Logo

२३ मंसिर, वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्ज भन्सार नाकामा सयौं नयाँ सवारी साधन थन्किएका छन् । वीरगञ्ज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर नयाँ सवारी साधनले भरिभराउ देखिएका छन् ।

आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलर भन्दा महँगा डिजल तथा पेट्रोल गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध अब मंसिर मसान्तपछि मात्रै खुल्दैछ । आयातकर्ताले पुरानै एलसीबाट भारत तथा तेश्रो मुलुकबाट आयातित सवारी साधन आईसीपी परिसरमा ल्याएर पार्किङ गरी राखेका हुन् ।

आईसीपी परिसरमा ४ सय ६० नयाँ कार, ८५ वटा जीप र १ हजार ३ सय ५ वटा बस ट्रकका चेसिस गरी १ हजार ८ सय ५० वटा नयाँ सवारी साधन छन् । भने ६ सय २८ वटा लोड गाडी आईसीपी परिसरमा पार्किङ गरेर राखिएका छन् ।

आयातकर्ताले भन्सार जाँच पास गराएर सवारी साधन नलग्दा आईसीपी परिसर नयाँ गाडीले भरि भराउ देखिएको छ । अत्यधिक मात्रामा सवारी साधन थन्किएपछि आईसीपी परिसरमा पार्किङ स्थलको ओगटिएको छ । चौकीको अधिकांश भाग नयाँ सवारी साधनले भरिभराउ छन् । जसले गर्दा मालबाहक गाडी आवागमन र पार्किङमा समेत समस्या भईरहेको छ ।

आईसीपीको सञ्चालक संस्था इन्टर मोडल यातायात विकास समितिका शाखा अधिकृत तर्कराज जोशीले नयाँ गाडि थुप्रिएर पार्किङ स्थलको अभाव हुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने अवस्था आएको बताए ।

‘नयाँ गाडी छिट्टै लगिदिनुस भनेर आयातकर्तालाई आग्रह गरेका छौं, तर लगिरहेका छैनन् । गाडी बिक्रि भईसकेपछि मात्रै भन्सार जाँच पास गरेर लैजान्छन् ।’ उनले भने ‘ यहाँ पार्किङ स्थल खोजी खोजी गाडी राख्नु परेको छ । लाईटको व्यवस्थापन गर्नुपरिरहेको छ । काँस घारीमा रातिको समयमा गार्डलाई दौडाउनुपर्छ । मालबाहक गाडी पार्किङ स्थलको अभाव भईरहेको छ ।’

मालसामान बोकेका सवारी साधन कागजात बुझाएर भन्सार जाँचपाच पछि क्रमशः छुट्ने गरेको छ भने आयातकर्ताले नयाँ सवारी साधन छुटाउन खासै चासो दिईरहेका छैनन् ।

गाडी बिक्रि नभएको कारण देखाएर कम्पनी वा डिलरलाई पैसा दिनुनपर्ने, गाडी छुटाएर लैजाँदा लाग्ने राजश्वको ब्याज बच्ने जस्ता कारणले आयातकर्ताले बिक्रि भईसकेपछि मात्रै गाडी छुटाउने गरेका छन् ।

भन्सारमा अड्किएका सवारी साधन छुटाएर लैजान वीरगन्ज भन्सार कार्यालय, इन्टर मोडल यातायात विकास समितिले यो नाकाबाट सवारी साधन आयात गर्ने मुख्य आयातकर्ताहरु सिप्रदी, लक्ष्मी क्लियरिङ, टोयोटा, आईएमई मोटर्स लगायतका प्रतिनिधिहरुसँग पटक पटक आग्रह समेत गरेको छ ।

तर ती कम्पनीका प्रतिनिधिहरुले तत्काल सवारी साधन जाँचपास गराएर लैजान सक्ने अवस्था नरहेको प्रतिक्रिया दिने गरेका छन् । आयातकर्ताहरुले बैंकले अटो लोन नदिएकोले नयाँ सवारी साधनको खरिद बिक्री नै ठप्प भएको, सवारी साधन छुटाएर काठमाडौं वा अन्य गन्तव्यसम्म लैजान लाग्ने रकम नभएको बताउने गरेका छन् । सवारी साधन जाँचपास गराएर काठमाडौंमा भाडाको गोदाम राख्दा लाग्ने खर्च र त्यसका लागि तिर्नुपर्ने ब्याज भन्दा आईसीपीमा पार्किङ शुल्क तिरेर राख्ने लागत निकै कम हुने भएकोले उनीहरुले यसो गरेको भन्सारका अधिकारीहरु बताउँछन् ।

मुलुककै सर्वाधिक राजश्व संकलन गर्ने भन्सारको रुपमा चिनिने वीरगन्ज भन्सार कार्यालयले पछिल्ला महिनाहरुमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकेको छैन । भन्सारको राजश्वमा मुख्य योगदान नयाँ सवारी साधन र इन्धनको छ । नयाँ सवारी साधन जाँचपास घटेपछि त्यसको नकारात्मक असर राजश्व असुलीमा देखिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानाले देशको आर्थिक अवस्थाका कारण नयाँ सवारी साधन नाकामा नै थन्किएको बताए । ‘ कोभिड महामारी पछि देशको आर्थिक अवस्था विग्रेको छ, बजारमा गाडी किनेर चढ्ने क्षमता भएका मानिस कम छन् । बैंकले भेहिकल लोन पनि उपलब्ध गराउन पनि छोडेको छ ।’ उनले भने ‘ गाडी किनेर प्रतिफल प्राप्त नहुने भएपछि गाडी किन्ने कुरै भएन ।’

तैपनि आफूहरुले आयातकर्तालाई ‘गाडी छिटो लैजानुस, आईसीपीमा ठाउँ खाली गरिदिनुस भनेर भनिरहेका छौं ।’ भनेर ताकेता गरिरहेको उनको भनाई छ । उनीहरुले पनि थोरै थोरै गरेर गाडी भन्सार जाँचपास गरेर लगिरहेको उनले बताए ।


सम्बन्धित समाचार