Logo

२३ मंसिर, वीरगञ्ज । पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकामा सुरक्षित आवास गृह स्थापना गर्न सरोकारवालाहरु एकजुट भएका हुन् । वीरगञ्जको कुमु होटलमा भएको छलफलमा पर्सामा हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि सुरक्षित आवास गृह अत्यावश्यक रहेको सरोकारवालाको भनाई छ ।

जिल्लामा हिंसा प्रभावित महिला बालबालिकाका राख्न माईती नेपाल लगायतका संघ संस्थाले अस्थायी आवास गृह सञ्चालन गरिरहेका छन् । महिला घरका सदस्यबाटै हिंसामा पर्ने हुँदा उनीहरुले कानुनी उपचार खोज्दा असहज हुने गरेकोले सुरक्षित आवास गृह एकदमै आवश्यक देखिएको महिला अधिकारकर्मी कोपिला चौलागाईले बताउनुभयो । लैंगिक हिंसा विरुद्ध १६ दिने अन्र्तराष्ट्रिय अभियान अन्र्तगत दिव्य युवा क्लबले छलफल कार्यक्रम आयोजना गरेको थियो ।

महिला अधिकार कार्यक्रम समुन्नती परियोजना मार्फत पालिका उप प्रमुख तथा अन्य सरोकारवालाबीच सुरक्षित आवास गृह स्थापनाका बारेमा छलफलको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमले सुरक्षित आवास गृह स्थापनाका लागि जग्गाको खोजी गर्ने बताउनुभयो । जग्गा भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर संघ र प्रदेश सरकारसँग पनि रकम माग गर्न सकिने उहाँको भनाई छ ।

बैठकले सुरक्षित आवास गृह स्थापनाका लागि पहल गर्न १५ सदस्यीय समिति समेत गठन गरेको दिब्य युवा क्लबका कार्यक्रम अधिकृत रामाकान्त पटेलले जानकारी दिनुभयो । दिब्य युवा क्लबका अध्यक्ष उमेश चौहानले सुरक्षित आवास गृह स्थापनाका लागि आवश्यक पहल गर्न दिब्य बचत तथा ऋण सहकारी संस्थाबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।


सम्बन्धित समाचार