Logo

१७ मंसिर, वीरगन्ज । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारीक उमेदवार विरुद्ध लागेको भन्दै एमालेका केन्द्रीय सदस्य लगायत दर्जनौं नेता कार्यकर्तालाई कार्वाही र निष्कासन गर्ने एमाले पर्साको निर्णयले पार्टी भित्रको आन्तरिक कलह सतहमा आएको छ ।

नेकपा एमाले पर्साको हिजो बसेको सचिवालय बैठकबाट पार्टीका पर्सा जिल्ला इन्चार्ज एंव केन्द्रीय सदस्य प्रभु हजारा सहित दर्जनौं नेता कार्यकतालाई पार्टीबाट निष्कासन र कार्वाही गरेको समाचार बाहिरिएपछि एमाले भित्र रडाको मच्चिएको छ ।

सचिवाल बैठकले कुनै निर्णय नगरेको तर पर्सा जिल्ला अध्यक्ष जयप्रकास थारुले नेता कार्यकर्तालाई कार्वाही गरेको भनि सञ्चारमाध्यमा दिएको समाचार भ्रामक भएको भन्दै गएराति नेकपा एमालेका केन्द्रीय सदस्य एंव पर्सा इन्चार्ज प्रभु हजाराले विज्ञप्ती जारी गरेका छन् ।

उनले पार्टी नीति विपरित काम गरेको भनी पार्टीका पर्सा अध्यक्ष जयप्रकास थारुलाई स्पष्टीकरण सोधिएको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् । थारु मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नंं ४ (क)बाट नेपाली कांग्रेसका उमेदवार शंकर चौधरीसँग भारी मतान्तरले पराजीत भएका थिए । आफू निर्वाचनमा पराजय भएको आक्रोश नेता कार्यकर्तालाई कार्वाही र निष्कासन गरेर व्यक्त गर्न खोजेको आरोप अर्को पक्षले लगाएको छ ।

पर्सा निर्वाचन क्षेत्र नं. ३ मा झिनो मतान्तरबाट विजयी भएका नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुलाई प्रयोग गरी चलाएको तीर अहिले उनैमाथि फर्किएको छ । प्रदेश सभा सदस्य पदमा उमेदवार छनौट गर्दा नेता कार्यकर्ताविच लडाउने र ब्यक्तिगत फाइदाको लागि उपयोग मात्र गर्न खोजेको आरोप उनीमाथि लागेको थियो । उनले प्रदेशमा टिकट दिन्छु भनेर अरुपार्टीबाट प्रवेश गराएकालाई नदिएपछि निरराज गिरीले स्वतन्त्र उमेदवारी दिएका थिए ।

१५ हजारको मतान्तरबाट चुनाव जित्ने योजनामा रहेका गुप्ता झण्डै पराजीत हुन पुगेका थिए । उनी १६३ मतान्तरबाट विजयी भएपछि आफ्नो कमजोरी लुकाउन पार्टीका नेता कार्यकर्तालाई कार्वाहीको डण्डा चलाउन लगाएको आरोप उनी माथि लाग्ने गरेको छ । गुप्ताले गत स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा आफ्नै पार्टीका उमेदवारलाई हराउन खुलेर लागेका थिए ।

पर्सा जिल्ला इन्चार्ज एंव पार्टीका केन्द्रीय सदस्य प्रभु हजाराले बैठकमा आफू उपस्थिती भएको तर निर्वाचनमा उमेदवारलाई अन्तरघात गर्ने नेता कार्यकर्ताको बारेमा तल्लो कमिटि मार्फत कार्वाहीको सिफारीस भई आउने निर्णय भएकोमा हजारा र प्रदेश कमिटि सदस्य बसुरुद्दिन अंसारी सहित १६ जनालाई पार्टीबाट निष्कासन गर्न केन्द्रमा सिफारीस गरेको भनि गलत सूचना सार्वजनिक गरेको भनि पार्टी अध्यक्ष थारुलाई कार्वाही गर्ने तयारीमा अर्को पक्ष लागेको छ ।

हिजो सार्वजनिक भएको कार्वाहीको निर्णयले सामाजिक सञ्जाल फेसबुकमा एमाले कार्यकर्ताको आरोप प्रत्यारोप शुरु भएको छ । सामाजिक सञ्जालमा एकले अर्कोलाई आरोप लगाउदै कार्वाहीको माग गरेका छन् । पार्टीको निर्णय बिधि र पद्धतीमा हुनुपर्नेमा ब्यक्तीको सनकका भरले चलाउने खोज्दा यस्तो स्थिती देखिएको कार्यकर्ताको भनाई छ ।

मधेसमा नेकपा एमाले र जसपा विच चुनावी गठबन्धन थियो । गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा जसपबाट उमेदवार बनेका प्रदीप यादवले चुनाव जितेपछि एमाले भित्रका अन्तरघातीलाई कार्वाही गर्न केन्द्रमा पठाउने निर्णय गरिने विचार सार्वजनिक गरेका थिए ।

एमाले पर्साका सचिव मनोज गुप्ताले पार्टीलाई जसपाका नेताले चलाउन खोज्दा समस्या देखिएको बताउदै आएका छन् । प्रदीप यादवले एमाले भित्रका अन्तरघातीलाई कार्वाही गर्ने घोषणा गर्नु र निर्वाचनको परिणाम आए लगत्तै एमाले भित्र कार्वाहीको दण्डा चलाउनुले एमाले पार्टीलाई अन्य दलका नेताले चलाउन खोजेको प्रष्ट देखिएको एमालेका कार्यकर्ताले बताउने गरेका छन् ।


सम्बन्धित समाचार