Logo

१७ मंसिर, वीरगञ्ज । स्थानीय तह निर्वाचन सम्पन्न भएको ६ महिनापछि जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिले न्याय सम्पादनको काम सुरु गरेको छ । उपमहानगरपालिको भुई तल्लामा इजलास कक्ष निर्माण भएपछि न्यायिक समिति सक्रिय भएको हो ।

स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समितिले स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरेबमोजिम आफ्नो अधिकार क्षेत्रभित्र रहेर न्याय सम्पादनको काम गर्ने गर्दछ । आफ्नो पालिका क्षेत्रभित्र देखिएको सामान्य प्रकृतिका मुद्धा, साँध विवाद, अंशबण्डा, बाली नोक्सानी, जेष्ठ नागरिक अवहेलना, गाली बेईज्जतीलगायतको विषयमा उत्पन्न विवादमा छलफल गरी मेलमिलापको काम न्यायिक समितिले गर्नुपर्ने हुन्छ ।

न्यायिक समितिमा आएका उजुरीमाथी छानविन गरी दुवै पक्षलाई बोलाएर छलफल गर्ने र विवाद निरुपण गर्नुपर्ने व्यवस्था स्थानीय सरकार संचालन ऐनमा छ । सोही अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकाले न्यायिक समिति कार्यविधि ऐन, २०७५ निर्माण गरिसकेको छ ।

उक्त ऐन भित्र रहेर न्याय सम्पादन गर्न उपप्रमुख भोलाप्रसाद अधिकारीको संयोजकत्वमा रहेको तीन सदस्यीय न्यायिक समितिमा सिता उप्रेती र जादोलाल सहनी सदस्य रहेका छन् । सोही समितिले शुक्रवारदेखी न्याय सम्पादनको काम थालेको हो । समितिबाट हुने न्याय सम्पादनका लागि आवश्यक सल्लाह दिन कानुनी सल्लाहकार र कर्मचारी सहयोगीको भूमिकामा सक्रिय छन् ।


सम्बन्धित समाचार