Logo

२१ मंसिर, वीरगञ्ज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले २२ करोड मूल्य बरावरको अवैध सामान बरामद गरेको छ । मधेस प्रदेश अन्तरगत विभिन्न नाकाहरुमा खटिएका सशस्त्र प्रहरीको टोलीले साढेचार महिनाको अवधिमा २२ करोडबढिको अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको विशेष निर्देशनमा आठवटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले उक्त करोडौंको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीको मधेस प्रदेश मुख्यालयले जनाएको छ ।

यस आर्थिक वर्षको गत साउन महिनादेखि मंसिर १८ गतेसम्म २२ करोड ६ लाख , ८ हजार २४८ रुपिया बराबरको भारतबाट अवैधरूपमा भित्र्याएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कारबाहीको लागि सम्बन्धित जिल्ला स्थित भन्सार कार्यालयमा बुझाइएको डीआईजी मगरले जानकारी दिए ।

त्यस्तै ५१ लाख,८५ हजार ३०० स्रोत नखुलेको नेपाली रुपैया ,६९ सय थान हजारको रुपियाको कागज र ३ हजार नक्कली नेपाली हजारको रुपिया बरामद भएको तथ्याङ्कमा उल्लेख रहेको छ। त्यसैगरी सोही अवधिमा ४० लाख १५ हजार १७५ बराबरको अवैध काठ र ३६ लाख ५३ हजार ४०० बराबरको चौपाया बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको डीआईजी मगरले जानकारी दिएका छन् ।

त्यसैगरी २० लाख,७२ हजार ,७८८ रुपिया बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। ८६ हजार १०० रुपैया बराबरको नक्कली गहना,तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ३६९ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ । सोही अवधिमा तस्करी लगायत विभिन्न गैरकानुनी काममा लागेका ७८ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले २८ हजार ४१ थान विभिन्न प्रकारको लागूऔषध, १५ क्विन्टल २८ किलोग्राम गांजा, २० किलोग्राम चरेस,२३.५९ ग्राम ब्राउनसुगर, ५ ग्राम खैरो हेरोइन, बरामद गरेको छ । साथै विभिन्न जिल्लामा चोरिछिपी लगाइएको ८ बिगहा गांजाखेती सशस्त्र प्रहरी टोलीले फडानी गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक मगरले बताए ।

साढे चार महिनाको अवधिमा ४ थान अवैध हतियार र ९ थान गोली सशस्त्र प्रहरीले बरामद गरेको छ। मधेस प्रदेशको ८ जिल्लाको विभिन्न नाकामा फँसेका २१ जना चेलीबेटी उद्वार, ४६३ पटक ज्वाईंट गस्ती, ३१ पटक भारतीय समकक्षी बैठक र २७ पटक लिंक गस्ती भएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।

सशस्त्र प्रहरीको सक्रियताले गत मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मधेस प्रदेशमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको सशस्त्र प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरी वलको मधेस प्रदेशको प्रमुखमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरले जिम्मेवारी लिएदेखि सिमा क्षेत्रमा चोरी तश्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।


सम्बन्धित समाचार