Logo

पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यकोे मतगणनामा २७२ मत गायव भएपछि झिनो मतान्तरबाट विजयी भएका एमालेका उमेदवार तनावमा परेका छन् । उनलाई विजयी भएको प्रमाणपत्र समेत निर्वाचन अधिकृतको कार्यालयले रोकिदिएको छ ।

प्रतिनिधिसभा सदस्य तर्फ भएको मतदानको मुचुल्कामा उल्लेख गरिएको विवरणमा २७२ मत कम देखिएपछि नेपाली कांग्रेसका उमेदवार सुरेन्द्र प्रसाद चौधरीले पुन मतगणनाको माग राख्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । मुचुल्का र मतपेटीकामा भएको मत परिणाम फरक परेपछि विजयी घोषणा गरिएका एमालेका उमेदवार राजकुमार गुप्तालाई प्रमाणपत्र दिइएको छैन् ।

अस्ती सम्पन्न मतगणनामा नेकपा एमालेका उमेदवार राजकुमार गुप्ता १५१ मतान्तरले विजयी भएको घोषणा गरिएको थियो । एमालेका गुप्ता २४ हजार २६० .मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले २४ हजार १०९ मत पाएका थिए । झिनो मतान्तरबाट निर्वाचित भएका भनिएका गुप्तालाई २७२ थान मतपत्रको टुंगो नलागे सम्म प्रमाणपत्र नदिने स्थिती सृजना भएको छ ।

आइतबार मतदानका दिन पर्सा ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको देखिएको निर्वाचन अधिकृत योगनाथ ढकालले बताए ।

उनले केही मतपत्र समानुपातिक तर्फको मतपेटीकामा फेला परेकोले समानुपातिक तर्फको मत गणना सकिएपछि प्रत्यक्ष तर्फको प्रतिनिधिसभा सदस्यको नतिजामा देखिएको विवाद समाधान हुने बताए ।

प्रत्यक्ष तर्फ मुचुल्कामा उल्लेख गरिएको २७२ को विवाद समानुपातिक मत गणना सकिएपछि समाधान हुने ढकालको विश्वास छ । उनले मतदान अधिकृतले मुचुल्का गरेका प्रत्यक्ष तर्फको केही मतपत्र समानुपातिक तर्फको बाकसमा फेला परेको र केही व्यक्तिहरुले मतपत्र बाकसमा नराखी लिएर गएको पनि हुन सक्ने बताए ।

मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसार पर्सा ३ को प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ ६४ हजार ४ सय ४८ मत खसेको तर मतगणनाका क्रममा मतपेटिकाहरुबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको पर्सा ३ का निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्ष तर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मत भन्दा २७२ मत कम भएको देखिन्छ । ढकालका अनुसार , गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ ।

कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या , मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकालको भनाई छ ।

समानुपातिकको मतगणनाका क्रममा समानुपातिकको मतपेटिकाबाट भेटिएका प्रत्यक्ष तर्फका मतपत्र गणना भएपछि मात्र निर्वाचनको मतपरिणाम सार्वजनिक गरिने ढकाले बताए । उनले समानुपातिक तर्फको बाकसमा फेलापरेका प्रत्यक्ष तर्फको मत प्रत्यक्ष तर्फ गणना गरि आएको परिणामलाई आधिकारी रुपमा सार्वजनिक गरिने जानकारी दिए ।

यता पराजित भनिएका काँग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाए । उनले भने ,‘ १५१ मतले म हारेको भनिएको छ , तर गणनामा २७२ मत नै कम छ , त्यो २७२ मत आखिर कहाँ गायब भयो ? अर्को कुरा गणनामा पढे नलेखेका निरक्षर गणकहरुलाइ पनि खटाइएको थियो , गणनामा नै षडयन्त्र गरिएको छ । त्यसैकारण रि–काउन्टिङका लागि आफुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पनि दिइसकेको चौधरीले बताए ।

नेपाली काँग्रेसका स्थानीय नेता एंव पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले पनि प्रत्यक्ष तर्फको मतपत्र केहि मतदाताले भूलवस, समानुपातिक तर्फको मतपेटिकामा खसाएको हुनसक्ने बताए । केही बक्साबाट प्रत्यक्ष तर्फको मतफेला परेको छ आज साँझ सम्ममा टुंगो लाग्छ होला रौनियारले भने ।

यता नेकपा एमालेका उमेदवार राजकुमार गुप्ताले निर्वाचित घोषणा गरेर जितेको प्रतिनिधिलाई प्रमाणपत्र नदिनुले सत्ताको दुरुपोग गरि हराउन खोजेको हुन सक्ने आरोप लगाएका छन् । उनले समानुपातिकको बाकसमा फेलापरेका प्रत्यक्ष तर्फका मतपत्रलाई आफूले स्वीकार नगर्ने बताए ।


सम्बन्धित समाचार