Logo

वीरगञ्ज, १६ कार्तिक । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा ३६ सदस्यीय प्रतिनिधि मण्डल व्यापारिक भ्रमणको सिलसिलामा बुधवार सिंगापुर र भियतनामको लागि प्रस्थान गरेको छ ।

भ्रमणको क्रममा द्विपक्षीय व्यापार विस्तार प्रबद्र्धन गर्ने, निर्यात भइरहेको नेपाली वस्तुहरुको परिमाणमा वृद्धि गर्ने, नेपाली वस्तुहरु निर्यातको लागि बजारको पहिचान गर्ने, संस्थागत सम्बन्ध विस्तार गरिने, दुवै देशका उद्योगी, व्यवसायीहरुसँग बी टु बी मिटिङ्ग गरी वैदेशिक लगानीको लागि आग्रह गर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष डा. गुप्ताले जानकारी दिए ।

भ्रमणको क्रममा नेपालको भौगोलिक अवस्थिति, उद्योग, व्यापारको अवस्था, हाइड्रोपावर र पर्यटनको सम्भावना, शिक्षा, सूचना प्रविधिका बिषयहरु उजागर गरिने अध्यक्ष डा. गुप्ताले भनाई थियो । त्यस्तै नेपालमा रहेको खनिज पदार्थ, जडिबुटी, प्राकृतिक छट्टा, शिक्षा अध्ययन केन्द्र निर्माण गर्न सकिने सम्भावनाको बारेमा पनि चर्चा गरिने र यस्ता क्षेत्रहरुमा लगानीको लागि आग्रह गरिने उनले बताए ।

सिंगापुरले अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीमा गरेको प्रगति र भियतनामले सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेकोले आफ्नो देशमा समेत लागु गर्नको लागि त्यस्ता सूचना प्रविधिको बारेमा बुझिने, ती मुलुकहरुमा रहेका इण्डष्ट्रियल पार्कहरुको अवलोकन गरिने, तिनीहरुले उत्पादनका लागि अपनाएका उत्पादन प्रक्रियाका बारेमा अध्ययनका लागि सिंगापुर र भियतनामका उद्योग वाणिज्य संघहरुसंग छलफल गरिने भएकोले सङ्घबाट भइरहेको व्यापारिक भ्रमण हाम्रो लागि कोशेढुङ्गा साविक हुने डा. गुप्ताको भनाइ छ ।

वीरगंज उद्योग वाणिज्य संघका सचिवालयले आयोजना गरेको एक कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल तथा द्धितीय उपाध्यक्ष हरि गौतमले शुभकामना मन्तव्य प्रकट गरेका थिए । भ्रमण टोलीका सदस्यहरुलाई फूलमाला, खादा तथा टीका लगाई भ्रमणको सफलताको शुभकामना दिंदै विदाई गरिएको थियो ।


सम्बन्धित समाचार