Logo

११ मंसिर,वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले ३ सय ९५ जना लैंगिक हिंसा पीडित वा प्रभावितलाई सेवा प्रदान गरेको छ । ०७८ पुसमा स्थापना भएको अस्पतालमा आधारित केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३ सय ९५ जनालाई सेवा प्रदान गरेको हो ।

जर्बजस्ती करणीमा परेका ९७ वटा, शारीरिक हिंसामा परेका २ सय ७९ जना, मानसिक दुव्र्यबहारमा परेका ११ जना, अधिकार स्रोतबाट वञ्चित ४ जना, बहुविवाह र रुढीवादी परम्पराका कारण पीडित भएका ४ जनालाई सेवा दिईएको केन्द्रको ईन्चार्ज नर्स अहेमा थापाले जानकारी दिनुभयो । सेवा लिनेमध्ये ३५ जना पुरुष छन् भने बाँकी सबै महिला हुन् ।

त्यस्तै केन्द्रले १ सय ९६ जनालाई मनोसामाजिक परामर्श समेत दिएको छ । लैंगिक हिंसामा परेका व्यक्तिहरुलाई एकद्वार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले ओसीएमसीको स्थापना गरिएको हो । ओसीएमसीले लैंगिक हिंसामा पीडित वा प्रभावितको स्वास्थ्य सम्बन्धि विवरण संकलन, परीक्षण, उपचार र अभिलेख राख्ने, शारीरिक चोटपटकको उपचार गर्ने, कानुनी प्रमाणका लागि विधि विज्ञान तथा चिकित्सा सम्बन्धी कानुनी परीक्षण गर्ने गराउने, मानसिक स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, सुरक्षा र आश्रय स्थलको प्रबन्धन गर्ने, आवश्यकता अनुसार प्रेषण तथा अन्य सेवा उपलब्ध गराउने मात्रै नभई समाजमा पूर्नस्थापनाका लागि समेत सहयोग गर्ने गर्दछ ।

ओसीएमसी स्थापना भएको झण्डै १ वर्षपछि आज यसको औपचारिक उद्घाटन समेत गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले केन्द्रको उद्घाटन गर्नुभयो । प्रमुख जिल्ला अधिकारी ढकालले लैंगिक हिंसा विरुद्धको काम अझै अप्रयाप्त भएको बताउनुभयो ।

दिनहुँ लैंगिक हिंसा हुने र महिला तथा बालिका पीडित हुने क्रम नरोकिएको भन्दै सामाजले यसको आवश्यकता बुझ्नेगरि ओसीएमसीले काम गर्नुपर्ने धारणा राख्नुभयो । अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त मेडिकल सुपरीटेन्डेन्ड डाक्टर विरेन्द्र बहादुर प्रधान, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले ओसीएमसीको कामको प्रशंसा गर्नुभएको थियो ।


सम्बन्धित समाचार