Logo

३ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् । उनी रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन् ।

अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् ।

यस्तै लोकतान्तिक समाजवादी पार्टी ९
(लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । उनी सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै गर्दैछन् । उनी सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । श्रेष्ठ काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार छन् ।

जसपाका प्रवक्ता मनिष सुमनले राजविराज–३ स्थित केएएमबी माविबाट मतदान गर्दै छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन् । महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौँ–५ स्थित टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दैछन् ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै छन् । एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नेछन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन् । एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नेछन् । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।


सम्बन्धित समाचार