Logo

२४ मंसिर, वीरगञ्ज । बारामा छुट्टछुट्टै घटना दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घरमै अचेत अवस्थामा फेला परेका र मोटरसाईकल दुर्घटनामा परी घाईते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको पचरौता नगरपालिका वडा नं ०७ बस्ने २६ वर्षीय नागेन्द्र मुखियाको मृत्यु भएको छ । गएराति सवा १० बजे घरमा अचेत अवस्थामा रहेको भनी प्रहरीलाई खबर आएको थियो । प्रहरीले उद्धार गरेर नागेन्द्रलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाईएको थियो । उपचारको क्रममा राति पौने १२ बजे नागेन्द्रको मृत्यु भएको घोषणा अस्पतालले गरेको थियो ।

त्यस्तै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा बाराको सिम्रौनगढ नगरपालिका– १० बस्ने ३० वर्षीय रतन दासको मृत्यु भएको छ । हिजो बेलुका बाराको माहागढीमाई नगरपालिका–८ थलहीपुलमा भएको दुर्घटनामा परी घाईते भएका रतनको उपचारको क्रममा मृत्यु भएको हो ।

कलैयाबाट लंगडाचौक जाँदै गरेको रतन सवार ना २४ प ५३२५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

त्यसैगरि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पिकअपबाट झर्ने क्रममा लडेर एक जना घाईते भएका हुन् । घाईते हुनेमा मकवानपुरको बकैया गाउँपालिका–६ बस्ने ३५ वर्षीय कुमार थिङ रहेका छन् ।

हेटौडाबाट पथलैया तर्फ आउँदै गरेको प्र ०२–०३–०१ च.४९२० न.को पिकअपबाट राति सवा १२ बजे जीतपुरसिमरा– २१ सागर चौकमा झर्ने क्रममा कुमार लडेका थिए । टाउकोमा चोट लागेका कुमारको अल्पाईन अस्पताल सिमरामा प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडा स्थित चुरेहिल अस्पतालमा रिफर गरिएको छ । मादक पदार्थ सेवन गरेका कारण पिकअपबाट झर्ने क्रममा लडेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार