Logo

१२, मंसिर, ठोरी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि पर्साको ठोरी बताएलगत्तै चर्चामा आएको ठोरीको सीता गुफामा रामसीता विवाह महोत्सव सम्पन्न भएको छ। ठोरी गाउँपालिका वडा नम्बर– २ मा पर्ने सीतागुफामा सोमबार वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र सीताको विवाह हर्षोल्लासका साथ सम्पन्न गरिएको आचार्य पण्डित चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

विवाहमहोत्सवमा उपस्थित भक्तहरुलाई दुईपक्षमा बिभाजन गरि रामपक्ष र सीतापक्ष बनी जन्ती लगेर सीता गुफा परिसरमा धार्मिक परम्परा अनुसार विवाह विधि सम्पन्न गरिएको पण्डित सापकोटाले बताए । सो अवसरमा रामसीतालाई सीतागुफामा भित्र्याइएको पनि उनले जानकारी दिए ।

स्थानीयहरुले बिगत केही वर्षदेखि नै मंसिर शुक्ल पञ्चमीको दिन र रामनवमीको दिनमा यस क्षेत्रमा धुमधामका साथ विवाह महोत्सव मनाउदै आइरहेका छन् । रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य पूर्वप्रधानमन्त्री ओलीले दिएता पनि राममन्दिर माडीमा बनाइएपछि स्थानीयहरुले दुखेसो पोख्ने गरेका छन् ।

ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पदमलाल श्रेष्ठले यस क्षेत्रमा रामसीताको मूर्ति स्थापना गर्न भनेर शिलान्यास गरेता पनि दशगजा क्षेत्रमा उक्त मूर्ति स्थापना हुन नसक्दा बजेट फ्रीज भएको थियो।सीतागुफामा जान खोला तरेर जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले सम्बन्धित निकायले झुलुङ्गेपुलको व्यवस्थापन गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुने ठोरीबासीको भनाई छ ।


सम्बन्धित समाचार