२७ कार्तिक, वीरगञ्ज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तर्फ मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रमा पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका ४ जनाले जित निकाल्न सक्ने आकल गरिएको छ ।
स्थलगत रुपमा गरिएको एक अध्ययनका अनुसार पर्सा क्षेत्र नं. १, बाराको २, रौतहटको ३ र सर्लाहीको निर्वाचन क्षेत्र नं. १ मा आफ्नो दलले टिकट नदिएपछि स्वतन्त्र रुपमा उमेदवारी दर्ता गरेका उमेदावरहरु प्रतिस्पर्धामा देखिएका हुन ।
मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा ५ सय ९१ जनाले उमेदवारी दिएकोमा २ सय ९८ जना स्वतन्त्र उमेदवार छन् । ती मध्ये ४ जना दलका उमेदवारसँग प्रतिस्पर्धामा रहेको देखिन्छ । चारै जना स्वतन्त्र व्यक्ति भने होइनन् । उनीहरुले गठबन्धनका कारण टिकट नपाउने भएपछि पार्टी भित्र विद्रोह गरेर उमेवाद बनेका हुन ।
पर्सा क्षेत्र नंं १ मा नेपाल कांग्रेसका पूर्व सभापति अजय द्धिवेदीले स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् । उनको उमेदवारीले दुबै गठबन्धनका उमेदवार सकसमा देखिन्छन् । द्धिवेदी पर्सा जिल्लाका शालिन र भद्र नेताको रुपमा चिनिन्छन् । नेपाली कांग्रेसको प्रभाव रहेको यस क्षेत्रमा कांग्रेसका कार्यकर्ताले अजय द्धिवेदीको पक्षमा खुलेर मत मागेका छन् ।
सत्ता गठबन्धनले लोसपाका नेता लक्षमणलाल कर्णलाई उमेदवार बनाएको छ तर उनलाई गठबन्धनबाट सहगोग हुने संभावना देखिदैन । एमाले र जसपा समर्थक कार्यकर्ताको सहानुभूति द्धिवेदीलाई रहेको देखिन्छ । यसपटक क्षेत्र नंं १ मा स्वतन्त्र उमेदवार द्धिवेदी बलियो उमेदवारको रुपमा अगाडी आउने संभावना छ ।
एमाले–जसपा गठबन्धनबाट उमेदवार बनेका प्रदीप यादवले पाँच बर्षको अवधिमा जनताको पक्षमा कुनै काम गर्न नसेको र विकास निर्माणका काममा समेत प्रतिशोधपूर्ण व्यवहार प्रर्दशन गरेको भन्दै अधिकांश दल उनीसँग रुष्ट बनेका छन् । यादवको हैकमवादी प्रवृत्तिका कारण बेलावखत अप्ठारोमा परेका एमाले, कांग्रेस लगायतका राजनीतिकदलहरुले यसपटक उनलाई दोहो¥याउने पक्षमा देखिदैनन् ।
सत्तागठबन्धनबाट लोसपाका नेता लक्षमणलाल कर्णले टिकट पाएपछि द्विवेदीले स्वतन्त्र उमेदवारी दिएका हुन । द्विवेदीलाई उनकै पार्टी नेपाली कांग्रेस, एमाले, लोसपा, माओवादी र एकीकृत समाजवादी लगायत तटस्थ मतदाताको सहानुभूति रहेको देखिन्छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले समेत जसपाका उमेदवारलाई हराउन जुन उमेदवार वलियो हुन्छ त्यसैलाई सहयोग गर्न सत्तागठबन्धनका नेताहरुलाई निर्देशन दिएका छन । उनैको अभिव्यक्तिले पनि द्विवेदी प्रति देखिएको जनलहरबाट उनी बिजयी हुने संभावना वलियो हुदै गएको छ ।
बाराको प्रतिनिधि निर्वाचन क्षेत्र नं. २ मा जसपाका रामसाय प्रसाद यादव, माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहा, जसपाबाट बिद्रोह गरेर स्वतन्त्र उमेदवार बनेका रामकिशोर यादव, नेपाली कांग्रेसबाट विद्रोहगरी स्वतन्त्र उठेका रबिन्द्र यादव र अरुण ज्ञवाली चुनावी मैदानमा छन् । कांग्रेसबाट विद्रोही बनेका रविन्द्र यादव बारा कांग्रेसका नेता राधेश्चन्द्र यादवका भतिजा हुन । ज्ञवाली पेशाले कानुन व्यवसायी हुन ।
सत्ता गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेकोले कांग्रेसबाट यादव र ज्ञवालीले स्वतन्त्र रुपमा उमेदवारी दिएका हुन । यो क्षेत्रमा जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका रामकिशोर यादवलाई जसपा, एमाले लगायत अन्य राजनीतिक दलका नेता र कार्यकर्ताको समेत समर्थन रहेको देखिन्छ ।
अहिले सम्मको स्थितीमा यो क्षेत्रमा स्वतन्त्र उमेदवार रामकिशोर यादव र सत्ता गठबन्धनका उमेदवार शिवचन्द्र प्रसाद कुशवाहा विच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । जसपाका नेता रामसाय प्रसाद यादवले जनताको हितमा काम गर्न नसकेको गुनासो मतदातको छ । त्यस क्षेत्रमा माओवादीको कमजोर जनाधार भएको र स्थानीय जनताको विचमा जसपाबाट विद्रोह गरेका रामकिशोर यादव लोकप्रिय रहेकोले उनी त्यस क्षेत्रका वलिया उमेवादर हुन ।
रौतहट निर्वाचन क्षेत्र नंं. ३ मा एमालेको टिकट त्यागेर स्वतन्त्र उमेदवार बनेका प्रभु साह र स्वतन्त्र उमेदवार ओमप्रकास जयसवाल विच प्रतिस्पर्धा हुदैछ । प्रभु साहलाई सत्ता गठबन्धनले सहयोग गर्ने निर्णय गरेपनि स्थानीय रुपमा कार्यकर्ता प्रभु साहलाई साथ नदिने अवस्थामा देखिएका छन ।
प्रभु साहले समेत गठबन्धनले निर्णय गरेपनि गठबन्धनका उमेदवारले आफ्नो उमेदवारी निस्कृय नगरेको र अन्य राजनीतिक दलले स्वतन्त्र उमेवादर जयसवालाई साथमा लिएर हिडेको बताएका छन ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका रविन्द्र पटेलको उमेदवारी रहेकोमा उनलाई आफ्नो उमेदवारी निस्कृय बनाएर स्वतन्त्र उमेदवार प्रभु साहलाई सहयोग गर्न गठबन्धनले निर्देशन दिएको थियो तर उनले त्ससलाई इन्कार गरेर आफ्नो उमेदवार कायमै रहेको भनि प्रचारमा लागेका छन ।
त्यस क्षेत्रमा प्रतिनिधि सभामा माओवादी र प्रदेशमा नेपाली काग्रेसको भागमा परेको थियो । प्रदेशका उमेदवारहरुले प्रतिनिधि सभामा स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवालको पक्षमा खुलेर मत मागेका छन । जयसवाललाई नेपाली काग्रेस, एमाले, एकीकृत समाजवादी लगायतका राजनीतिक दलले समर्थन गरेका छन् । यो क्षेत्रमा एमालेबाट विद्रोह गरेका प्रभु साह र स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवाल विच प्रतिस्पर्धा हुने देखिन्छ ।
सर्लाहीको क्षेत्र नंं १ मा जसपाका प्रमोद साह, लोसपाका राम प्रकाश चौधरी र एमालेबाट बिद्रोह गरेका मानबहादुर खड्का विच प्रतिस्पर्धा हुने छ । खड्कालाई एमाले, कागं्रेस, माओवादी पार्टीका स्थानीय कार्यकर्ताको समर्थन रहेकोेले उनी कडा प्रतिस्पर्धामा आउने सक्ने अनुमान गरिएको छ ।
खड्का लालवन्दी नगरपालिकाका पूर्व मेयर हुन । जनस्तरमा लोकप्रिय नेताको रुपमा परिचित खड्काले गठबन्धनको कारण टिकट जसपालाई परेपछि पार्टी निर्णय विपरित स्वतन्त्र उमेदवारी दिएका हुन । सत्ता गठबन्धनबाट लोसपाका राम प्रकाश चौधरी र एमाले–जसपा गठबन्धनबाट जसपाका प्रमोद साह चुनावी मैदानमा छन् ।
दुवै गठबन्धन प्रति असन्तुष्ट रहेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायत जसपा, लोसपा भित्रका असन्तुष्टहरुको मत समेत खड्का पक्षमा जाने संभावना छ । नेकपा एमालेका जिम्मेवार नेता कार्यकर्ताहरु पनि खुलेर खड्काको पक्षमा मत माग्नुले उनलाई चुनाव जित्न सक्ने उमेदवारको रुपमा लिइएको छ ।