Logo

१५ मंसिर, जीतपुर बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ स्थित त्रिबेणी स्पनेनिङ मिल्सबाट हटाईएका मजदुरहरुलाई पुनर्बहाली गर्न औद्योगीक करिडोरमा क्रियाशिल मजदुर युनियनले माग गरेका छन् ।

दशै, तिहारलाई लक्षितगरी मजदुरलाई बाड्नु पर्ने वोनस रकमको बिषयमा विवाद भएपछि समस्या समाधानका लागि उद्योग व्यवस्थापन पक्ष र मजदुरपक्ष बार्ता चलिरहेकै समयमा उद्योगले मंसिर १२ गते बार्तामा बस्ने २३ जना मजदुरहरुलाई हटाएको थियो ।

त्रिवेणीमा कार्यरत मजदुर हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र नेपाल ट्रेड युनियन काँग्रेसले आपत्ती जनाएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का मधेश प्रदेश अध्यक्ष कमलेश झा, नेपाल ट्रेड युनियन काँग्रेस मधेशप्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी र अखिल ट्रेड युनियन महासंघ मधेस प्रदेश अध्यक्ष अर्जुन चिमरियाले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै मजदुरमाथि भईरहेको दमन रोक्न र हटाईएका मजदुरहरुको यथाशिघ पुनर्बहालीको माग गरेका छन् ।

उद्योग व्यवस्थापन पक्षबाट मजदुरलाई हटाउने लगायतका कार्य तत्काल नरोकेमा बारा, पर्साको औद्योगीक करिडोरमा क्रियाशिल मजदुर युनियनहरुले कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने स्थिती सृजना नगर्न उद्योगीसँग आग्रह गरेका छन ।

उनीहरुले बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाललाई ज्ञापन पत्र बुझाएर समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

मजदुर युनियनले जारी गरेको विज्ञप्तिमा प्रचलित श्रेम ऐन बिपरित २३ जना मजदुरहरुलाई गरिएको कार्बाही फिर्ता गर्न र बिगतमा हटाईएका १४ जना मजदुरलाई तत्कालै पुनर्बहाली गर्न माग गरिएको छ । करिब दुई बर्ष अगाडि उद्योगले १४ जना मजदुरहरुलाई हटाएको थियो । उनीहरु अहिले श्रम अदालत काठमार्डौमा तारिक धाईरहेका छन् ।

यसै विषयमा बार्ता र छलफलबाट समस्याको समाधान गर्न खोज्दा गत कार्तिक ३ गते उद्योग परिषरमै प्रहरी र मजदुरबिच भिडन्त भएको थियो । जसमा दर्जनौँको सङ्ख्यामा मजदुर र केही प्रहरी घाईते भएका थिए ।


सम्बन्धित समाचार