Logo

तस्विर : सामाजिक सञ्जालबाट लिइएको हो

डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधवार बिहान २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्कँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले भूकम्पले पदम बोहराको घर भत्किँदा बोहराका श्रीमति भगवतीदेवी, छोरी सीता र छोरा हर्कको मृत्यु भएको जानकारी दिए ।

स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् ।

‘स्थानीय प्रेम बोहराको घर भत्कँदा बोहरासहित उहाँको छोरी तुलसी र उहाँको घरमा बस्न आएकी धनसरी बोहराको घटनास्थलमै मृत्यु भएको छ । एक जना बालकको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते ५ जनालाई उपचारको लागि अस्पताल पठाइएको छ । गए राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ ।

राति नै ९ बजेर ५६ मिनेटमा पनि ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । लगातारको भूकम्पले जोखिममा रहेका घर बिहान भत्किएको प्रहरीको भनाइ छ । आज बिहान बाजुराको खण्डभ्यू केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

ठूला भूकम्पपछि साना परकम्प आउँने जोखिम लामो समयसम्म रहने भएकाले सतर्कता भने अपनाउनुपर्ने केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताए ।


सम्बन्धित समाचार