Logo

२२ मंसिर, वीरगञ्ज । मधेस प्रदेसमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको संसदीय दलको नेतामा चारजना मुख्य दाबेदार देखिएका छन् । प्रत्यक्षतर्फ ६४ र समानुपातिकमा ४३ गरी कुल १ सय ७ सिट रहेको मधेस प्रदेशमा नेकपा एमालले प्रत्यक्षतर्फ १५ सिट जितेको छ । समानुपातिकतर्फ नेकपा एमालले ३ लाख ५१ हजार ७६८ मत सहित दोश्रो स्थानमा रहेको छ ।

मधेस प्रदेशसभाको संसदीय दलको नेतामा रामचन्द्र मण्डल, राजकुमार लेखी, सरोज यादव र मोम्मद समिरको दावी रहेको बताईएको छ । यद्यपि संसदीय दलको नेतामा रामचन्द्र मण्डलको सम्भावना बढी देखिएको छ । मण्डल यसअघिको प्रदेशसभामा माओवादी केन्द्रको तर्फबाट संसदीय दलको नेता बन्नुभएको थियो । नेकपा फुटेर नेकपा माओवादी र एमाले अलग भएपछि मण्डल नेकपा एमालेतिर लाग्नुभयो ।

उहाँ मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित राजकुमार लेखी पनि संसदीय दलको नेता बन्ने दौडमा हुनुहुन्छ । त्यस्तै महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट निर्वाचित सरोज कुमार यादव पनि संसदीय दलको नेताका प्रवल दावेदार हुनुहन्छ ।

यी चारजना प्रदेशसभा सदस्य मध्य संसदीय दलको नेताको भूमिकामा रहीसकेका रामचन्द्र मण्डल नै फेरी दोहोरीन सक्ने सम्भावना रहेको छ । यी चारैजना पार्टीमा पनि केन्द्रीय सदस्य छन् । संसदीय दलको नेता मात्रै होईन नेकपा एमाले मधेस प्रदेशको पहिलो ठूलो दल भएकोले सरकारको नेतृत्व नै गर्नुपर्ने हो ।

तर, सरकारको नेतृत्व गर्नका लागि आवश्यक ५४ सिट पु¥याउन एमालेलाई सकस भएकोले मधेस प्रदेशमा एमालेको सरकार बन्नेमा सम्भावना न्यून देखिन्छ । राजनीतिमा देखिएको गलत प्रणालीकै कारणले अहिले एमालेले सरकार गठन गर्ने अवस्था भने नदेखिएको एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताउनुभयो ।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जित्नुभएको थियो । यसपटकको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लड्नुभएको थियो तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवै जना पराजित हुनभयो ।

नेता अनिललाई एमालेकी जुली महतोले पराजित गर्नुभएको हो भने राजेन्द्रलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गर्नुभयो । धनुषा–३ राजेन्द्र महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उहाँलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिनुभयो । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता अनिल किन र कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उहाँले बताउनुभयो ।

 


सम्बन्धित समाचार