Logo

२० मंसिर, बीरगंज । तराईमा शितलहर बढेसँगै पर्सामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जाडोबाट प्रभावित परिवारलाई जोगाउन तत्काल प्रकोप पूर्वतयारी थाल्न सम्बन्धित निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

तराईका जिल्लाहरुमा हिजो देखि जाडो र शितलहर बढदै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति पर्साको वैठकले उक्त निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न वैठकले शितलहर जन्य प्रकोपको पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

वैठकले पर्साका १४ वटै स्थानिय तह, सुरक्षा निकाय, रेडक्रस, बीरगंज उद्योग वाणिज्य संघ, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई शितलहरबाट प्रभावित क्षेत्र, गाउँ टोलका गरिव तथा विपन्न परिवारको पहिचान गरी राहत तथा उद्धारका लागि आवश्यक पर्ने दाउरा, न्यानो कपडा, कम्बल लगायतका सामान भण्डारण गरी पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

त्यसैगरी वैठकले शितलहर प्रभावित क्षेत्रमा निःशुल्क उपचारको व्यवस्था मिलाउने, न्यानो रहनका लागि आगो बाल्दा हुने असावधानीका कारण आगलागी भई धनजनको क्षति हुदै आएकोमा त्यसलाई नियन्त्रण गर्न चेतनामुलक कार्यक्रम संचालन गर्ने, कृषि बाली, पशुपंक्षिको क्षतिलाई न्युनिकरण गर्न आवश्यक तयारी गर्ने, कुहिरो तथा हुस्सु लागेको समयमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न सूचना मुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी जिल्ला स्थित स्थानिय तहलाई आ–आफ्नो स्थानिय तहमा न्यानो कपडा प्राप्त गर्न नसकेका समस्यामा परेका विपन्न नागरिकको सूची तयार गर्ने र दोहोरो नपर्ने गरी विपद् व्यवस्थापन कोषबाट न्यानो कपडा उपलब्ध गराउने व्यवस्था मिलाउने, डिभिजन वन कार्यालय पर्साले चिसो प्रभावित वस्तीहरुमा सामुहिक रुपमा आगो बाल्न दाउरा उपलब्ध गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

वैठकमा पर्साका १४ वटै स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र प्रधान, नेपाल रेडक्रस, जिल्ला स्थित विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधि, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत सरकोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार