Logo

फायल तस्विर

१६ कार्तिक वीरगञ्ज । भारत सरकारले धानको निर्यातमा लगाएको २० प्रतिशतको भंसार शुल्क नेपालको लागि पुनः शुन्य प्रतिशत कायम गरेको छ । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) सोमबार नोटिफिकेशन जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शुन्य प्रतिशत कायम गरेको जनाएको छ ।

भारत सरकारले गत भदौ २३ गते नोटिफिकेशन जारी गर्दै नेपालको लागि समेत धानको निर्यातमा २० प्रतिशत भंसार शुल्क कायम गरेको थियो । उक्त नोटिफिकेशन जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल चामल, दाल, तेल सङ्घले नेपाल तथा भारतका सम्बद्ध निकायहरुमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भंसार शुल्क पुनः शुन्यमा झार्नको लागि पहल गर्दै आएका थिए ।

भारत सरकारले धानको निर्यातमा २० प्रतिशत भंसार शुल्क लगाए पछि नेपाली चामल उद्योगहरु बन्द हुने सङ्घारमा पुगेको र नेपाली आम उपभोक्ताहरु महँगो चामल उपभोग गर्न बाध्य हुनु परेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल चामल, दाल, तेल संघले यसमा पहल गर्न सरकारलाई दवाव दिदै आएको संघका अध्यक्ष डा.सुवोध गुप्ताले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल चामल, दाल, तेल सङ्घले नेपाल तथा भारत सरकारको सम्बद्ध निकाय समक्ष निरन्तर पत्राचार र प्रत्यक्ष भेटघाट गरी विद्यमान समस्या राख्दै आएको परिणामस्वरुप भारत सरकारबाट अन्य मुलुकहरुको लागि उक्त प्रतिबन्ध कायम राख्र्दै नेपालको लागि मात्र धानको निर्यातमा पुनः शुन्य भंसार शुल्क कायम गरिएको गुप्ता जानकारी दिए ।

गत वर्ष नेपालले भारतबाट साढे ५ लाख मेट्रिक टन धान आयात गरेको र यो वर्ष ६ लाख मेट्रिक टन आयात गर्न पाउने अनुमति पाएकोबाट नेपालका चामल उद्योगहरुको विकास, विस्तार र प्रबद्र्धन हुने र नयाँ चामल उद्योगहरु स्थापना हुने साथै आम उपभोक्ताहरु समेत सस्तो मूल्यमा गुणस्तरीय चामल प्राप्त गर्न पाउने डा. गुप्ताको भनाई छ ।

Indian Notification


सम्बन्धित समाचार