Logo

३ मंसिर, वीरगञ्ज । पर्सा बारामा तोकीएका मतदान स्थल तथा केन्द्र मतदान अधिकृत, सहायक मतदान अधिकृत सहितका कर्मचारी तथा सुरक्षाकर्मी खटीईसकेका छन् । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारी मतदान स्थलमा पुगेका हुन् ।

उनीहरुले आ–आफ्नो मतदान केन्द्र तयार पनि पारिसकेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक तयारी पुरा भईसकेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिएका छन । महिला, पुरुष तथा अपांगता भएका लगायत सबै मतदाताहरुलाई सहज हुनेगरि केन्द्र निर्माण गर्न भनिएको पोखरेलले बताए ।

मतदान स्थलमा अवाञ्छित गतिविधी हुन नदिन आवश्यक सुरक्षाकर्मी पनि परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतदान केन्द्रको निरन्तर अनुगमन तथा निरीक्षण कार्य भईरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लामा १ सय ६७ वटा मतदान स्थलमा ४ सय १२ वटा मतदान केन्द्र तयार पारिएको छ । वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालयमा दुईवटा अस्थायी मतदान केन्द्र बनाईएको छ । बारामा ३ सय ५ मतदान केन्द्र र ५ सय ५५ मतदान स्थलहरू तयार भईरहेको छ । बारामा हरेक मतदान स्थलमा ५ वटाका दरले मतपेटिका र अन्य आवश्यक सामाग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख जिल्ला निर्वाचन अधिकारी सरोज चौधरीले जानकारी दिएका छन् ।

भोलि हुन गइरहेको निर्वाचनका लागि बाराका एक सय ४५ मतदान स्थललाई अति संवेदनशीलको सुचीमा राखिएको छ । कुल तीन सय पाँच स्थलमध्ये एक सय ४५ मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको हो ।

जिल्लामा एक सय आठ मतदान स्थल संवेदनशील र ५२ स्थल सामान्य अवस्थामा रहेका छन् । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थललाई वर्गीकरण गर्दै सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएको प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

निर्वाचनका लागि बारामा एक हजार पाँच सय १९ नेपाल प्रहरी र तीन हजार एक सय ४४ म्यादी प्रहरी खटाईएको छ । मतदानलाई भयरहित र सुरक्षित बनाउन गाउँपालिका र नगरपालिकामा दुई वटा मोबाइल टोली खटिनेछन भने उपमहानगरपालिकामा तीन वटा मोबाइल टोली खटाईने प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार