Logo

२० मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका वडा नंं ४ मा दुई समूह विच झडप भएको छ । कार्यालय समयमा वडा कार्यालय बन्द भएको भन्दै गत आइतवार वडा कार्यालयमा एउटा समूहले ताला लगाएको थियो ।

सिम्रौनगढ नगरपालिकाले रासायनिक मल लिन चाहने कृषकहरुलाई नागरिकताको प्रतिलिपि सहित मंसिर १८ गते भित्र वडा कार्यालयमा सम्र्पक राख्न सुचना जारी गरेको थियो । सूचना जारी गरेको अन्तिम दिन वडा कार्यालय पुगेका केही व्यक्तिले ४ नवज्दै कार्यालय बन्द गरेको भन्दै ताला लगाएका थिए ।

आज ताला खोल्ने र लगाउने दुवै समूह विच झडप भएको हो । कार्यालय समयमा कार्यालय बन्द भएपछि पूर्व वडा अध्यक्ष राजेश यादवको निर्देशनमा वडा सदस्य दिपेन्द्र गुप्ताको नेतृत्वमा गएको टोलीले ताला लगाएको थियो ।

वडा अध्यक्ष अवधेश सहनीले कार्यालयमा लगाएको ताला खोल्न मानिस पठाएपछि पूर्व वडा अध्यक्ष र वर्तमान वडा अध्यक्ष विचको समूहमा झडप भएको संवाददाता रामेश्वर मेहताले जनाएका छन् । उक्त झडपमा दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।

अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार सोही तालाबन्दी खोल्न लाग्दा विवाद झडपमा परिणत भएको छ ।

वडा प्रहरी कार्यालय सिम्रौनगढका अनुसार वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन । दुवै पक्ष लाठीभाटा लिएर बसेका कारणस्थिति अझै तनावपूर्ण रहेको छ ।


सम्बन्धित समाचार