Logo

२२ कार्तिक, वीरगञ्ज । सिंगापुर उवासङ्घ र वीरगञ्ज उवासङ्घले निजीक्षेत्रको व्यापार तथा व्यापारिक गतिविधि प्रबद्र्धन गर्ने, द्विराष्ट्रिय व्यापार प्रबद्र्धनमा दुवै राष्ट्रका निजीक्षेत्रका व्यवसायीलाई सहयोग तथा सहजीकरण गर्ने तथा दुवै संस्थाको दिगो आपसी हित हुने कार्य गर्ने उद्देश्यले एक सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज सिंगापुरमा आयोजना भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरुसँग भेटघाट तथा छलफल पछि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पत्रमा वीरगञ्ज उवासङ्घको तर्फबाट अध्यक्ष डा. गुप्ता तथा सिंगापुर उवासङ्घका तर्पmबाट अध्यक्ष चिउ बून थोङ्गले हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा दुवै संस्थाले द्विराष्ट्रिय व्यापार व्यवसायसँग सम्बन्धित सूचना आदान प्रदान गर्ने, संयुक्त लगानी तथा साझेदारी व्यापारलाई प्राथमिकतमा दिने, प्राविधिक विशेषज्ञको व्यवस्था गर्ने, दुवै संस्थाले व्यापारिक उद्देश्यका लागि दुवै राष्ट्रको भ्रमण गर्ने, बैठक, सेमिनार तथा छलफल कार्यक्रमको आयोजना गर्ने र द्विराष्ट्रिय सम्बन्धलाई अझै मजबुत बनाउन विभिन्न प्रस्तावहरु ल्याउने जस्ता कुराहरु उल्लेख गरिएको छ ।

सिंगापुर र भियतनामले अंगिकार गरेको विकास नीति नेपालले पनि कसरी अनुशरण गर्ने सन्दर्भमा गरिएको दुई राष्ट्रको अध्ययन अवलोकन भ्रमण ऐतिहासिक हुने र यसले भविष्यमा नेपालमा सार्थक योगदान पु¥याउने विश्वास रहेको वीउवासङ्घका अध्यक्ष डा. गुप्ताले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो राष्ट्रिय पहिचानलाई बदलिँदो समयसँगै विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो संस्थागत सम्बन्ध विस्तार गरेर पर्सेली अर्थकर्मीहरुलाई भविष्यमा आ–आफ्नो व्यापारिक क्रियाकलापको प्रबद्र्धन गर्ने दिशामा नयाँ अध्याय थपिएको अध्यक्ष गुप्ताले बताए ।

उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, कार्यसमितिका सदस्यहरु सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।


सम्बन्धित समाचार