Logo

१३ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु नै भएको छैन । उदयपुर–१, सुनसरीको ३ र ४ को मात्रै समानुपातिकतर्फ मतगणना चलिरहेको छ भने बाँकी जिल्लाको गणना टुंगिएको छ । यो समाचार तयार पार्दासम्म गणना भएकामध्ये ९८ लाख ६८ हजार ५१८ मत सदर छ र, जनमत पार्टीसहित ७ दलले ३ प्रतिशत मत पाएर थ्रेसहोल्ड कटाएका छन् ।

सबभन्दा धेरै मत एमालेले ल्याएको छ । उसले २६ लाख ८६ हजार ९२० अर्थात २७ प्रतिशत मत पाएको छ । दोस्रो धेरै मत कांग्रेसले ल्याएको छ । कांग्रेसले २५ लाख ३९ हजार ४६७ मत पाएको छ, जुन कुल सदर मतको साढे २५ प्रतिशत छ ।

यद्यपि दुबै दलको मत अघिल्लो पटकभन्दा घटेको छ । २०७४ मा एमालेले ३३.२४ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३२.७७ मत पाएको थियो ।

यो चुनावमा नयाँ दलहरुको उदय र राप्रपाको मत विस्तारका ठूला दलहरुको मत घटेको छ । कांग्रेस र एमालेले ६ प्रतिशत हारहारी मत गुमाएका छन् ।

माओवादी केन्द्रले पनि समानुपातिक मत गुमाएको छ, तर कांग्रेस र एमालेले भन्दा केही कम । २०७४ मा समानुपातिकतर्फ १३.६५ प्रतिशत मत पाएको माओवादीले यो पटक ११.४७ प्रतिशत (११ लाख ४२ हजार ७४२) मत पाएको छ ।

प्रमुख दलहरुको घटेको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले पाएको देखिन्छ । केही महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले करिव साढे ११ प्रतिशत मत पाएको छ । यो माओवादी केन्द्रले पाएकै हारहारी मत हो । सुरुवाती रुझानमा माओवादी केन्द्रलाई जितेको रास्वपाले गणनाको अन्तिम चरणमा पुग्दा १० लाख ९६ हजार ९८७ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उल्लेख्य मत बृद्धि गरेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले ५ लाख ६८ हजार ४३० मत पाएको छ । यो कुल सदर मतको ५.७ प्रतिशत हो र, प्रतिनिधिसभामा समानुपातिकमा मात्रै ७ सिट पाउने निश्चितजस्तै छ । जबकी २०७४ मा राप्रपाले २ प्रतिशत मत ल्याएको थियो ।

जसपा र जनमत पार्टी पनि थ्रेस होल्ड कटाएको छ । अघिल्लोपटक राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी गरेर दुई मधेशवादी दलले करिव साढे ९ प्रतिशत मत पाएका थिए । दुबै दल मिलेर जनता समाजवादी पार्टी बन्यो, अहिले फुटेर जसपा र लोसपा बनेका छन् । जसपाले थ्रेस होल्ड कटाएको छ । उसले ३ लाख ८७ हजार १७० मत पाएको छ । तर लोसपाले थ्रेस होल्ड कटाउन सकेन ।

सीके राउत जेतृत्वको जनमत पार्टीले भने ३ लाख ४५ हजार ४१० मत पाएको छ, थ्रेस होल्ड कटाएको छ । दुबै दलले क्रमशः ५ र ४ सिट पाउने देखिन्छ ।

एमालेबाट फुटेर बनेको एकिकृत समाजवादी ३ प्रतिशत थ्रेसहोल्ड कटाउन प्रयासरत देखिन्छ । अब गणना हुन बाँकी मतमा करिव २५ हजार थप्न सके यो दलको पनि थ्रेस होल्ड कट्नेछ, नभए समानुपातिकमा सिट पाउने छैन । यो चुनावमा उदाएको नयाँ दल नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ६५२ मत पाएपनि थ्रेस होल्ड कटाउने छैन । अघिल्लो चुनावमा २.२२ प्रतिशत मत पाएको विवेकशील साझाले यो पटक करिव ४ हजार मतमात्रै पाएको छ ।


सम्बन्धित समाचार