, मुला, अदुवा, नरिवल जस्ता कृषिजन्य बस्तुलाई प्रसाद मानिन्छ । अर्थात यो साधारण हिसाबले मनाइने पवित्र र प्रकृतिको पुजन हो, तर पछिल्लो समयमा तडक भडक वैभव प्रदर्शन हुन थालेकाले मौलिकता हराउछ कि भन्ने चिन्ताको विषय हो उनले भने ।
अव्यवस्थित बजार, मूकदर्शक महानगर
वीरगञ्जमा आज बिहानपनि छठ पर्वका लागि आवश्यक पर्ने सामान किनबेच गर्नेको घुइँचो लागेको छ । घण्टाघर, मीनाबजार, रेल्वे रोड टाँगा स्टेसन, माइस्थान, मुर्ली लगायतका ठाउँमा सामान्य दिनमा भन्दा बढी भिडभाड देखिएको हो । व्यवस्थित बजारको अभावको कारणले पैदल हिडने फूटपाथ र मेनरोड र भित्री सडक गल्लीहरुमा समेत पसल थापेको कारण मानिसलाई आवत जावतमा समस्या देखिएको श्रीपुरका सुवास साहले भने ।
बिहान घण्टाघरदेखि माइस्थानसम्म पार्किङ गर्न राखिएको मोटरसाइकल दुई–तीन गुणा बढेको थियो । छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जमा समान्य दिनको तुलनामा मानिसहरुको चहल पहल बढेको व्यापारीहरुले बताएका छन् । छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरु वीरगञ्ज र आसपासका गाउँबाट बजार आउने गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाले बजारलाई व्यवस्थित नगरेको कारण मानिसहरुले दुख झेल्नु परेको वीरगञ्ज १४ पिपराका उपेन्द्र पटेलले बताए । आज साँझ हुने मुख्य छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामग्री, माटोका तथा अन्य भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल हुने गरेको हो । माटोका भाडा र बाँसको चोयाबाट बनेका सामाग्रीहरु बिक्रिका लागि राखिएका थिए ।
बोटसहितको अदुवा, पिडालु, पात सहितको मुला, वेसार, बोडी, नरिवल, स्याउ, सुन्तला, केरा लगायतका कृषिजन्य उपज हुने गर्दछ । अर्घका लागि कसैली –सुपारी), इलाइची, ल्वाङ, सिन्दुर लगायतका समान चाहिन्छ ।
वडा दशैंमा जस्तै छठ पर्वको बजार पनि वीरगञ्जको घण्टाघर, माईस्थानको क्षेत्रका मुख्य सडकमै लाग्ने गरेको छ । त्यसैले मानिसहरुको चहलपहल पनि यहि क्षेत्रमा बढी हुने गर्छ । लत्ता कपडाका लागि भने वीरगञ्ज सिटी मार्केटमा बढी भिड देखिएको छ । छठ पर्वका लागि आवश्यक सामाग्री सहित वीरगञ्ज–१६ नगवाकी शिव कुमारीले विगतमा जस्तै माइस्थान मन्दिर जाने सडकमा पसल राखेको तर माईस्थानमा यसपटक मानिसको चहलपहल घटेका कारण खासै व्यापार नभएको गुनासो गरिन् ।
आयातित सामानको कारण मौलिकता हराउदै
छठमा पूजा गर्न माटोले बनेका सामान चाहिने भएकाले माटोका भाँडाको बिक्रि बढी हुने गरेको छ । माटोले बनेको दियो, हात्ती, चौमुख, ढकना, खपरी, कोशी भर्न प्रयोग हुने एकहारा, चौबिसा लगायत भाँडाको माग बढ्ने गरेको हो । दीपावली र छठमा माटोबाट बनेका सामग्री बढी बिक्री हुने भएपनि माटोको लागत बढ्दा आम्दानीमा कमी आएको गुनासो कुमाल समुदायले बताएका छन् । माटोको भाँडा बनाउने पहेंलो माटो पहिले सित्तैमा पाइने गरेको थियो । तर पछिल्ला वर्षमा पैसा तिरेर खरिद गर्नुपरेपछि लागत बढेको पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेका बिरेन्द्र पण्डितले बताए ।
गाउँभन्दा टाढा गएर प्रति टेलर ३ हजार रुपैयाँ तिरेर माटोे ल्याएको उनको भनाई छ । कुमाल जातिभन्दा फरक जातिका मानिसले समेत माटोको भाँडा किनबेच गर्ने गरेकाले पनि आम्दानी घटेको हो उनले भने । माटोको भाडा बनाएरै जीविकोपार्जन गर्दै आएकोमा बढ्दो आधुनिकतासँगै आम्दानी घटेको बताउँदै उनले चाडपर्वको बेला मात्रै बढी बिक्री हुने गरेको बताए ।
मेसिन नभएकाले भाँडा बनाउन दाउरा बढी खपत हुने गरेकोले स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेका थियौ तर पाइएन उनले भने । वीरगञ्ज–२१ का नन्दकिशोर पण्डितले देशमा तीन तहको सरकार भए पनि कुमाल जातिको पुख्र्यौली पेसा संरक्षणमा कसैले चासो नदिएको गुनासो गरे । कुमालेको पुख्र्यौली पेसा संरक्षणको लागि मेयर, वडाध्यक्ष लगायतका जनप्रतिनिधिसँग माग गरेको छौ तर सुनुवाई भएको छैन ।