Logo

मधेसमा मुख्य राजनीतिक दलहरु विच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जनमोर्चा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिच गठबन्धनगरी चुनावी मैदानमा छन भने नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिचमा चुनावी तालमेल गरि सत्ता गठबन्धनका विरुद्ध मोर्चा कसेर लागिपरेका छन् ।

केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गरेका पाँचदलिय सत्तारुढ दलबिचको गठबन्धन तोडेर उपेन्द्र यादवले एमालेसँग चुनावी गठबन्धन गर्ने निर्णयले मधेसमा नयाँ तरङ्ग पैदागरेको छ । मधेस आन्दोलनमा मधेसी जनतामाथि दमन गरेको र संविधान निर्माणका सावलमा मधेसका मुद्दाहरुमा असहमति जनाउदै मधेसी जनताको अपमान गरेको, नागरिकता विद्येयकमा मधेसी जनताको भावनाको कदर नगरेको भन्दै मधेस केन्द्रित राजनीतिक दल, नागरिक समाज र जनस्तरमा समेत एमाले अध्यक्ष केपी ओलीको कडा आचोलना हुदैँ आएको छ ।

गत स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरु विच चुनावी गठबन्धन गर्ने सहमति भएपछि मधेस केन्द्रित दलका नेता कार्यकर्ता आफ्नो दलबाट टिकट पाइने संभावना नदेखेर दलबदलमा लाग्न थाले । टिकटका आकाङ्क्षी देखिएका र एमालेमा संभावना हुनसक्ने आकाल गरिरहेका जसपा र लोसपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न थाले । स्थानीय तहको चुनावको मिति घोषणा हुनु अघिदेखिनै मधेसमा एमाले पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको थियो । अधिकांश जनता समाजवादी पाटी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद तथा नेता कार्यकर्ता पार्टी परित्याग गरी केपी ओलीको हातबाट टिका थाप्न लालायित हुन्थ्ये ।

मधेस अन्दोलनपछि एमालेको जनमत कमजोर हुनपुगेको थियो । एमाले विभाजनले मधेसमा केपी ओली समूह अस्थित्वको संकटमा थियो । एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधिले माधव नेपाललाई साथ दिएपछि एमाले झन कमजोर बन्न पुगेको थियो । मधेसमा एमालेलाई पुर्नजागरण गर्नेकाम प्रभु साहले गरे । उनले माओवादी पार्टीबाट बिद्रोह गरेर केपी ओलीलाई साथ दिए । मधेसमा उनीसँग नजिक भएका माओवादीका अधिकांश नेता कार्यकर्ता प्रभु साहसँगै गए । गत स्थानीय निर्वाचनमा मधेस केन्द्रित दलका प्रभावशाली नेता कार्यकर्ता समेत प्रवेश गरापछि एमाले पुरानै अवस्थामा फर्किन्छ की भन्ने आकलन गर्न थालिएको थियो । स्थानीय तहको निर्वाचनमा त्यसको राम्रै लाभ एमालेले लिन सफल भयो ।

प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भएपछि केपी ओलीले आफ्नो ध्यान मधेसमा केन्द्रित गर्न थाले । एमालेका अधिकांश पुराना नेता माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा गएपछि मधेसमा एमाले भित्र नेतृत्वको संकट थियो । मधेस केन्द्रित दलमा भएका नेता कार्यकर्ताले आफ्नो दलमा भन्दा एमालेमा गएमा अवसर पाउने संभावना देखेर एमाले प्रवेशको लहर चल्न थाल्यो । मधेशमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जातिवादी प्रवृत्ति र पैसावालालाई टिकट दिने उनको चरित्रसँग परिचित नेता कार्यकर्ताहरुले विकल्पको रुपमा एमाले रोजेका थिए । पछिल्लो अवस्थामा अन्य राजनीतिक दलको तुलनामा एमाले बलियो बन्दै गएको देखिन्थ्यो । एमाले प्रति अन्यदलका नेता कार्यकर्ताको आकर्षण बढन् थलेपछि एकीकृत समाजवादीमा भएका केही नेता कार्यकर्ताले पछिल्लो चरणमा माधव नेपाललाई छोडेर एमाले फर्किएका छन ।

केपी ओली प्रवृत्तिका विरुद्ध मोर्चाबन्दी गरेका वामपन्थी राजनीतिक दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवदी), जनमोर्चा र राष्ट्रिय जनता पार्टी (जसपा)ले लोकतान्त्रिक शक्ति नेपाली काग्रेससँग तालमेल गरेर निर्वाचनमा जाने र प्रतिनिधि र प्रदेश सभामा सिट बाडफाँडको अन्तिम तयारी गरेको अवस्थामा उपेन्द्र यादवले सत्ता गठबन्धनबाट बाहिरिने निर्णयमा पुगे । उनले नेकपा एमालेसँग सिट तालमेल गर्दा बढी फाइदा हुने अवस्था देखेर केपी ओलीसँग चुनावी गठबन्धनगरेर जाने सहमती गरे ।

केपी ओली र उपेन्द्र यादव विच चुनावी तालमेलको सहमतिपत्र बाहिरिए लगत्तै मधेसमा दुवै दलभित्र हलचल पैदा भयो । जसपा पार्टी परित्यागगरी एमाले प्रवेश गरेका अधिकांश नेता कार्यकर्ता यो निर्णयबाट असन्तुष्ट देखिए । उपेन्द्र यादवको ज्यादती सहन नसकेर जसपा छोडेर एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुले गठबन्धन हुदाँ पुन जसपाका उमेदवारलाई भोट दिनुपर्ने अवस्था सृजना भयो । यता एमालेमा टिकटको दावी गरेर वसेका नेताहरुले गठवन्धनमा जसपालाई छोड्नुपर्ने अवस्था आउदा राजनीतिमा पछाडी परिने भय देखिन थाल्यो । यो निर्णयले दुबै दलभित्र किचलो पैदा हुदै जादा उमेदवारी दर्ताको दिन एमालेबाट प्रभु साहले विद्रोह गरेर स्वतन्त्र उमेदवार दिए । उनले आफ्नो प्रभाव रहेका अधिकांश जिल्लाका निर्वाचन क्षेत्रमा स्वतन्त्र रुपमा उमेदवार उठाए । प्रभु साहको एमाले विरुद्धको उमेदवारीले मधेसमा एमालेलाई ठूलै नोक्सान हुने देखिन्छ । एमालेका पुराना नेता कार्यकर्ताले पनि जसपालाई छोडेको केही क्षेत्रमा स्वतन्त्र उमेदवारी दिएका छन् ।

यता जनता समाजवादी पार्टी (जसपा)मा पनि आन्तरिक विवाद देखिएको छ । जसपा छोडेर एमालेमा प्रवेश गरेका केही व्यक्तिलाई एमालेले उमेदवार बनाएपछि जसपाका कार्यकर्ता उनीहरुलाई मत दिने पक्षमा देखिदैनन् । स्थानीय निर्वाचनमा देखिएको एमाले–जसपा विचको तिक्तताले पनि दुबै दलविचको गठबन्धन मजबुत हुन सक्ने आधार बनिसकेको छैन् । जसपाले उठाउदै आएको मधेसका केही सावलमा एमालेको धारणा फरक छ । एमालेको मधेस सम्वन्धि नीतिमा जसपा सहमत हुन सक्ने आधार नहुदाँ यो गठबन्धनलाई जनस्तरमा स्वभाविक मान्न दुबैपक्षका कार्यकर्ता तयार छैनन् । जसपाले मुख्यरुपमा उठाउदै आएको नागरिकता लगायतका सवालमा कार्यकर्ता तहमा एमालेले चित्तबुझ्दो जवाफ दिनसक्ने अवस्था देखिदैन । जसका कारणले एमाले–जसपा दुबै पार्टीले क्षति ब्यर्होनु पर्ने देखिन्छ ।

मधेसमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको गठबन्धन एमाले र जसपाका लागि मुख्य चुनौती हो । मधेस सरकारको नेतृत्व गरेको जसपाले गत निर्वाचनमा गरेका प्रतिबद्धताअनुसार काम गर्न सकेन । मुख्यमन्त्री लालबाबु राउतको सरकारले बेटी पढाउ बेटी बचाउँ कार्यक्रमको नाउँमा करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । साइकिल खरिद काण्डमा अख्तियारले केही कर्मचारी र खरिदकर्तालाई समेत दोषी करार गरेको छ । जसपाको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका लालबाबु राउतले अघिल्लो निर्वाचनको समयमा जनताको बिचमा वाचागरेका ८० प्रतिशत काम हुनसकेनन् । मुख्यमन्त्री राउत भ्रष्ट्राचारमा लिप्त भएको आरोप उनैका पार्टीका नेता कार्यकर्ताले लगाउने गरेका छन् । मधेस आन्दोलनको मुख्य केन्द्र रहेको वीरगञ्जलाई प्रदेशको राजधानी बनाउने उद्घोष गरेका राउतले मुख्यमन्त्री भएपछि आफ्नो प्रतिबद्धता पुरा हुन सकेन् ।

कसको प्रभाव कस्तो छ ?

प्रतिनिधिसभा तर्फ मधेसका ३२ मध्ये एमालेले १५ स्थानमा उमेदवार दिएकोछ । जसमा १२ स्थानमा जसपा एमाले विच गठबन्धन छ भने ३ वटा निर्वाचन क्षेत्रमा दुबै दलका उमेदवार चुनावी मैदानमा छन् । एमालेले मधेसका ७ वटा निर्वाचन क्षेत्रमा नवप्रवेशीलाई टिकट दिएको छ । धनुषा क्षेत्र नं. २ मा जसपा छोडेर एमालेमा प्रवेश गरेका उमाशंकर अरगरियालाई उमेदवार बनाएको छ । त्यस क्षेत्रमा जसपाले अरगरियालाई स्वीकार नगर्ने अडान सहित आनन्द यादवलाई चुनावी मैदानमा उतारेको छ ।

धनुषाकै क्षेत्र नंं ३ मा एमालेका रघुवीर महासेठलाई जसपाले नछोडने अडान लिएपछि महाजन यादवलाई उमेदवार बनाएको छ । सर्लाहीको क्षेत्र नंं १ मा जसपालाई दिने सहमतिका विरुद्ध एमालेका नेता मानबहादुर खड्काले स्वतन्त्र उमेदवारी दिएका छन । उनी लालबन्दी नगरपालिकाका पूर्व मेयर हुन । उनलाई एमाले सहित अन्य राजनीतिक दलका कार्यकर्ताले समर्थन गरेको देखिन्छ । बाराको क्षेत्र नं. ३ मा एमालेले ज्वाला कुमारी साहलाई उमेदवार बनाएको छ । त्यस क्षेत्रमा जसपाले रामबाबु यादवलाई खडा गरेको छ । मधेसमा एमाले—जसपा गठबन्धन भनिएपनि अधिकांश निर्वाचन क्षेत्रमा दुवै पार्टीका नेता कार्यकर्ताले एकले अर्कोलाई स्वीकार गर्ने अवस्थामा देखिदैन । जनस्तरबाट अनुमोदन हुन नसकेको यो गठबन्धन धरापमा पर्ने अवस्थामा आइपुगेको छ ।

२०७४ को निर्वाचनमा मधेशमा प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका ३२ स्थानमा उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमले ९, महन्थ ठाकुरले नेतृत्व गरेका राष्ट्रिय जनता पाटीले १०, नेपाली काग्रेसले ६, नेकपा माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ स्थानमा बिजयी हासिल गरेका थिए । एमालेबाट सिराह क्षेत्र नं. ३ मा लिलानाथ श्रेष्ठ र धनुषाको क्षेत्र नं. ३ बाट रघुवीर महासेठ मात्र विजयी भएका थिए । बामगठबन्धनबाट उठेका एमालेका अधिकांश उमेदवार नेपाली कांग्रेस, जसपा र लोसपाका उमेदवारसँगको प्रतिस्पर्धामा पराजित भएका थिए ।

यसपटक पनि एमालेलाई पुरानै विरासत कायम गर्न धौ धौ पर्ने भएको छ । जसपासँगको गठबन्धनले उसलाई नोक्सान पुग्ने देखिन्छ । एमाले अध्यक्ष केपी ओलीको मधेसलाई हेर्ने दृष्टिकोण मधेसी जनताको नजरमा मधेस विरोधी छ । त्यसैले पनि जसपाका कार्यकर्ताले सजिलै गठबन्धनमा मत दिन्छन भन्ने विश्वास गर्न सकिदैन । एमाले भित्रपनि जसपा जातिबादी पार्टी भएको बुझाइका कारण एमालेका कार्यकर्ता र समर्थकले जसपालाई भोट दिने पक्षमा देखिदैनन् ।

यता एमालेले नवप्रवेशीलाई प्राथमिकतामा राखेर टिकट वितरण गरेको छ । पर्सा क्षेत्र नं. ४ मा माओवादीबाट आएका जालिम मियाँलाई टिकट दिएको छ । उनको राजनीतिक, सामाजिक र पारिवारिक पृष्ठभूमि बुझेका जनताले उनलाइ सजिलै स्वीकार गर्ने अवस्था देखिदैन । बारा क्षेत्र नं. ३ मा माओवादीबाट एमाले प्रवेश गरेकी ज्वाला कुमारी साहलाई टिकट दिएको छ । उक्त निर्वाचन क्षेत्रमा जसपाका रामबाबु यादवको उमेदवारी परेको छ त्यसैले त्यस क्षेत्रमा सत्ता गठबन्धनको तुलनामा एमाले जसपाका उमेदवार कमजोर देखिन्छन ।

बारा क्षेत्र नं. ४ मा लोसपाबाट एमाले प्रवेश गरेका एकवाल मियाँलाई टिकट दिएको छ । उनी मनोनयन दर्ताको अघिल्लो दिन एमाले प्रवेश गरेर टिकट लिन सफल भएका थिए । त्यस क्षेत्रमा नेकपा एमालेका पुरुषोत्तम पौडेल जनस्तरमा लोकप्रिय नेता हुन उनलाई टिकट नदिएकोमा एमाले भित्र यो बिषयले आन्तरिक कलह पैदा गरेको छ । रौतहट क्षेत्र नं. १ मा लोसपाबाट आएका अजय गुप्तालाई टिकट दिएको छ । उनी गौर नगरपालिकाका पूर्व मेयर हुन । महोत्तरी क्षेत्र नं. १ मा जसपाबाट एमाले प्रवेश गरेका लक्ष्मी महतो कोइरीलाई उमेदवार बनाएको छ । उनका छोरा जसपाबाट गौशला नगरपालिकाको मेयर छन् ।

जातिय भोट प्रभाव पार्न सक्ने आकलन गर्दै एमालेले उनलाई टिकट दिएको बुझिन्छ । महोत्तरी क्षेत्र नं. २ मा मधेसबादी दल समर्थक डाक्टर रामपरिक्षण यादवलाई उमेदवार बनाएको छ । मेडिकल चिकित्सक रहेका उनी २०७७ चैत्रमा एमाले प्रवेश गरेका थिए । धनुषा क्षेत्र नंं. २ मा जसपाबाट एमाले प्रवेश गरेका उमाशंकर अरगरियालाई उमेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट बिजयी भएका गरगरियाले आफ्नो विरासत कायम गर्न सक्ने अवस्थामा छैनन् । उनलाई पुराना एमालेका कार्यकर्ताले स्वीकार नगर्ने र जसपाबाट आनन्द यादवको उमेदवारी परेकोले उनी प्रतिस्पर्धामा आउन सक्ने अवस्थामा नरहेको बुझिन्छ ।

पछिल्लो अवस्थालाई विश्लेषण गर्दा मधेसमा सिराहा क्षेत्र नं. ३ का उमेदवार लिलानाथ श्रेष्ठ र बारा क्षेत्र नं. १ बाट अच्युत मैनाली सत्ता गठबन्धनका उमेदवार भन्दा अगाडी देखिन्छन् । धनुषामा रघुवीर महासेठको अवस्था नाजुक बन्दै गएको छ ।

सत्ता गठबन्धनका उमेदवार अगाडी

सप्तरी जिल्लाको क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट कांगेसका रामदेव साहतेली, एमाले जसपा गठबन्धनबाट जसपाका नवलकिशोर साह विचमा प्रतिस्पर्धा हुने देखिन्छ । माओवादीबाट अशोक मण्डल र काग्रेसका डा.रोहित पोखरेलले स्वतन्त्र उमेदवारी दिएका छन । उनीहरुले काटने मतलाई सत्ता गठबन्धनले जोगाउन सकेन भने जसपाका नवलकिशोर साह अगाडी आउने संभावना छ ।

सप्तरी क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय निर्वाचनको मतका आधारमा सत्ता गठबन्धन बलियो देखिन्छ । मधेस आन्दोलनको नेतृत्व गरेको नेता उपेन्द्र यादव ब्यक्तिगतरुपमा अन्य उमेदवार भन्दा बलिया छन । तर यसपटक उपेन्द्र यादवलाई त्यति सजिलो नभएको विश्लेषकहरुको भनाई छ । सप्तरीको क्षेत्र नंं. ३ र ४ म सत्ता गठबन्धनका उमेदवार अगाडी देखिन्छन् ।

सिराहाका क्षेत्र नं. १ मा नेपाली कांग्रेसका पद्मनारायण चौधरी र एमालेका रामशंकर यादव विच प्रतिस्पर्धा हुने संभावना छ । यो क्षेत्रमा पूर्व सांसद सरिता गिरीले पनि स्वतन्त्र उमेदवारी दिएकी छन । क्षेत्र नंं २ मा नेपाली काग्रेसकी चित्रलेखा यादव बलियो उमेदवार हुन । उनका प्रतिद्धन्दी जसपाका राजकिशोर यादव टिकट वितरणमा विवादमा मुछिएकोले उनको पार्टी भित्रको आन्तरिक किचलोको कारण सत्ता गठबन्धन बलियो देखिएको हो । क्षेत्र नं. ३ मा एमालेका उमेदवार लिलानाथ श्रेष्ठ दौडमा अगाडी देखिन्छन भने क्षेत्र नं. ४ मा जसपाका वीरेन्द्र प्रसाद महतो र नेकपा (एकीकृत समाजवादी)का धर्मनाथ प्रसाद साह विच प्रतिस्पर्धा हुने छ । जनस्तरमा लोकप्रिय नेताको रुपमा धर्मनाथ साह स्थापित भएकोले पैसाको बलमा चुनाव जित्न वीरेन्द्र महतोलाई सहज नहुने आकलन गरिएको छ ।

धनुषाको क्षेत्र नं. १ मा माओवादीका मातृका प्रसाद यादव जसपाका दीपक कार्की भन्दा अगाडी छन् । क्षेत्र नं. २ मा काग्रेसका रामकृष्ण यादव यसपटक बलियो उमेदवारको रुपमा प्रतिस्पर्धा गर्दै छन् । यहाँ सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का रामचन्द्र झा, जसपाका आनन्द यादव र कांग्रेसका रामकृष्ण यादव विच नै प्रतिस्पर्धा हुने देखिन्छ । अहिले सम्मको अवस्थामा एमालेका उमाशंकर अरगरियाको स्थिती तेश्रो नम्वरमा रहेको विश्लेषण गरिएको छ । क्षेत्र नंं. ३ मा लोसपाका अनिल झाको अवस्था राम्रो छ । नेपाली काग्रेसका नेता विमलेन्द्र निधीको साथ पाएका उनलाई एमाले भित्रको असन्तुष्ट पक्षको मत पाउने संभावना छ । एमालेका नेता रघुवीर महासेठले क्षेत्र नंं ४ बाट आफू र ३ बाट श्रीमतिलाई उमेदवार बनाएको कारण एमाले भित्र ठूलो पंक्तिले महासेठ परिवार विरुद्ध क्रस मत जाहेर गर्ने स्थितीमा पुगेको देखिन्छ ।

महोत्तरीको ४ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. ३ मा लोसपाका महन्थ ठाकुर र जसपाका हरिनारयण यादव विच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा तमलोपा पार्टी पुर्नगठन गरेका वृषेश चन्द्र लालले लोसपाको केही मत काटन सक्ने आकलन गरिएको छ । अन्य क्षेत्रमा भने सत्ता गठबन्धनका उमेदवार अगाडी देखिन्छन । सर्लाहीको क्षेत्र नंं १ मा जसपाका प्रमोद साह, लोसपाका राम प्रकाश चौधरी र एमालेबाट बिद्रोह गरेका मानबहादुर खड्का विच प्रतिस्पर्धा हुने छ । खड्कालाई एमाले , कांग्रेस, माओवादी स्थानीय कार्यकर्ताको समर्थन रहेकोेले उनी कडा प्रतिस्पर्धामा आउने सक्ने अनुमान गरिएको छ ।

क्षेत्र नं. २ मा माओवादीका महेन्द्रराय यादव, लोसपाका राजेन्द्र महतो र एमालेका राजनारायण साह विच प्रतिस्पर्धा भएपनि गठबन्धनको हिसावले महेन्द्रराय यादव अगाडी छन् । उनलाई अन्य पार्टीका जातिय समूहको मत पर्न सक्ने संभावना देखिएकोले यादव अरु भन्दा अगाडी देखिएका हुन । क्षेत्र नंं ३ मा गठबन्धनका नरेन्द्र साह र एमालेका हरि उप्रेती विच प्रतिस्पर्धा छ । क्षेत्र नं. ४ मा नेपाली काग्रेसका उमेदवार नागेन्द्र कुमार राय, जसपाबाट राकेश कुमार मिश्र, कांग्रेसका विद्रोही अमरेश कुमार सिंह र माआवादीबाट विद्रोही मधुमाला यादव विच प्रतिस्पर्धा हुने देखिन्छ । माओवादी पार्टीका नेता शिवपुजन रायले आफ्नी छोरी मधुमालालाई स्वतन्त्र उमेदवार बनाएका छन् ।

रौतहटका चारबटा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र गठबन्धनले सहयोग गरेका उमेदवार अगाडी छन् । क्षेत्र नं. १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र एमालेबाट गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता विच प्रतिस्पर्धा हुदैछ । यो निर्वाचन क्षेत्रमा माधव नेपाल बलिया उमेदवार हुन । क्षेत्र नंं. २ मा नेपाली कांग्रेसले मोहमद आफताबका छोरा मोहमद फिरदोस आलमलाई चुनावी मैदानमा उतारेको छ । त्यस क्षेत्रमा जसपाबाट शैलेन्द्र साह र स्वतन्त्र उमेदवार किरण साह पनि आलमसँग प्रतिस्पर्धा गर्दैछन ।

क्षेत्र नंं. ३ मा एमालेको टिकट त्यागेर स्वतन्त्र उमेदवार बनेका प्रभु साह र स्वतन्त्र उमेदवार ओमप्रकास जयसवाल विच प्रतिस्पर्धा हुदैछ । प्रभु साहले सत्ता गठबन्धनले सहयोग गर्ने निर्णय गरेका छन् । क्षेत्र नंं ४ मा नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सीना र एमालेका उद्धव रेग्मी विच प्रतिस्पर्धा हुनेछ । यो निर्वाचन क्षेत्रमा पनि गठबन्धनका उमेदवार तिमिल्सीना अगाडी देखिन्छन ।

बाराको क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उमाकान्त चौधरी र एमालेका अच्यूत प्रसाद मैनाली विच प्रतिस्पर्धा छ । उमाकान्त चौधरी मन्त्री भएपछि कार्यकर्ताको मनोभावना बुझ्न नसकेको र पार्टी भित्रको आन्तरिक द्धन्द समाधान गर्न नसकेको कारण एमालेका अच्यूत मैनाली चुनावी दौडमा अगाडी देखिन्छन । क्षेत्र नं. २ मा जसपाका रामसाय प्रसाद यादव र माओवादीका शिवचन्द्र प्रसा कुशवाहा विच प्रतिस्पर्धा हुनेछ । नेपाली कांग्रेसको जातिय समुदायको भोट यादवलाई जाने संभावना देखिएकोले त्यस क्षेत्रमा जसपा अगाडी देखिन्छ ।

क्षेत्र नंं. ३ मा एमालेकी ज्वाला कुमारी साह, जसपाका रामबाबु यादव र लोसपाका लालबाबु सिंह भूइहार बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं. ४ मा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार (किसन) श्रेष्ठ र एमालेका एकवाल मियाँ विच प्रतिस्पर्धा हुनेछ । २०७४ को निर्वाचनमा लोसपाबाट निर्वाचित मियाँले मनोनयनको अघिल्लो दिन एमालेमा प्रवेश गरेर टिकट लिएको कारण पार्टी भित्र समेत उनको राम्रो अवस्था देखिदैन । केन्द्रमा पहुँच र गर्न सक्ने नेताको रुपमा किसन श्रेष्ठले जनतामा विश्वास हासिल गरेकोले अहिले सम्मको चुनावी रेसमा सत्ता गठबन्धन भारी देखिन्छ ।

पर्सामा के हुन्छ त ?

मधेशमा एमाले–जसपाको गठबन्धन भन्दा सत्ता गठबन्धन नै बलियो देखिन्छ । एमाले र जसपा बिच चुनावी तालमेल, पार्टी भित्रको आन्तरिक किचलो, उमेदवार छनौटमा देखिएको विवाद समाधान गर्न नसक्दा दुवै दललाई निर्वाचन जित्न सकस हुने देखिन्छ । मधेशमा एमालेका कार्यकर्ताले जसपाका उमेदवारलाई मतदिने वातावरण नभएको उनीहरुको भनाई छ । जसपाका कार्यकर्ताले पनि एमालेका उमेदवारलाई खुलेर सहयोग गर्छन भन्न सकिदैन । सहमति गरेका अधिकांश स्थानमा जसपाले बागी उमेदवारी दिएको छ ।

पर्साको निर्वाचन क्षेत्र नं. १ (क) को प्रदेश सभा सदस्यमा एमालेका विचारी यादवका विरुद्ध जसपाका जन्नत अंसारी उमेदवार बनेका छन् । उनलाई जसपाको तर्फबाट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उमेदवार प्रदीप यदावले उठाएको आरोप एमालेका कार्यकर्ताले लगाएका छन् । त्यसैगरी क्षेत्र नंं २ को (ख) मा पनि एमालेका उमेदवारको विरुद्ध जसपाले वागी उमेदवार उठाएको छ । उक्त निर्वाचन क्षेत्रमा जसपाकी नेतृ करिमा वेगम र रुपेशमान सिंहले उमेदवारी दिएका छन् । रुपेशमान वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका भाई हुन ।

पर्सा क्षेत्र नंं १ मा नेपाल कांग्रेसका पूर्व सभापति अजय द्धिवेदीले स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् । उनको उमेदवारीले दुबै गठबन्धनका उमेदवार सकसमा देखिन्छन् । द्धिवेदी पर्सा जिल्लाका शालिन र भद्र नेताको रुपमा चिनिन्छन् । नेपाली कांग्रेसको प्रभाव रहेको यस क्षेत्रमा कांग्रेसका कार्यकर्ताले अजय द्धिवेदीको पक्षमा खुलेर मत मागेका छन् । सत्ता गठबन्धनले लोसपाका नेता लक्षमणलाल कर्णलाई उमेदवार बनाएको छ तर उनलाई गठबन्धनबाट सहगोग हुने संभावना देखिदैन । एमाले र जसपा समर्थक कार्यकर्ताको सहानुभूति द्धिवेदीलाई रहेको देखिन्छ । यसपटक क्षेत्र नंं १ मा स्वतन्त्र उमेदवार द्धिवेदी बलियो उमेदवारको रुपमा अगाडी आउने संभावना छ ।

पर्साको क्षेत्र नं. २ मा कांग्रेसका अजय चौरसिया र जसपाका सुरेन्द्र प्रसाद कुुर्मी विच प्रतिस्पर्धा देखिन्छ । जनमतलाई हेर्ने हो भने यहाँ पनि कांग्रेसका चौरसियानै बलिया उमेदवार हुन । पर्सा क्षेत्र नंं. ३ मा नेपाली कांगेसका सुरेन्द्र प्रसाद चौधरी, एमालेका राजकुमार गुप्ता र सुशासन पार्टीको तर्फबाट राजकुमार यादव चुनावी मैदानमा छन् ।
पछिल्लो चरणमा एमालेका राजकुमार गुप्ताले स्थानीय र प्रदेशको टिकट वितरणमा रवैया देखाएको, स्थानीय निर्वाचनमा आफ्नै पार्टीका उमेदवार हराउन लागेको, पार्टी भित्रका कार्यकर्तालाई लडाउने र भिडाउने गरेको, दिनेश चौरसियाको हत्यामा संलग्नहरुलाई संरक्षण दिएको आरोप उनी माथि एमालेकै कार्यकर्ताले लगाउदै आएका छन् । नेपाल सुशासन पार्टीका उमेदवार राजकुमार यादवको पक्षमा जनमत राम्रो देखिन्छ । यसपटक नेपाली कांग्रेसले आफ्नो पुरानो विरासत फर्काउने अवसर पाएको छ । पार्टी भित्रका सवै गुट एकभएर सुरेन्द्र चौधरीको पक्षमा देखिएकोले कांग्रेसले नै जित्ने संभावना बढी छ ।

क्षेत्र नंं. ४ मा नेपाली कांग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँ विच प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले राम्रो जनमत देखाएको र कांग्रेसका रमेश रिजालको पक्षमा अन्य राजनीतिक दलका कार्यकर्ताको समेत सहानुभूति रहकोले रमेश रिजाल आफू जित्नेमा ढुक्क छन । जालिम मियाँको पृष्ठभूमिबाट परिचित त्यस क्षेत्रका जनताले उनलाई विश्वास गरिहाल्ने अवस्था देखिदैन । उनका परिवारका सदस्यहरु विभिन्न विवादमा मुछिएका घटनाले समेत मुस्लिम समुदायमा पनि उनको छवी राम्रो नभएकोले यसपटक यो क्षेत्रमा कांगेसले सजिलै बाजिमार्ने देखिन्छ ।


सम्बन्धित समाचार