Logo

वीरगन्जमा क्रियाशिल परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले कृषि औजार कारखानमा सरसफाई कार्य शुरु गर्दै

१६ कार्तिक, वीरगञ्ज । नेपाल सरकारले कृषि औजार कारखानाको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले हस्तान्तरण गरेको छ । बुधावार नेपाल सरकारका प्रतिनिधिहरुले केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई कारखानाको साचो हस्तान्तरण गरेका हुन ।

वीरगञ्ज स्थित कृषि औजार कारखानामा भएका सामाग्रीको लगत संकलन र सरसफाई शुरु गरिएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो । टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामाग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको छ ।

केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् । आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन सहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हुन् । कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक लागत स्टिमेट गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल ईन्जिनियर प्रज्वल कोजुले औजार उपकरणको अवस्था चेकजाँच गरिरहेको बताए । ६० वर्ष पुरानो टेक्नोलोजी भएकोले केहि मेशिन औजारको अपग्रेड गर्नु आवश्यक देखिएको छ उनले भने, “कतिपय यत्तिकै पनि चलाउन सकिने अवस्थामा उपकरण रहेको देखिन्छ ।” कारखाना सञ्चालक समितिका सदस्य एवं कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्र बहादुर कार्कीका अनुसार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले प्राविधिक मुल्यांकन गरिरहेको बताए ।

आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने र दुई तिन बर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्टस नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनले बताए ।

यसै विच कृषि औजार कारखाना सञ्चालका लागि सरसफाई कार्य शुरु गरिएको छ । कारखाना सञ्चालनको लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले कारखानालाई चाडै सञ्चालनमा ल्याउनका लागि सबैपक्षलाई सहयोग गर्न अपिल गरेका थिए ।

महावीर पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत दुई अघि स्वंयसेवी रुपमा कारखाना सरसफाईको लागि विभिन्न संघ संस्थाहरुलाई अपिल गरेका थिए ।

उनको अपिल पछि वीरगन्जमा क्रियाशिल परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले बुधवार देखि कृषि औजार कारखानमा सरसफाई कार्य शुरु गरेका हुन् । फाउण्डेशनका युवाहरुले कृषि औजार कारखानामा रहेका सामानहरु व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरु उखेलेर सफा गरेका छन् ।

परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् ।


सम्बन्धित समाचार