Logo

१२ मंसिर, चितवन । स्कुले विद्यार्थी र महिलाहरु पञ्चेबाजामा नाचिरहेका थिए, मन्दिरको छेउमा भगवान श्रीराम र सीताको पूजापाठ गरिदै थियो, भक्तजनहरु श्रीरामचन्द्र र सीताको विवाह महोत्सव हेर्न मन्दिर परिसरमा जम्मा भएका थिए । केही मानिसहरु मन्दिर भित्र रहेका राम, लक्ष्मण, सीताको मूर्तीमा दक्षिणा चढाएर भगवान श्रीराम र सीता प्रति भक्तिभाव प्रकट गरेका थिए ।

अढाई बर्ष अघि २०७७ असार २९ गते भानु जयन्तीका अवसरमा अयोजित एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्म भूमी चितवन माडीको अयोध्यापुरी भन्ने ठाउँमा भएको बताएपछि एकाएक चर्चामा आएको माडीको रामधाम मन्दिरमा पञ्चेबाजा सहितको नाचगान र विशिष्ठ व्यक्तिहरुको उपस्थितीले रौनक देखिन्थ्यो ।

माडी नगरपालिका वडा नंं ९ कृष्णनगर स्थित घाघर र रेवा नदिको दोभानमा स्थापना गरिएको सीताराम मन्दिर परिसरमा वडा नं. ८ र ९ मा स्थानीयवासीहरुको सहभागीता रहेको थियो । पञ्चेबाजाको तालमा स्कुले विद्यार्थी र केही भक्तजनहरु नाचेका थिए । मन्दिर परिसरको दक्षिण पश्चिम पट्टी पूजापाठ गरिएको थियो । पूजा सकिएपछि प्रसाद ग्रहणका लागि मानिसहरुको भिड लागेको देखिन्थ्यो ।

यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका संयोजक भण्डारीले जानकारी दिए । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

रामायणमा उल्लेख भए अनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो । जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको विवाह मण्डवमा श्रीराम र सीताको स्वयंवर गर्दा ५६ कोटी देवीदेवताको समेत उपस्थिति रहेको विश्वास गरिन्छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले रामजन्म भूमी चितवन माडीको अयोध्याधामबाट जनकराजाको गाउँ धनुषाको जनकपुरधाममा जन्ती लैजाने प्रवन्ध मिलाईने कुरा गरेका थिए । ओलीले प्रमाणित नभएको बिषयलाई उठाएको भन्दै उनको चौतर्फी आलोचना समेत भएको थियो ।

तत्काली प्रधानमन्त्री ओलीले २०७८ बैशाखा ७ गते बालुवाटारमा श्रीराम, लक्षमण, सीता र हनुमानजीको मूर्ती पूजागरेर प्राणप्रतिष्ठाका लागि भव्य ¥याली सहित उक्त मूर्ती देवघाट एकरात राखी भोली पल्ट बैशाख ८ गते रामनवमीको अवसरमा माडीको अयोध्याधाममा मूर्ती स्थापना गरिएको थियो । रामनवमी र विवाह पञ्चमीको दिन भब्य कार्यक्रम गरिएता पनि मुख्य विवाह पञ्चमीको दिन जन्ती लिएर जनकपुरधाम जाने वातावरण बनेपछि मात्र यसको महत्व बढने मन्दिर सञ्चालक समितिका संयोजक मथुरा बहादुर भण्डारीले बताए ।

आजको विवाह महोत्सवमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विक्रम पाण्डे, बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल, माडी नगरपालिकाका मेयर ताराकाजी महतो लगायतका व्यक्तिहरुको समेत उपस्थिती रहेको समितिका संयोजक भण्डारीले बताए ।

आज विवाह पञ्चमीको अवसरमा भगवान् श्रीरामचन्द्र र सीताको विवाह भएको सम्झनामा आज धनुषाको जनकपुरधाम र पर्साको ठोरीमा समेत भगवान श्रीराम र सीताको पूजा आराधाना गरी पर्व मनाइएको छ ।

माडीमा रामधाम निर्माणको गुरुयोजना ?

चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि माडीको अयोध्यापुरीमा पर्ने चर्चा गरेपछि यो क्षेत्र पर्यटकीय गन्तब्यको रुपमा विकास हुन सक्ने आकलन गरिएको थियो ।

“ऋषि वाल्मीकिको आश्रम रहेको वाल्मीकि आश्रम, पाँच पाण्डवले गुप्तवास बसेको गोद्धक, पाँच पाण्डव तालसमेतलाई समट्ने गरी अयोध्याधाम निर्माणको गुरुयोजना तयार गरीएतापनि बजेटमा ओली सरकारले बजेको व्यवस्था गरेको थिएन ।

माडीमा अयोध्याधाम निर्माणका लागि डेकोर स्टुडियो प्रालिले गत वर्ष नै गुरुयोजना तयार गरिसकेको कुरा सार्वजनिक गरिएको थियो । योजनाअनुसार अयोध्याधाममा काम गर्न दुई अर्ब ५० करोडदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने अनुमान गरिएको थियो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७८÷७९ मा माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण, संरक्षण र भौतिक निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेको थियो ।

राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाहमण्डप, वाल्मीकि आश्रमको निर्माणजस्ता कार्यलाई गुरुयोजनामा समेटिएको भनि प्रचार समेत गरिएको थियो ।

माडीमा रामजन्म भूमी भएको भन्ने विषयमा ओलीको व्यापक विरोध भएपछि पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसको बैज्ञानिक पुष्टीहुनेगरी तथ्यकुरा बाहिर ल्याउने गरी काम गर्न सरकारलाई सुझाव दिएका थिए । उनले रामजन्म भूमि माडीमा हो भनेर मात्र पुग्दैन अरुले पत्याउने गरी तथ्यहरुको प्रमाण सार्वजनिक गर्न माग गरेपछि सरकारले आब २०७८ को बजेटमा अध्ययन अनुसन्धानको लागि खोज गर्ने भनेर २ करोड रुपियाँ छुट्टाइएको थियो । तर अहिले सम्म खोज अनुसन्धानबाट के पत्ता लाग्यो भनेर सार्वजनिक गरिएको छैन ।

तत्कालीन नेकपा छदा एमाले र माओवादी एउटै पार्टी रहेको र ओली र प्रचण्ड दुई अध्यक्ष रहेको अवस्थामा प्रचण्डलाई राजनीतिक रुपमा कमजोर बनाउने उदेश्यले केपी ओलीले चितवनको माडीमा रामजन्म भूमिको कुरा उठाएको चर्चा चलेको थियो । केपी ओलीको प्रपोकाण्डको रुपमा धेरैले यसलाई लिएपनि माडीमा रामधाम हेर्ने मानिसहरुको घुइचो लागेको थियो ।

अहिले रामधामको गुरुयोजना कहाँ छ ? त्यसबारे के हुदै छ ? कसैले भन्न सक्ने अवस्था देखिदैन ।


सम्बन्धित समाचार