Logo

१६ कार्तिक, सेढवा पर्सा । जंगली जनावरको त्रास र खेतीमा गरेको लगानी उठाउन नसकेपछि पर्साका ग्रामिण क्षेत्रका किसानहरु माछा पालन व्यवसाय तिर आकर्षित हुन थालेका छन । धान, मकै, गहुँ लगायत कृषिजन्य बस्तु उत्पादन हुने जमिनमा अहिले पानीले भरिभराउ पोखरी देख्न पाइन्छ ।

किसानले समयमा पानी, मल, विउको अभाव बर्षेनी झेल्दै आइरहेका छन, अहिले त झन सरकारले किसानलाई कुनै सुविधा दिन सकेको छैन कसरी उत्पादन बढाउन सकिन्छ र ? जिराभवानी गाउँपालिका वडा नंं. ४ का किसान दुर्गा राउत भन्छन, “सरकारले मल विउमा अनुदान दिन्छ भन्छन, तर हामी किसानले कहिल्यै सरकारले अनुदान दिएको छ भनेर अनुभूत गर्न पाएका छैनौ ।” चाहिएको बेला किन्न त पाइदैन अनुदानको कुरा परै जाओस उनले भने ।

पर्सा राष्ट्रिय निकुञ्जबाट बस्तीमा आउने हात्ति, गैडा, चितल, बदेलले किसानले लगाएको बाली नष्ट गर्छन । निकुञ्जसँग जोडिएको ठाउँमा विद्युतिय तारबार गरेको छ तर कहिले काही तार छलेर जनावर बस्तीमा पस्ने गर्दछ । पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरीले भने “जंगली जनावर बस्तीमा पस्नबाट रोक्नेगरी विद्युतिय तारबारलाई अझै ब्यवस्थित गर्दैछौं ।”

पर्साको जिराभवानी र पटेर्वासुगौलीका किसनहरु धान, मकै, गहुँ, तोरी लगायतका खेतीबालीलाई बिस्थापित गर्दै माछापालन व्यवसायमा लाग्नेहरुको सख्या बढन थालेको छ । इन्धनको मूल्यमा बृद्धि, बीऊ बिजन, रासायनिक मल, किटनाशक औषथी, सिचाईका समस्या, उत्पादन गरिएको अनाजको उचित मूल्य नपाएका कारण किसानहरुले खेतीलाई बिस्थापित गर्दै माछापालनमा लागेका हुन ।

जिराभवानी गाउँपालिका वडा नंं. ४ का किसान दुर्गा राउत आफ्नै पोखरीमा तस्विर : ओमप्रकाश चौधरी

पटेर्वासुगौली गाउपालिका वडा नं ५ देउरिया निवासी किसान भागवती चौधरीका अनुसार धान, गहु तथा अन्य बाली उत्पादनमा बिभिन्न समस्याका कारण दुई बिघाको खेतीयोग्य जमिनमा पोखरी खनेर माछापालन गरी रहेका बताए । धान, मकै र गहुँबाट लगानी समेत उठाउन सकिएन त्यसैले माछापालन तर्फ लागियो अहिले राम्रो आम्दानी भएको चौधरीको भनाइ छ ।

कृषिका लागि अन्य सामग्री उपलब्ध भएपनि खेतबारीमा काम गर्ने जनशक्तिको अभाव छ, चौधरीले भने “काम गर्ने मान्छे पाउँन मुस्कील छ कसरी उत्पादन बढाउन सकिन्छ ।” जिराभवानी गाउँपालिकामा करिव ९० विघा जमिनमा माछा पोखरी निर्माण गरिएको र त्यसबाट किसानले मनग्य आम्दानी गरेको गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले बताए ।

पटेर्वासुगौली गाउँपालिका पनि ६० विघा जमिनमा माछा पोखरी खनिएको पालिकाका पशु शाखा प्रमुख कृष्ण थापाले बताए । पटेर्वा सुगौलीका ४१ घरपरिवार माछा पालन ब्यवसायमा लगेको थापाले जानकारी दिए ।

यता पर्सागढी नगरपालिका वडा नं ३ बागवानाका किसान हरिन्द्र चौधरीले खेतीलाई बिस्थापित गरी माछापालनमा लगेका छन । उनले अहिले तीस बिघा पोखरीमा माछापालन गरिरहेका उनले बताए । उनले बार्षिक दुई करोड रुपैया मूल्य बराबरको माछा उत्पादन गरिरहेको चौधरीले बताए ।

उनले उत्पादन गरेका माछा जिल्लामा मात्र नभई हेटौडा, चितवन, काठमाडौं पोखरा लगायतका ठूला शहरहरूमा पठाउने गरेको बताए । खेतीमा बार्षिक दुई बाली मात्र उत्पादन गर्न मिल्ने तर माछापालन व्यवसायमा बार्षिक चार पटक माछा उत्पादन गर्न सक्ने भएकाले किसानहरु यस व्यवसायमा लागिएहेको चौधरीको भनाइ छ ।
त्यस्तै छिपहरमाई गाउपालिका वडा नं ४ बन्जारीका नरेश साहले तीन बर्षदेखि माछापालन व्यवसाय संचालन गर्दै आएको बताए । बजारमा माछाको माग उच्च रहेकाले उत्पादन मात्र गरे व्यापारीहरुले पोखरीबाट नै माछा खरिद गरी लैजाने गरेको साहले बताए । अहिले साहले करिब पाच बिघा पोखरीमा बार्षिक २० लाख रुपैयाभन्दा बढिको माछा उत्पादन गर्दै आएका छन ।


सम्बन्धित समाचार