Logo

२० कार्तिक, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा स्थपाना गरिएको निर्बाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएका वडाध्यक्ष पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्बाचन क्षेत्र नम्बर ४ को निर्बाचन अधिकृतको कार्यालयमा उनले ताल्चा लगाएर कर्मचारीहरुलाई भित्रै थुनेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसैबीच प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेपछि विरोधमा जीतपुर सिमरामा चक्का जाम गरेका छन् । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष गुप्तालाई प्रहरीले निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएपछि पक्राउ गरेको थियो । उनलाई रिहा गर्नुपर्ने माग गर्दै उनका समर्थकहरुले जीतपुरको मुख्य सडकमा चक्का जाम गरेका हुन् ।

वडा अध्यक्ष गुप्ताले वडा सदस्यलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर अराजकता मच्चाएको उपमहानगरपालिका प्रमुख राजन पौडेलले जानकारी दिए । घरायसी कामको लागि बाहिर जानुपर्ने कारण देखाउदै वडा सदस्य सीता उप्रेतीलाई कार्तिक १६ गते कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको पत्र बोधार्थ जीतपुर सिमरा उपमहानगरपालिकालाई पठाएको थियो ।


सम्बन्धित समाचार