Logo

काठमाडौं । संघीय र प्रदेश निर्वाचन आउन छ दिनमात्र बाँकी हुँदा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा देशब्यापी लहर निर्माण भएको छ । आम समर्थकको अंकगणितीय बहुमत भएर मात्र होइन–ओली एमालेका प्रतिगामी कदम, एमालेभित्रको आन्तरिक असन्तुष्टि, एमालेले गठबन्धनमा सामेल गरेका राजावादीहरूको परिवर्तन उल्ट्याउने नियत र स्वतन्त्र भनेर सामाजिक संजालमा हल्लाखल्ला गर्नेहरूको उत्ताउलो अनि अपारदर्शी स्रोतसहितको भड्किलो तामझामले बाम–लोकतान्त्रिक गठबन्धन सहज जीतको माहौलमा पुगेको हो ।

सुरक्षा स्रोतहरूले समेत गठबन्धनले सहज जित्ने आन्तरिक निष्कर्ष निकालेका छन् । मूल कुरो त तत्कालीन नेकपाले झण्डै दुई तिहाई बहुमत पाएर बनेको केपी ओलीले नेतृत्व गरेको अघिल्लो सरकारका प्रतिगामी, कम्युनिष्ट आन्दोलन एकीकृत पार्टी–जननिर्वाचित संसद समाप्त पार्ने राजनीति–अस्थिर र निरंकुश कदमको विकल्प राजनीतिक स्थायित्वको आम अपेक्षाले हालको बाम–लोकतान्त्रिक गठबन्धन मजबुत बनेको हो । एकलौटी तानाशाहीकरणका सट्टा लोकतान्त्रिक संस्कार, विकासको भ्रष्टीकरणका सट्टा जन आधारित दिगो बिकास र आजसम्मका राजनीतिक–सामाजिक उपलब्धि समाप्त पार्ने नियतका सट्टा यसलाई जोगाउदै समाजवाद उन्मुख बन्ने सन्दर्भले समेत जनतामा बाम–लोकतान्त्रिक गठबन्धनप्रति भरोसा जागृत भएको हो ।

त्यसो त एमालेसँग विकासका सस्ता नारा दिने तर आफू नेतृत्व हुँदा राष्ट्रिय प्राथमिकतामा परेका योजना वा सन्दर्भहरूलाई भजाएर, भ्रष्टीकरण गरेर बोल्ने बाहेक यो चुनावमा कुनै एजेन्डा नै छैन । ओलीका राजनीतिक नियतहरू उदाङ्गो भइसकेका छन् । त्यसैले उनले राजेन्द्र लिङ्देन र कमल थापा जस्ता राजावादी–हिन्दुवादीहरू, हिजो आफैंले भारतभक्त तथा साम्प्रदायिक करार गरेका शक्तिहसँग गठबन्धन बनाएका छन् । जसको सत्ता बाहेक अर्को स्वार्थ नै छैन ।

तिनै ओली र उनका गठबन्धनहरू बाम–लोकतान्त्रिक गठबन्धनलाई औचित्यहीन र अपवित्र भनिरहेका छन् । आजसम्मका राजनीतिक परिवर्तनका लागि मिलेर लडेका शक्तिहरू आफूले ल्याएको परिवर्तनलाई जोगाएर समुन्नति र स्थिरताका लागि गठबन्धन भएर अगाडि बढ्नु भन्दा बढी औचित्यको राजनीतिक सन्दर्भ अर्को हुन सक्दैन । त्यसैले आफ्नै बहुमत समेत टिकाउन नसक्ने ओली एमालेलाई फेरि त्यस्तै हर्कतका लागि बहुमत रु फेरि प्रतिगमनका लागि बहुमत रु यही स्वाभाविक प्रश्नले जनतामा जवर्जस्त घर गर्दा एमालेमा छटपटी निर्माण भएको छ ।

अझ एमालेका ठूलठूला भनिएका सभामा उपस्थित जनता र कार्यकर्ताहरूले ओलीबिरुद्ध सार्वजनिक हुटिङ गरेका छन् । कैलाली र दैलेख सभाको हुटिङले एमालेभित्र कसरी असन्तुष्टिको आगो बलेको छ भन्ने देखाउँछ । ओलीको एकलौटी रबैयाको बिरोध गर्दै नेता भीम रावलको पक्षमा कार्यकर्ताहरू खडा हुँदा त्यसलाई चित्तबुझ्दो साम्य गर्नुसट्टा ओली झन् उग्र भएका छन् । चुनावको बेला समेत जनता–कार्यकर्ताप्रति उग्र हुनुपर्ने ओली बाध्यताले एमालेको संसदमा बैधानिक उपस्थितिको हविगत के हुँदैछ भन्ने कुराको संकेत गर्दछ । सभाहरूमा मात्र होइन, मिडियासँगका अन्तर्वार्ताहरूमा समेत ओलीले संयमता गुमाएका छन् । ‘ग्यालेक्सी फोर के’ टिभीमा रमेश प्रसाईंसँग र ‘एपी वान’ टिभीमा टीकाराम यात्रीसँगको उनको प्रतिवाद सभ्य समाजमा, सभ्य नेताबाट अपेक्षा गरिएभन्दा प्रतिकूल छ ।

उता राप्रपासहितका राजावादीहरू चाहिँ गणतन्त्रले के दियो ? अब हामी राजनीतिक परिवर्तनलाई नै उल्ट्याइदिन्छौं भनेर झापादेखि जुम्लासम्म बर्बराइरहेका छन् । परिवर्तन उल्ट्याउने, बिकासको गतिलाई निमिट्यान्न पार्ने, राजावाद र हिन्दुवादका खारेज भइसकेका अन्धता थोपरेर आफ्नो लूटको स्वर्ग फर्काउने–यो उत्ताउलो नियत फेरि अर्को खुनखराबाको उद्देश्य बोकेको डरलाग्दो नियत हो । एमालेसमेत त्यही नियतसँग मिलेकोले जनताले यी दुबै पक्षबाट आफूलाई आधारभूत रुपमै पृथक गरेका छन् ।

पिँध नभएका लोटाजस्ता भुइँमा न भाँडाका रवि लामिछानेसहितका स्वतन्त्र नामका आदर्शीहरू समेत दलहरूको विकल्प बन्ने हवाइ कल्पनामा रुमल्लिएका छन् । उनीहरूको उत्ताउलो प्रचार र प्रचार स्रोतको बाढी हेर्दा लाग्छ, यसका लागि देशीविदेशी सशक्त गिरोहहरूको फन्डिङ छ । तर न कुनै राजनीतिक मार्गचित्र न ब्यक्तिगत वा सामुहिक सामाजिक निष्ठा  २०७४ को चुनावमा जसरी रविन्द्र मिश्रको हल्ला भएको थियो, त्यस्तै हल्ला हुँदै अन्ततः मिश्र जसैगरी पतनमा पुग्ने संकेत स्वतन्त्रहरूको रवैयाले देखाएको छ ।


सम्बन्धित समाचार