Logo

मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अधिकांश स्थानमा पराजय भोगेको छ । केही स्थानको मतगणना भइरहेको ठाउँमा समेत माओवादीका उमेदवार आफ्ना प्रतिद्धन्दी भन्दा पछाडी छन् । प्रतिनिधिसभा सदस्यको ३२ मध्ये ७ स्थानमा र प्रदेशसभा सदस्यको ६४ मध्ये १७ स्थानमा मोओवादीले उमेदवारी दिएको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विच मधेशमा गठबन्धन भएको थियो । गठबन्धनमा भएका केही राजनीतिक दलले स्वतन्त्र उमेदवार उठाएको र नेपाली कांग्रेसका समर्थकले नेकपा (माओवादी केन्द्र)का उमेदवारलाई मत नदिएको कारण अधिकांश स्थानमा माओवादीका उमेदवार प्रतिस्पर्धामा आउन नसक्ने देखिएका हुन ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादीका प्रदेश सभा सदस्यमा उमेदवार भएका मध्ये ३ जना मात्र विजयी भएका छन् । १० जना पराजय भइसकेको छन भने ४ जना प्रतिस्पर्धा गरिरहेका छन् । ४ जना मध्ये महोत्तरी १ (ख) बाट चुनावी मैदानमा रहेका भरत प्रसाद साह र महोत्तरी ४ (ख) का उमेदवार लालेन्द्र कुमार मण्डल प्रतिस्पर्धामा अग्रता कायम गरिराखेका छन । सिराहा २ (क) का जिवछ कुमार यादव र सर्लाही २ (क)का सुनिल कुमार साह प्रतिस्पर्धामा आउन सकेका छैनन् । उनीहरु तेश्रो स्थानमा पुगेका छन् ।

नेकपा माओवादी पार्टीको कमजोर जनधार भएको पर्सा १ (क) बाट उमेदवार बनेका युवा नेता रहबर अंसारी अत्याधिक मतान्तरले विजयी भएका छन् । उनी २०७४ को स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा पराजित भएपछि लगत्तैको प्रदेशसभा सदस्यपदको निर्वाचनमा समेत प्रतिस्पर्धा गरेका थिए । उनले २०७४ को प्रदेशसभा सदस्य पदमा पराजय भोग्नु परेको थियो । नेकपा माओवादी पार्टीको महानगगर कमिटीको अध्यक्ष र अहिले केन्द्रीय सदस्य रहेका अंसारीलाई पार्टीबाट असहयोग हुदै आएको थियो । उनको व्यक्तिगत छवि राम्रो भएको र पराजय भएपनि जनताको घरदैलोमा पुगी राखेकोले यसपटक भने व्यापक जनसमर्थनमा विजयी भएका छन् ।

त्यसैगरी रौतहट निर्वाचन क्षेत्र नं. ४ को (क)बाट चुनावी प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई पनि आफ्नो प्रतिद्धन्दी भन्दा राम्रो मतान्तरमा विजयी भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा चन्द्रपुर नगरपालिकाको मेयरमा पराजय भोगेका भट्टराइ रौतहटमा सवै राजनीतिक दलका कार्यकर्ताले मन पराउने मिलनसार व्यक्तिको रुपमा चिनिन्छन् । कुनै राजनीतिक स्वार्थ नराखी जनताको सेवामा समर्पित भएर काम गरेको कारण उनले त्यस क्षेत्रबाट विजयी हासिल गर्न सकेका हुन ।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ (ख)बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार भएका फकिरा महतो त्यस क्षेत्रबाट निर्वाचित भएका छन् । माओवादी पार्टीको राम्रो जनधार भएको र गठबन्धन दलहरु विच राम्रो समन्वय भएको कारण उनी विजयी भएका हुन । सर्लाहीको निर्वाचन क्षेत्र नं. ३ (क)बाट नेकपा माओवादी केन्द्रले टिकट गठबन्धनका दललाई दिएपछि विद्रोह गरेर स्वतन्त्र रुपमा चुनावी मैदानमा रहेका जवारलाल कुशवाहा विजयी भएका छन् । उनलाई वागमती नगरपालिकाका मेयर भरत थापा लगायत माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको सहयोग र समर्थन रहेको थियो ।

गठबन्धन गरेर चुनावी मैदानमा गएपनि नेकपा माओवादी केन्द्रका उमेदवारलाई गठबन्धनका अन्य राजनीतिक दल (नेपाली कांग्रेस र लोसपा)का समर्थकहरुले मत नदिदा १० स्थानमा माओवादीले प्रदेश सभासदस्य पद गुमाउन पुगेको छ । पर्साको निर्वाचन क्षेत्र नं. ३ (क) बाट छोटेलाल यादव र ४ (ख) बाट चाँद तारा कुमारीले पराजय भोग्नु परेको छ । गठबन्धनका दल नेपाली कांग्रेसले अन्य दलसँग साठगाँठ गरेको कारण पराजय भोग्नु परेको हो । सो क्षेत्रमा चाँदताराले जमानत समेत जोगाउन सकिनन् ।

बारा निर्वाचन क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यमा उमेदवार बनेका नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिललाई आफ्नै पार्टी भित्रबाट सहयोग नभएको र गठबन्धन दल नेपाली कांग्रेस र एकीकृत समाजवादी समर्थकहरुको समेत पूर्ण साथ सहयोग पाउन नसक्दा पराजय भोग्नु परेको हो । बारा जिल्लामा माओवादी पार्टीको राम्रो उपस्थिती रहेको क्षेत्रबाट उनी पराजय हुनु पार्टी भित्र उनलाई हराउन खोजिएको स्पष्ट हुन्छ । श्रेष्ठले निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि सामाजिक सञ्जाल फेसबुकमा संगठनका केही जिम्मेवार नेता कार्यकर्तालाई इंगित गर्दै “घात” भएको भनि लेखेका छन् । त्यसैगरी बारा ३ (क)बाट उमेदवार बनेका मुकेश साह पनि पराजय भएका छन् । उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र लोसपा समर्थकबाट मत आउन नसकेको र केही पार्टी भित्रका व्यक्तिहरुको कारण पराजय भोग्नु परेको विषय पार्टीको नेतृत्व तहमा छलफल भएको बताइएको छ ।

गठबन्धनको तर्फबाट सप्तरी १ (क)बाट बेचन प्रसाद चौधरी र २ (ख) बाट उमेश कुमार यादव पराजित भएका छन् । चौधरी र यादव माओवादी पार्टी भित्रको चरम गुटवन्दीको शिकारमा परेका हुन । नेकपा माओवादी केन्द्र सप्तरीमा पार्टी भित्रको विवाद हल हुन नसक्दा स्थानीय तह र प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा त्यसको प्रभाव परेको देखिन्छ । पार्टी भित्रको आन्तरीक समस्या हल नहुदा गठबन्धनबाट नेपाली कांग्रेस र लोसपाले समेत सहयोग नगर्दा ती क्षेत्रमा पराजय भोग्नु परेको हो ।

सिराहा निर्वाचन क्षेत्र नं. ४(क) मा नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका महेन्द्र पासवान जनमत पार्टीका उमेदवारसँग पराजित भएका छन् । त्यस क्षेत्रमा पनि पार्टी भित्रको आन्तरिक विवादको प्रभाव परेपनि मुख्य गठबन्धनका दलबाट सहयोग नपाएको कारण पराजय भोग्नु परेको हो । मधेस प्रदेशका अधिकांश जिल्ला र क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता र समर्थकहरुले माओवादी केन्द्रका उमेदवारलाई मत नदिएको कारण ती क्षेत्रमा माओवादीले पराजय भोग्नु परेको छ । माओवादीका कार्यकर्ता र समर्थकले भने यसपटक इमान्दारीताका साथ गठबन्धनमा मत दिएको दावी माओवादी केन्द्रको छ । मतपरिणामहरुले पनि माओवादीको सहयोगमा धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको देखिन्छ ।

गठबन्धनका सहयात्री दल नेपाली कांग्रेस र लोसपाले अन्तरर्घात गरेको कारण धनुषा २(ख) बाट माओवादी केन्द्रका उमेदवार श्याम कुमार यादवले पराजय भोग्नु परेको छ । नेपाली कांग्रेसले मुद्रामा मत बेचेको आरोप माओवादीका स्थानीय नेता कार्यकर्ताहरुको छ । सर्लाही १ (क) मा प्रदेशसभा सदस्यका उमेदवार रामचन्द्र सिंह कुशवाहा र रौतहट २ (ख) बाट सुरेन्द्र प्रसाद जयसवालले समेत पराजय भोग्नु परयो । उनीहरुको पराजयको पछाडी गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसको असहयोग हुनु नै हो । त्यसपछि केही आफ्नै पार्टी भित्रको समस्याले समेत निर्वाचनमा प्रभाव पारेको उमेदवारहरुको गुनासो छ ।

प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका सिराह ३ मा विश्वनाथ साह, धनुषा १ मा मातृका प्रसाद यादव, महोत्तरी १ मा गिरिराजमणी पोखरेल, सर्लाही २ मा महेन्द्रराय यादव र सर्लाही ३ मा नगिन्द्र प्रसाद साह चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धन दलको सामान्य मत समेत पाउन नसक्दा ती क्षेत्रमा आफ्ना प्रतिद्धन्दीसँग कडा प्रतिस्पर्धा गर्न परेको छ । रौतहट ३ मा उमेदवार बनेका रविन्द्र पटेलको उमेदवारी निष्कृय बनाउने र त्यस क्षेत्रमा एमालेको टिकट त्यागेर स्वतन्त्र लडेका प्रभु साहलाइ समर्थन गर्ने गठबन्धन दलको केन्द्रमा भएको सहमती विपरित पटेलले आफ्नो उमेदवारी कायमै राखी चुनावी मैदानमा सक्रिय भएर लागेका थिए । त्यस क्षेत्रमा उनी तेश्रो स्थान सुरक्षित राख्दै पराजित भए ।

बारा निर्वाचन क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्य पदमा उमेदवार बनेका माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहा अहिले प्रतिस्पर्धामा अग्र स्थानमा छन् । उनलाई गठबन्धनबाट सहयोग नभएको र गठबन्धनदलको नेपाली कांग्रेसबाट स्वतन्त्र उमेदवार खडा गरिएकोले प्रतिद्धन्दीसँग कडा प्रतिस्पर्धा गर्नु परेको गुनासो उमेदवार कुशवाहाको छ ।

२०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ५ स्थानमा जित हासिल गरेको माओवादी केन्द्रलाई यसपटक आफ्नो अघिल्लो विरासत जोगान मुस्किल पर्ने अवस्थामा पुगेको छ । मातृका यादव र विश्वनाथ साह धेरै मतान्तरले पछाडी परेका छन् भने गिरीराजमणी पोखरेल र महेन्द्रराय यादव समान्य मतबाट पछाडी परेपनि प्रतिस्पर्धामा रहेको देखिन्छ । मधेसबादी दल लोसपा र नेपाली कांग्रेसको मत माओवादीमा जान नसक्दा ती क्षेत्रमा माओवादी एक्लै लडनु परेको छ ।

मधेसमा माओवादी पार्टी भित्र देखिएको नेतृत्व विचको गुटगत लडाई र अन्तरघातको सामना उमेदवारले गर्नु परेको छ । यस्तो अवस्थामा कसरी निर्वाचन जित्न सकिन्छ ? मधेसमा पार्टीलाई चलायमान वनाउन नसक्नु र लामो समय देखि सम्मेलन समेत हुन नसक्दा पार्टी नेतृत्व विहिन अवस्थामा गुज्रेको छ । आन्तरिक अन्तरर्घात र गठबन्धनबाट राम्रो सहयोग नपाएको कारण यसपटक मधेसमा माओवादीले ठूलै मूल्य चुकाउनु पर्ने देखिन्छ ।


सम्बन्धित समाचार