Logo

२३ कार्तिक, वीरगञ्ज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका पूर्व मन्त्री प्रदीप यादवलाई आफ्नो विरासत जोगाउन मुस्किल हुने भएको छ ।

०७४ सालको चुनावमा पर्सा क्षेत्र नं १ को प्रतिनीधि सभा सदस्यमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रदीप यादव विजयी भएका थिए । उनले यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा उमेदवार बनेका छन । अघिल्लो निर्वाचनमा मधेसका जनताका विच वाचा गरेका अधिकांश काम उनले पुरा गर्न सकेनन् ।
यादवलाई टक्कर दिन नेपाली कांग्रेसका पूर्व सभापति अजय द्विवेदीले पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएका छन् ।

सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णलाई उठाएको छ । गठबन्धनबाट चुनावी मैदानमा रहेका कर्णले यादवको विरासत तोड्न नसक्ने देखेपछि गठबन्धन दलका अधिकांश नेता कार्यकर्ताको समर्थन समेत अजय द्विवेदीमा रहेको पाइन्छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले समेत प्रदीप यादवको दम्भ तोडनका लागि उनका विरुद्ध एकठाउँमा उभिने संकेत देखाएका छन ।

०७४ मा यादव २१ हजार एकसय २५ मत ल्याएर निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले १६ हजार ४ सय ८१ मत पाएका थिए । क्षेत्र नं १ ले मधेस आन्दोलनको केन्द्र वीरगञ्जको १९ वटा वडा समेटेको छ । तत्कालिन समयमा मधेस आन्दोलनको नेतृत्व गरेका दुईवटा प्रमुख मधेसीदल (संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल) एकै ठाउँमा उभिएका थिए ।

दोस्रो संविधान सभा निर्वाचनमा आफूलाई पराजित गरेर संविधान सभा सदस्य बनेका एमालेका विचारी यादवलाई ५ हजार ४ सय ४१ मत सहित तेस्रो स्थानमा खुम्च्याउन सफल भएका यादवले अहिले एमालेको भागमा परेको पर्सा १ को (क) मा प्रदेशसभा सदस्य पदका लागि एमालेका उमेदवार विचारी यादवलाई साथमा लिएर हिडेका छन् । तर विचारी यादवको विरुद्ध आफ्नो दलबाट जन्नत अंसारीलाई उमेदवार बनाएको कारण एमाले भित्र प्रदीप यादवका विरुद्ध ठूलो जनमत देखिन्छ ।

२०७४ सालको जस्तो यस पटक प्रदीप यादवलाई जित्न सजिलो छैन । उनले पाँच बर्षको कार्यकालमा जनताको जिवनस्तर उकास्ने खालका कुनै योजना र बजेट ल्याउन सकेका छैनन् । उनले आफ्नो संसदीय निर्वाचन क्षेत्रबाट प्राप्त रकम अधिकांश धर्मशाला, मठ, मन्दिर र मस्जिदहरुमा खर्च गरेका छन ।

गत निर्वाचनमा जनतासामू गरेका अधिकांश बाचा पुरा गर्न नसकेको, अन्य राजनीतिक दलका नेताहरुलाई अपमानित हुनेगरी व्यवहार गरेको, जनमुखी भन्दा प्रचारमुखी काममा मात्र ध्यान दिएको, आफ्नै पार्टीको मेयर हुदाँ समेत वीरगंजमा अउने बजेट रोकिदिएको, मन्त्री नबनाउदा आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउन र पार्टी कार्यालय तोडफोड गर्न लगाएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

जनस्तरमा समेत पहिला जस्तो क्रेज देखिदैन उनको । अधिकांश एमालेका नेता कार्यकर्ताले उनलाई भोट दिने पक्षमा देखिदैनन् । स्थानीय निर्वाचनमा एमालेका कार्यकर्ताले भोग्नु परेको पीडाको बदला लिने पक्षमा उनीहरुको बिचार समाजिक सञ्जालहरुमा आएको पाइन्छ ।

नेपाली कांग्रेसबाट विद्रोहगरी स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदी कमजोर नेता भने हैनन् । नेपाली काँग्रेस पार्टीमा लामो समय लागेर जिल्ला सभापति भईसकेका उनी सालिन नेताको रुपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिरेका द्विवेदी पहिलो संविधान सभामा निर्वाचित भएका थिए । दोस्रो संविधान सभामा उनी पराजित भए । वीरगञ्ज महागनरको पूर्व उप मेयर समेत रही सकेका द्विवेदीलाई ०७४ सालमा पार्टीले मेयरमा उठाएको थियो । तर उनी पूर्व मेयर विजय कुमार सरावगीसँग पराजित भएका थिए । काँग्रेस पार्टीका मात्रै नभएर स्वच्छ राजनीति र विकास चाहानेहरुको उम्मेदवार आफू भएको दावी द्धिवेदीको छ ।

‘नेपाली काँग्रेसका मात्रै हैन, जो समाजमा राम्रो राजनीति होस, भन्ने चाहन्छन उनीहरुले यसपटक छलछाम गर्ने, जनतालाई अध्यारोमा राखेर झुटको खेतीगर्ने, म मात्रै सबै हुँ भन्ने दम्भी र व्यक्तिवादी चरित्र भएका व्यक्तिलाई राजनीतिबाट विदा दिनुपर्छ भन्ने जनताको भावना देखिन्छ ।’ द्धिवेदीले भने म तीनै नागरिकको उमेदावर हुँ जसले स्वच्छ राजनीतिक चरित्रलाई अगाडी बढाओस भन्ने चाहना राखेका छन ।’

आम जनताको मर्मका लागि लड्ने व्यक्ति विद्यार्थी कालदेखि नै चिनिएको व्यक्ति भएकोले जनताले आफूमाथि न्याय गर्ने विश्वास उनको छ । ‘यहाँका जनता गलत राजनीतिको शिकार भएका छन्, कोरोना महामारीको समयमा नारायणी अस्पताल किन र कसको कारणले बन्द भयो ? दुरदर्शिता थिएन । तुरुन्त फोटो खिच्ने र फेसबुकमा प्रचार गर्ने प्रवृत्ति देखियो । कठिन समयमा सडकमा आएर नारायणी अस्पताल कसले खुलायो ?’ उनले भने ‘शिक्षाको, खेतीको होस वा सडकको समस्या होस जहाँ जनताको समस्या छ म त्यहाँ म पुगेको छु ।

म एक पल्ट सांसद भएँ, म पछि दुई दुई जना सांसद भईसकेका छन् । गन्ति गर्नुहोस् उनीहरुले कतिवटा पुल बनाए ? नेपाली काँग्रेसको सरकार थिएन, बजेट पनि कम आउँथ्यो । त्यो बेलामा पुल बनाएँ, जगरनाथपुरदेखि मिलनचोकसम्म पीच रोड बनाए, यी नै जनताले मलाई विश्वास गर्ने आधार हो, द्विवेदीले भने ।

मेरा प्रतिस्पर्धीसँग सोध्नु होला उनी पाँच बर्षमा सांसद र केही समयका लागि मन्त्री भएर यहाँका जनताको जीवनस्तर उकास्न कस्तो कार्यक्रम ल्याए वा कस्ता खालका विकास निर्माण गरे भन्ने कुरा अहिले सम्म जनताको विचमा सार्वजनिक गर्न सकेका छैनन् । उनीसँग जनताको विचमा जाने कुनै एजेण्डा नभएको दावी द्विवेदीको छ । पाँच बर्षको अवधिमा संसदीय बिकास कोषको रकम धर्मशाला, मठ मन्दिर, मस्जित, छठघाट, टावर लाइट लगायत अनुत्पादक क्षेत्रमा लगानी गरेको देखिन्छ ।

२०७४ मा पर्सा क्षेत्र नं ४ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् लक्ष्मणलाल कर्ण । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट २० हजार ७ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला पनि उनले पार्टी संगठनको बलमा चुनाव जितेको भन्दा पनि काँग्रेस भित्रको असन्तुष्टीको फाईदा लिएको बताईन्छ ।

यस पटक सत्ता गठबन्धनको समर्थनमा पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा उठेका कर्णको आफ्नै संगठन कमजोर अवस्थामा छ । स्थानीय तहको निर्वाचनमा राजेशमान सिंहले पार्टी छोडेपछि लोसपा कमजोर बन्न पुग्यो । सत्ता गठबन्धनबाट विद्रोह गरेका नेपाली काग्रेसका पूर्व सभापति अजय द्विवेदी स्वतन्त्र उमेदवारको रुपमा मैदानमा छन् ।

कर्णको कमजोर संगठन, गठबन्धनको साथ नपाउनु र टिकटका वेला पार्टी भित्रको आन्तरिक समस्या हल गर्न नसक्नुले उनको जित्ने आधार कमजोर वन्दै गएको देखिन्छ ।

लोसपाका महानगर कमिटि अध्यक्ष ओम प्रकाश सर्राफले क्षेत्र नं १ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । लोसपामा युवालाई वाईपास गर्न खोजिएको कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेदवार बनेका किरणमान डंगोल जनताको घरदैलोमा पुगेका छन् । यस क्षेत्रमा राप्रपाको राम्रो जनाधार नभएकोले उनी प्रतिस्पर्धामा आउने संभावना देखिदैन ।


सम्बन्धित समाचार