संसारकै सबैभन्दा महँगो औषधिको आपतकालीन प्रयोगका लागि अमेरिकाले दियो अनुमति ।।
अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापक (एफडीए) ले संसारकै महँगो औषधिलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
एफडीएले अनुमति दिएको औषधिको एक मात्राको मूल्य करिब ३ दशमलव ५ मिलियन डलर अर्थात् झन्डै ४५ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । एफडीएले अनुमति दिएको औषधिको नाम ‘हेमजेनिक्स’ हो । नसाबाट खोपको रुपमा दिईने यो औषधि अत्यन्तै दुर्लभ मानिने रोग हेमोफिलिया–बी का बिरामीमा प्रयोग हुने बताइएको छ ।
हेमोफिलिया–बी रगत सम्बन्धी वंशाणुगत रोग हो । यो रोग लागेपछि बिरामीहरूमा रक्तश्रावको समस्या हुनेगर्छ । औषधिले हेमोफिलिया बी का बिरामीहरूलाई निको पारेको वैज्ञानिकहरूले दावी गरेका छन् । औषधि विकास गर्नका लागि लागेको स्रोत साधन र प्रविधिका कारण मूल्य बढी भएको हो ।