Logo

२४ मंसिर, जीतपुर बारा । स्थानीय तहको निर्वाचन भएको ७ महिना हुन लाग्दा पनि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० कार्यालय सञ्चालनमा आउन सकेको छैन ।

स्थानीयवासीहरु सेवा लिन करिब ६ किलोमिटर हिडेर उपमहानगरपालिकाको कार्यालय आउनुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको निर्वाचनको समयमा एक जना दलित युवाको हत्यामा निर्वाचित वडा अध्यक्ष समेत संलग्न रहेको भन्दै स्थानीयवासीले वडा कार्यालय सञ्चालनमा अवरोध गरेका थिए ।

उक्त घटनामा निर्वाचित वडा अध्यक्ष रसुल मियाको संलग्नता रहेको भन्दै वडा अध्यक्षलाई कार्बाहीको माग गर्दै स्थानीयबासीले वडा कार्यालय सञ्चालन गर्न दिएका छैनन् । वडा अध्यक्ष र वडा सचिव उपमहानगरपालिकाको कार्यालयबाट वडाबासीलाई सेवा दिईरहेका छन् ।

वडा कार्यालय उद्घाटन र वडाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागतकै दिन स्थानीयले तोडफोड गरी कार्यक्रम बिथोलेका थिए । जसमा प्रहरी र स्थानीय घाईते भएका थिए । वडा अध्यक्ष मियाले दोषीलाई कार्बाही र शान्ति सुरक्षाको बाताबरण नबन्दासम्म आफुले वडा नं. २० मा वडा कार्यालय सञ्चालन गर्न नसक्ने बताएका छन् ।

निर्वाचित जनप्रतिनिधि र स्थानीयवासी विचको समस्या समाधान नभए सम्म सुरक्षालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले वडा नं.२० को कार्यालय सञ्चालन गर्न सकेको छैन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले वडा अध्यक्ष वा उपमहानगरपालिका तहबाट आफुलाई शान्ति, सुरक्षाको बिषयलाई लिएर कुनै जानकारी नदिएको बताए । असुरक्षित हुने अवस्था भएमा शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउँन तयार रहेको प्रजिअ कटुवालले जानकारी दिए ।

यता जीतपुरसिमरा उपमहनगरपालिकाको नगर प्रमुख राजन पौडेलले वडा अध्यक्षले वडा नं.२० मै कार्यालय सञ्चालन गर्न तयार भएमा त्यसको बाताबरण मिलाउन आफु तयार रहेको बताए ।

२०७९ जेठ ६ गते स्थानीय २५ बर्षिया दिपक पासवानको हत्यागरी घरनजिककै खोला छेउको बालुवामा गाडिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा पासवानको हत्या जेठ ४ गते भएको र हत्याको आरोपमा वर्ष २० को शेख नवि आलम र वर्ष २१ को शेख सलिमलाई पक्राउ गरेको थियो । अहिले उनीहरु पुर्पक्षका लागि कारागारमा छन् । वडा अध्यक्ष मियाँ माथि हत्याको आरोप लागेपनि उनको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार